May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

कृष्णसारको बच्चा जोगाउन चुनौति

बर्दिया– मुलुककै दुर्लभ वन्यजन्तु कृष्णसारले दुई महिना यता ४४ बच्चा जन्माएको छ । कृष्णसारको बच्चा भने जोगाउन संरक्षणकर्मीलाई चुनौति थपिएको छ ।

Advertisement

केही कृष्णसारका पोथी गर्भेनी रहेकाले यसको संख्या बढ्ने हुँदा संरक्षणकर्मी यसलाई जोगाउन दिनरात गस्ती बढाएका छन् । एउटा कृष्णसारले सामान्यता वर्षमा दुई वटासम्म बच्चा जन्माउने गर्छन् । विशेष गरि कृष्णसारले फागुन, चैत र असोज, कार्तिकमा बच्चा जन्माउने गरेका छन् ।

Advertisement

दुर्लभ मानिएको कृष्णसार बर्दियाको सदरमुकाम गुलरिया–२ स्थित, खैरापुर संरक्षण क्षेत्रमा फैलिएर रहेका छन् । हाल १ सय ४८ वयश्क पोथी, ३३ वटा भाले र ४४ बच्चा रहेका छन् । हालै जन्मिएका ४४ वटा कृष्णसारका बच्चा पोथी हुन वा भाले छुट्टाउन तीन महिना लाग्ने संरक्षण क्षेत्रले जनाएको छ । भाले, पोथी र बच्चासहित २ सय ४४ कृष्णसार रहेको प्रमुख संरक्षण अधिकृत सूर्य खड्काले बताए ।

एक वर्ष अघिसम्म १ सय ९७ कृष्णसार रहेकोमा हाल ४७ वटा बढेका हुन् । संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत खड्काले चितुवा, हुँडार, भुस्याहा कुकुरको आक्रमण रोक्न सुरक्षाका लागि दिनरात गस्ती शुरु गरिएको जनाए । सरकारले ०६५ साल चैत ३ गते कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेको थियो ।

७ सय ८ विघा क्षेत्रफल रहेको संरक्षित क्षेत्रमा ३ सय ५० विघा बढी जग्गा भूमिहिनका नाममा घरजग्गा भएको कृष्णसार संरक्षण समितिका अध्यक्ष दीपेन्द्र यादवले बताए । ‘अतिक्रमण भएको मध्ये अधिकांशको घरजग्गा रहेकाले सरकारले उचित छानविन गरि व्यवस्थापन गर्नु पर्ने हुन्छ,’ उनले भने, ‘अतिक्रमण नहटाएसम्म कृष्णसार संरक्षण हुन सक्दैन ।’

खुल्ला फाँटामा चरिचरण गरि रहने कृष्णसार चितुवाको आक्रमणबाट जोगाउन मुस्किल भइरहेको छ । विशेषगरि यो क्षेत्र यादव समुदायको वस्ती भएकाले कृष्णसारलाई भगवान कृष्णको वंशज, धार्मिक तथा भावानात्मक सम्बन्ध र शाहाकारी समेत भएको हुँदा यसको संरक्षण ठुलो योगदान रहेको रेन्जर अरुण चौधरीले बताए ।