May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

गर्मीले जनजीवन प्रभावित

भैरहवा– तातो हावा ‘लु’ चल्दा भैरहवा र यस आसपासको जनजीवन प्रभावित भएको छ । बैशाखको पहिलो सातायता रुपन्देहीमा तातो हावासहितको ‘लु’ निरन्तर चलिरहेको छ । यसबाट सबै नागरिक अत्तालिएका छन् । सबैभन्दा बढी दैनिक ज्यालादारीमा काम गर्ने मजदुर प्रभावित छन् । ‘लु’ का कारण अस्पतालहरुमा विरामीको चाप समेत बढीरहेको छ भने हावाहुरीले आगलागीबाट करोडौंको क्षति भएको छ ।

Advertisement

बैशाख लागेयता तापक्रम बढ्दै जाँदा जिल्लाको जनजीवन निकै प्रभावित भएको हो । तिव्र गति र तातो हावा ‘लु’ चल्दा यस क्षेत्रको जनजीवन कष्टकर बन्दै छ । हावाहुरीले ठाउँठाउँमा आगलागीका घटनाहरु समेत भइरहेका छन् । यसबाट करोडौंको धनमाल नष्ट भएको छ । गर्मी बढ्दै जाँदा सडकहरु सुनसान हुँदै गएका छन् भने अस्पतालमा बिरामीको चाप बढेको छ । यस वर्ष बैशाखमै भैरहवाको अधिकतम तापमान करिब ४४ डिग्री पुगेको छ । प्रचण्ड गर्मीले घरमै बसेका आममानिस उकुसमुकुस भएका छन् नै दैनिक कामकाजी मजदूर झनै प्रभावित छन् ।

Advertisement

‘बिहानैदेखि चल्ने हावाहुरीसहितको तातो हावाका कारण ब्यापार ब्यवसाय समेत प्रभावित भएको छ’, स्थानीय ब्यवसायी हरि पाण्डेले भने, ‘विगतमा भन्दा यस वर्ष छिटो गर्मी बढ्यो, दिउँसोमा अत्यालिने गर्मी हुन्छ ।’ वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा चल्दा सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या भएको छ । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ । गर्मीसँगै दैनिक चल्ने हावाहुरीले जिल्लामा आगलागीबाट ठूलो क्षति भएको छ ।

जिल्ला प्रशासनका अनुसार आगलागीबाट रुपन्देहीमा १ सय ५८ घरमा क्षति पुगेको छ । त्यसमध्ये ८७ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । यसबाट ६ करोड ५० लाख बराबरको घर, अन्नबाली, चौपाय नष्ट भएका छन् । अत्याधिक गर्मीका कारण सबै उमेर समूहका नागरिक अत्यासिएका छन् । भीम अस्पताल, भैरहवामा मेडिकल सुपरीटेन्डेन्ट डा.मोहम्मद नुरुल हुदाका अनुसार खासगरी बालबालिका र बृद्धबृद्धामा मुख सुक्ने, पानीको कमी हुने, ज्वरो आउने लगायतका समस्या देखिएका छन् ।

‘अहिले जाडो यामभन्दा दैनिक दुईतीन सय बढी विरामी अस्पताल आइरहेका छन्’, उनले भने, ‘धेरैमा गर्मीका कारण निम्तिएको समस्या छ ।’ उनका अनुसार भीममा जस्तै अन्य अस्पतालहरुमा पनि विरामीको चाप अत्यधिक बृद्धि भएको छ ।

बिगतमा भन्दा यस वर्ष चाँडै गर्मी बढेको हो । गर्मीले जुस, फलफूल, आइसक्रिम लगायतको ब्यापारमा बृद्धि भए पनि अन्य ब्यापार ब्यवसाय र सर्वसाधरणसँगै चौपाया र जीवजन्तुको दैनिकी समेत प्रभावित बनाएको छ । दिउँसोको समयमा बजार सुनसान हुने गरेको छ । तातो हावा, प्रचण्ड गर्मी र आगलागीबाट वातावरणमा परेको असरको कारण जनजीवन प्रभावित बने पछि राहत पाउन सर्वसाधारण, किसान, व्यापारी लगायतले वर्षाको कामना गरिरहेका छन् ।

‘दिउँसोको समयमा अति आवश्यक कामबाहेक घरबाट बाहिर निस्किन हुँदैन । यस्तै, गर्मीसँगै ‘लु’ चलिरहेकाले पानी र झोलिलो पेयपदार्थ प्रशस्त मात्रामा पिउनुपर्छ’, डा. हुदाले भने, ‘अहिलेको समयमा तातो हावाबाट जोगिनु राम्रो हो ।’ तातो हावासहितको गर्मीले सर्वसाधरणलाई दैनिकी गुजार्न समेत कठिनाई भइरहेको स्थानीय प्रेमबहादुर बस्नेतले बताए ।