May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

‘संकट’को पत्रकारितामा अवसर

मुलुकले छोटो अवधिमा धेरै उथलपुथल सहनु पर्यो । प्रथम जनआन्दोलनदेखि दोस्रोसम्म आइपुग्दा सशस्त्र माओवादी द्वन्द्वसँगै राजनीतिक अस्थिरताको चरम रुप देख्नु पर्यो । तत्कालीन सशस्त्र बिद्रोही माओवादीको शान्ति यात्रा र लोकतान्त्रिक गणतन्त्र शासन पद्धतिपछि मुलुक स्थिरतासँगै बिकास र समृृद्धिको बाटोमा लम्किएला भन्ने धेरैको बिश्वास अहिले डगमगाउन पुगेको छ ।

Advertisement

नेपालीका धेरै सपना राजनीतिक स्थायित्वसित गाँसिएका छन् । तर, नेपालमा राजनीति र कुनै पनि व्यवस्था स्थिर चल्न सकेनन् । अहिले त शासनमा जनताको सहभागिता हुने र जनताकै सन्तान राष्ट्रपति बन्ने शासनप्रणाली छ । यसमाथि समेत चौतर्फी प्रश्न उठ्न थालेका छन् । यसमा प्रणाली भन्दा त्यसको नेतृत्व गर्ने राजनीतिक दल र तिनका नेताको अस्थिर चरित्र कारक बन्न पुगेको छ । एकातिर राजनीति अस्थिर छ । अहिले सरकार गठनमा भइरहेको फेरबदल हेर्दा राजनीति झन अस्थिर बन्ने देखिन्छ । यसले सुखद भविष्यको कल्पना गर्न सकिन्न ।

Advertisement

अर्कोतर्फ नीजि क्षेत्र र समाज संकटमा छन् । लामो राजनीतिक उथलपुथलले गति लिन नसकेको नीजि क्षेत्र बिनाशकारी भूकम्प, कोरोना महामारी र अहिले चलिरहेको भनिएको आर्थिक संकटले थिलोथिलो बनेको छ । सरकारको बैंकिङ नीतिका कारण चर्को ब्याजदरको मारमा परेको व्यवसायीको गुनासो छ । बैंकको ब्याज तिर्न नसकेर धेरै व्यवसायिक प्रतिष्ठान लिलाम भइसकेका छन् । केही लिलामीको चरणमा छन् ।

नयाँ लगानी शून्य जस्तै छन् । सञ्चालनमा रहेका प्रतिष्ठान व्यवसाय सुस्त भएपछि बन्द गर्ने कि निरन्तरता दिने द्विविधामा छन् । सरकारले आर्थिक अभाव जनाउँदै बिकास निर्माणको बजेट कटौती गरिरहेको छ । कर्मचारीलाई तलब खुवाउन बजेट कटौती गर्नुपर्ने अवस्था छ । स्थानीय, प्रदेश र संघीय सरकारका कर्मचारीले नीति, कार्यक्रम र योजना कार्यन्वयन आफ्नो जिम्मेवारी सम्झिनु पर्नेमा त्यसो गरेका छैनन् ।

उनीहरुले निश्चित प्रतिशत कमिसन पक्का गरेपछि मात्रै योजना दिने प्रचलन बनिसकेको छ । यसले भ्रष्टाचार संस्थागत गरेको छ । व्यवसायिक चरित्रका व्यक्ति र संस्थालाई यी सरकारका कार्यालयमा प्रवेश निषेध जस्तै छ । अर्कोतर्फ आधुनिक बनिरहेको समाजमा राजनीतिक धुव्रिकरण छ । समाजमा स्वतन्त्र नागरिकको कमी छ । एकातिर जनशक्ति पलायन, अर्कोतर्फ प्रत्येक व्यक्ति राजीतिक हुँदा बिकृति, बिसंगति बिरुद्ध खबरदारी हुन सकेको छैन । ‘मिलाएर’ काम गर्ने परिपाटीले राज्यका तहमा भइरहेको बद्मासीमाथि प्रश्न गर्ने परम्परा हरायो । यसले मुलुकलाई स्थिरता भन्दा अस्थिरतातर्फ बढ्न सघाएको छ ।

अवस्था र व्यवस्था जे–जस्तो भए पनि नेपाली पत्रकारिताले आफ्नो विशिष्ट भूमिका निभाउँदै आएको छ । हिजोका दिनमा पनि संकट थियो । प्रत्येक कालखण्डमा नेपाली पत्रकारिताले भोग्नुपर्ने चुनौती फरक–फरक छन् । मुलुकमा राणा शासनको अन्तिम कालबाट नेपालमा पत्रकारिता उकालो लाग्न थालको हो । त्यसबेलाका अग्रजले लुकेर, फरक भावले लेखेर भए पनि तत्कालीन शासनबिरुद्ध कलम चलाएका थिए । त्यसपछि छोटो प्रजातान्त्रिक कालमा पत्रकारिता फष्टायो । खुलेर लेख्न पाए । त्यो स्वतन्त्रता लामो समय टिकेन ।

मुलुकमा पञ्चायती व्यवस्था लागू भएपछि फेरि कलममाथि प्रहार हुन थाल्यो । पत्रकारले भूमिगत भएर भूमिका निभाउनु पर्यो । अहिले जस्तो प्रविधिले साथ नदिएको त्यसबेला हाम्रा अग्रजले राज्यबाट यातना सहेर पनि शासन व्यवस्थामाथि प्रश्न उठाएका थिए । व्यवस्थाको बिरोध गदैं नागरिकका पक्षमा आवाज बुलन्द बनाएका थिए । त्यसबेला पनि प्रशस्त पारिश्रमिक, गाडी, घोडाको व्यवस्था थिएन । ढुक्कले बसेर लेख्ने अवस्था थिएन । पत्रिका प्रकाशनको जमाना थियो । तर, निष्फिक्री पत्रिका छाप्ने वातावरण थिएन ।

राज्यबिरुद्ध लेखे वापत जेल जानु पथ्र्यो । पत्रपत्रिका खारेज हुन्थे । तैपनि हाम्रा अग्रजले ‘मिशन’ पत्रकारितालाई निरन्तरता दिएर वर्तमान पत्रकारिताको जग बसाएको कुरा बिर्सनु हुँदैन । पञ्चायत कालमा संकट थियो । त्यही संकटमा पत्रकारिता गर्नुको मजा थियो । त्यो बेला गरेको खबरदारीको मूल्यांकन भयो ।

२०४६ सालपछि नागरिकका हक, अधिकारको मात्र बहाली भएन । मानिसको वाक स्वतन्त्रताको ग्यारेन्टी भयो । त्यस्तो वातावरणमा नेपाली पत्रकारिताले फड्को मार्यो । नागरिकका मुद्दा उठान गर्न प्रशस्त नीजि लगानीका सञ्चारमाध्याम स्थापना भए । पत्रिका, रेडियोसँगै टेलिभिजन स्थापनाको लहर चल्यो । करिब दुई दशक यस्ता सञ्चारमाध्यमको बाढी आयो । सञ्चारमाध्यामको संख्यासँगै सञ्चारकर्मीको संख्या बढोत्तरी भयो ।

मुलुकमा राजनीतिक संकट भए पनि त्यसबेलासम्म मिडियाले संकट बेहोर्नु परेको थिएन । तर, सञ्चारमाध्याम स्थापनाको बाढीले बिज्ञापन बजार बाँडियो । एउटा सञ्चारमाध्याममा कुनै प्रतिष्ठानले बिज्ञापन दिएर नपुग्ने भयो । बिज्ञापन नदिए आफ्ना बारेमा अन्टसन्ट लेखिदिने डर पलाउँदै गयो । यसले पनि बिज्ञापन बजार खुम्चियो । पछिल्लो दशक सामाजिक सञ्जाल र इन्टरनेटको पहुँचले मुलधारको मिडिया संकटलाई झन गहिरो तुल्यायो । सञ्चारमाध्याम स्थापना हुने तर, आफ्नो जनशक्तिलाई समय अनुसार ‘अपग्रेड’ नगर्ने परिपाटी बन्यो । स्वयं मूलधारका मिडियाले भविष्यमा भोग्नुपर्ने संकटबारे आंकलन गरेनन् । जसले गर्दा अहिले लामो समय स्थापित पत्रिका, टेलिभिजन र रेडियोले आर्थिक संकट भोग्नु परिरहेको छ । अर्को तर्फ वैकल्पिक माध्यामको उपयोग गरेर जनतालाई सुसुचित गर्ने बढेका छन् । सामाजिक सञ्जाल युट्युवबाटै स्तरीय पत्रकारिता गर्ने पनि बढेका छन् ।

त्यसो भए पत्रकारका दिन सकिएका हुन त ? अब पत्रकारको भूमिका के हुने ? पत्रकारितामा अब भविष्य छैन त ? सत्य यो होइन । पहिलेको जस्तो थोरै ज्ञान, सीप र क्षमताले अब पत्रकारितामा टिकिरहन सम्भव छैन भन्ने सत्य हो । आगामी दिनमा पत्रकारिता सहज छैन । पत्रकारिता गर्न व्यक्तिगत रुपमा श्रम र पैसा लगानी गर्नुपर्ने अवस्था छ । लेख्न जानेर मात्र पुग्दैन । आधुनिक प्रविधिसित अभ्यस्त नभइ नहुने भएको छ । यस्तोमा परम्परागत ज्ञान र सीपले अब हामी क्रियाशील पत्रकार रहन सक्दैनौं । अझ पत्रकारिता गरेर छाक जोहो गर्नेले त समय अनुसारको पत्रकारिता अभ्यास गर्न जरुरी छ । हामी लेख्ने कुरामा जोड दिन्छौं । अहिलेको पुस्ताले अक्षरसँगै श्रव्य र दृश्य माग गर्छ ।

अहिलेकै भाषा र शैलीको खोजी गर्छन् । हामी पाका पत्रकारले अहिलेको पुस्तालाई चिन्न सकिरहेका छैनौं । नयाँ पुस्ताले आफ्नो समयका पात्रको स्टोरी खोज्छन् । पत्रकारितालाई पुस्ता अनुसार समायोजन गरेर अगाडि बढ्नु पर्ने चुनौंती हाम्रा सामु छ । लेख्न मात्र जानेर पुग्दैन । श्रव्य, दृश्य ज्ञानसँगै ‘मल्टिमिडया’ पोख्त नभएसम्म अबको पत्रकारिता अगाढि बढ्न सक्दैन । ‘पत्रकार हुँ’ भन्दैं गफ दिनलाई त यी सबै ज्ञान नभए पनि पुग्छ । पत्रकार भएपछि कार्यक्रममा भाग लिन पाइएला । खान पिउन, रमाउन पाइएला । तर, लेख्न छाड्यौं भने समाजले पनि मुखमा रामराम मात्र भन्ने हो । पछाडि कुरा काट्ने हो । त्यसैले समाजले ‘एप्रिसियट’ गर्ने पत्रकार बन्नका लागि आफूलाई समयानुकुल परिमार्जन गर्न जरुरी छ ।

अहिले मुलुकमा तीन तहका सरकार छन् । पत्रकारिता पनि तीन तहमै बिभाजन भएको छ । अब गाउँका सरकारले आफ्ना खबर प्रवाह गर्न संघको मूलधारको मिडियाको प्रतीक्षा गर्दैनन् । अहिले त एक व्यक्ति, ए सञ्चारमाध्यामको अवस्था छ । यसरी सञ्चारमाध्यामको संख्यामा आएको बृद्धिसँगै हामीले गर्ने खबरदारी पनि बढ्नु पर्ने हो । तर, पत्रकार, सञ्चारमाध्यामको संख्या पालिका भन्दा पनि वडापिच्छे भयो । तर, खबरदारी शून्य भयो । प्रत्येक पत्रकार कुनै न कुनै राजनीतिक दलको आश्थामा आवद्ध हुने । अझ पछिल्लो समय त राजनीतिक दलका विभिन्न भूमिका रहेकाहरु नै पत्रकारितामा प्रवेश गरे । यसले गर्दा खबरदारी गर्ने भन्दा आफ्नो आश्थाको दल र नेतालाई बचाउनु पर्ने भूमिका पत्रकार देखिएका छन् । झन, निर्वाचनको समयदेखि उम्मेदवारलाई जिताउनु पर्ने भूमिकामा नै हामी पत्रकार धु्रविकृत हुन थाल्यौं ।

प्रेस सल्लाहाकार, बिज्ञको लोभमा हामीले आफैलाई निष्तेज तुल्याउन थाल्यौं । एकातिर सञ्चारमाध्याम चरम आर्थिक संकटमा । अर्कोतर्फ हाम्रो भूमिका नै स्वतन्त्र प्रेसको मूल्यमान्यता विपरित भइदिँदा हामी कमजोर बन्यौं । अहिले समाजमा हरेक अंगले पत्रकारलाई थामथुम पार्ने र उपयोग गर्ने कुरामा मात्रै जोड दिने गरेका छन् । ‘सत्ता र भत्ता’ले पत्रकारलाई सबैभन्दा कमजोर तुल्याएको छ । यस्तो अवस्थामा हामीले राज्यका हरेक अंगलाई प्रश्न गरेर जवाफदेही तुल्याउने मूल भूमिका भुलेका छौं । हाम्रा संलग्नता पत्रकारितामा मात्र सिमित छैनन् । हामी राजनीति कर्मी, उद्यमी, व्यापारी र दलालमा रुपान्तरण भएका छौं ।

यी सबैं संकटका बीच पनि पत्रकार बन्ने अवसर छ । पत्रकारितलाई अवसर छ । त्यो धेरै गाह्रो पनि छैन । अहिले तीन तहका सरकारलाई जवाफदेही तुल्याउन र अनियमित काम रोक्न पत्रकारले प्रश्न गर्नुपर्नेछ । प्रश्न गर्नका लागि हातमुख जोर्ने समस्या हाम्रा सामु आउँछ । अभाव आउँछ । हामी गाडी चढ्न सक्दैनौं । सुकिलो मुकिलो बन्न सक्दैनौं । त्यसो भए पत्रकारिता व्यक्ति स्वार्थसिद्धी र समृद्धिका लागि मात्र गर्ने त ? होइन । पत्रकारिता गर्दै जाँदा आर्थिक उन्नती कम हुन्छ । उस्तै परे घरबार चलाउन धौं हुन्छ । तर, हामीले प्रश्न गर्ने हिम्मत गर्यौं भने हाम्रो फरक मूल्यांकन हुन्छ । समाजमा स्वतन्त्र पत्रकारिताको अपेक्षा गर्ने र पत्रिकारिता मार्फत समाज सुधारको अपेक्षा गर्ने पनि छन् । त्यस्ता नागरिक अहिले पनि किनारा छन् । उपेक्षित छन् । पछाडि पारिएका छन् ।

अहिले आफूलाई व्यवसायिक तृल्याउँदैं राज्यका निकायलाई खबरदारी गर्ने, नेताहरुको स्वइच्छाचारितामाथि प्रश्न गर्ने, समाजका बिकृति उजार गर्ने पत्रकारलाई अवसर नै अवसर छ । सूचना प्रविधिको पहुँचले विश्व साघुरिएका बेला त हामीले लेख्ने खोजमूलक सामाग्रीले अन्तर्राष्ट्रिय सञ्चारमाध्याम समेत स्थान पाउँछन् । त्यो भन्दा पनि अहिले राम्रो लेख्ने, स्वच्छ लेख्ने, स्वतन्त्र लेख्ने, समस्या देख्ने, नागरिकको पक्षपोषण गर्ने पत्रकारको हरेक पालिकामा अभाव छ । संघीयताले मुलुको शासन व्यवस्थालाई बिकेन्द्रिकरण मात्र गरेको छैन । अवसर सिर्जना पनि गरेको छ ।

यस्तोमा आफूलाई प्रविधिमैत्री तुल्याई खोजमूलक पत्रकारिता मार्फत् खबरदारी गर्न सक्नेलाई अवसर नै अवसर छ । त्यो पनि पत्रकारका रुपमा चिनिने । समाजलाई पनि हजार पत्रकारका बीच एउटा व्यवसायिक पत्रकारको खाँचो छ । यस्तो अभावमा आफू पत्रकार बन्ने कि नबन्ने हाम्रै हातमा छ ।
(पत्रकार महासंघ चितवनको स्मारिकामा प्रकाशित )