June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

लघुकथा : प्रतीक्षा

त्यो दिन, उनी कलिलो घाममा घामभन्दा कलिलो नाबालक छोरालाई तोरीको तेल लगाइदिँदै थिइन् । तालुमा, आँङमा, पाखुरामा, तिघ्रामा, पिडौलामा ।

Advertisement

द्वारपाल आयो र अदबसाथ झुकेर खबर दियो, “हजुर, बाहिर ढोकामा एउटा भिक्षु कटोरा लिएर माग्न आएको छ !”

Advertisement

छोरो हेरेरै सन्चो हुँदै गएको उनको मन फेरि चस्स दुख्यो, “न बालक छोरो भने, न तरुणी स्वास्नी पाल्छु भने, न वृद्धावस्थाका आमा–बा भने । मध्यरातमा सबैलाई छोडेर जाने निष्ठुरी, अहिले अर्काका छोराहरू चोरेर गाउँ घुम्न पठाउँछन् ।”

उनले दुखेकै मनले सोचिन् र द्वारपाललाई अह्राइन्, “जाऊ सोध, यही दुःख पाउनका लागि दुःखबाट मुक्ति पाउने लोभमा किन घर छोडेर हिँड्यौ… ।”

द्वारपाल गयो र फर्कियो, “हजुर, सोधेँ । ऊ भन्छ– ज्ञानी गुरुले अह्राएको रे ! अलिकति चामल माग्दै छ ।”

“जाऊ, बुझेर आऊ कि लोग्नेले छोडेर गएकी एक्ली आइमाईले बच्चा कसरी हुर्काउने रे ? आफू भिक्षु भएर पुग्छ रे ? घरमै भएकाहरूको दुःखको भरपाई कसरी गर्छन रे ? जवाफ आयो भने चामल मात्रै होइन, म यही छोरोलाई पनि उनकै पछि लगाएर आश्रममा पठाइदिन्छु ।”

‘हस्’ भनेर गयो द्वारपाल र यो दिनसम्म पनि फर्किएर आएन ।

म राहुल, त्यही जवाफको प्रतीक्षामा खुट्टा उचालेर बसेको, महायुग बित्यो । Baarakhari