लुम्बिनी विकास कोषको बेवास्ताले अशोक स्तम्भ खिइँदै
लुम्बिनी– लुम्बिनी विकास कोषको बेवास्ताले मायादेवी मन्दिर परिसरमा रहेको पुरातात्विक अशोक स्तम्भ मक्किन थालेको छ । अशोक स्तम्भको नियमित सरसफाइ र संरक्षणमा ध्यान पुग्न सकेको देखिँदैन । एकसाता अघि अशोक स्तम्भ परिसर कुरूप थियो ।
स्तम्भ परिसरभित्र खीर, पुरी तरकारी यत्रतत्र थिए । नानाथरिका पोसाक, खौरिएको कपाल, प्लास्टिकका थाल कचौरालगायतका फोहरको थुप्रो र भेटी स्वरूप चढाइएका भिजेका रुपैयाँ स्तम्भको चारैतिर छरिएका थिए ।
लुम्बिनीका लागि अशोक स्तम्भले ठूलो महत्व राख्ने भएकाले यसको संरक्षणमा लुम्बिनी विकास कोष, सरकारलगायत सबै पक्ष उत्तिकै सजग र संवेदनशील बन्नु पर्ने लुम्बिनीका शोधकर्ता गीता शर्माले बताइन् । उनका अनुसार ब्राम्ही लिपिमा अशोक स्तम्भमा उल्लेख गरिएको ९० वटा अक्षर, २६ वटा शब्द र साढे चार लाइनको वाक्यांशका कारण नै लुम्बिनी र बुद्धको जन्मस्थल पत्ता लागेको हो ।
‘अशोक स्तम्भमा लेखिएका अक्षर र वाक्यांशले ठूलो महत्व राख्छ,’ शर्माले भनिन्, ‘यदि अशोक स्तम्भमा लेखिएका ती अक्षर हुँदैनथे भने अहिले पनि हामी बुद्ध जन्मस्थलको खोजीमा हुने थियौं ।’ अशोक स्तम्भ रहेको स्थानमा स्थानीयले बच्चाको मुण्डन गर्दाको कपाल, कपडा, प्रसादका रूपमा विभिन्न खाने कुरा चढाउने परम्परा रहेको र परम्परादेखि चल्दै आएको स्थानीयको यो परम्परामा रोक लगाउन नसकिने कोषका कोषाध्यक्ष शुरेन्द्रमुनि शाक्यले बताए ।
‘कहिलेकाहीं त कपाल, कपडा, प्रसादको रूपमा खानेकुरा चढाउनेको मेलाजस्तै लाग्छ,’ शाक्यले भने, ‘तर, हामीले दैनिक रूपमा सरसफाइ गर्ने गरेका छौं ।’ कोषका सदस्य सचिव सानुराजा शाक्यले पनि अशोक स्तम्भ परिसर नियमित रूपमा सरसफाइ गर्ने गरिएको र सफा नगर्ने भए त्यहाँ फोहरको डुंगुर हुने बताए । उनले कोषका सबै कर्मचारीलाई प्रभावकारी रूपमा ड्युटीमा खटाएर परिचालन गर्दै आइएको दाबी पनि गरे ।
बालबालिकाको रक्षा हुने विश्वासमा तीन वर्षपछि मुण्डन गर्दा खौरिएको कपाल, दाम्पत्य जीवन सुखमय हुने विश्वासमा विवाह गर्दा बेहुला बन्दा शिरमा लगाइने परम्परागत टोपी, बुद्धकी आमा मायादेवीलाई देवीको रूपमा मान्दै खाने परिकार, अक्षता, धुपलगायतका सामान लिएर अशोक स्तम्भ रहेको स्थानमा आई पूजाआजा गरी चढाउने परम्परा स्थानीयमा छ ।
लुम्बिनीमा रहेको अशोक स्तम्भका बारेमा विभिन्न पटक स्वदेशी र विदेशी विज्ञले गरेको अध्ययन र अनुसन्धानबाट विभिन्न रसायन र केमिकलका कारण स्तम्भ खिइँदै जान थालेकाले संरक्षण गर्न अति जरुरी रहेको निचोड निकालेको वरिष्ठ पुरातत्वविद् बसन्त बिडारीले बताए ।
‘स्थानीय बासिन्दा र जनप्रतिनिधिसँग यसबारेमा छलफल गरेर परम्परा पनि कायम रहने र अशोक स्तम्भलाई पनि असर नपर्ने गरी समाधानको बाटो निकाल्न सकिन्छ,’ कोषका पूर्वपुरातत्व शाखा प्रमुखसमेत रहेका बिडारीले भने, ‘तर, यस विषयका बारेमा कोषका पदाधिकारीबाट स्थानीयसँग समन्वय र पहल गरिएजस्तो लाग्दैन ।’
चार वर्षअघि गरिएको अध्ययनले स्तम्भमा विभिन्न हानिकारक तत्व आएर टाँसिएको देखाएको थियो । युनेस्को परामर्शदाता तथा स्टोन विशेषज्ञ कन्स्ट्यान्टिनो म्युचीले स्तम्भको सूक्ष्म अध्ययनन गरेका थिए । स्तम्भमै आईआर क्यामरा र अत्याधुनिक उपकरण जडान गरेर उनले अनुसन्धान गरेका थिए ।
अनुसन्धानका क्रममा स्तम्भमा सिमेन्टका कण, जिप्सम, किस्टल र स–साना ढुंगा टाँसिएको पाइएको थियो । स्तम्भको बाहिरी क्षेत्रमा सल्फर र धुँवाधुलोबाट निस्केको प्रदूषण, प्लास्टिकका टुक्रा पनि म्युचीले पाएका थिए । यी तत्वले रासायनिक प्रतिक्रिया जनाई स्तम्भलाई क्षयीकरण गरिरहेका छन् ।
यो स्तम्भ सामान्य बलौटे ढुंगा हो । रासायनिक कणले थोरै प्र्रभाव पारे पनि धेरै असर गरिरहेको हुन्छ । म्युचीले आफ्नो रिपोर्टमा तत्काल सतर्कता अपनाउन सुझाए पनि यसतर्फ ध्यान दिइएको छैन । खुला आकाशमुनि छाडिएको छ । जथाभावी फोहोर फ्याँक्ने काम र संरक्षण नहुँदा स्तम्भ खिइँदै गएको हो ।
कोरोना अघि यहाँ बर्सेनि लाखौं पर्यटक आउँथे । यहाँ आउने पर्यटकको रोजाईमा मायादेवी मन्दिरसँगै स्तम्भ पनि पर्छ । धेरैले यसलाई क्यामेरामा कैद गर्छन् । पुरातात्विक महत्व भएकाले लुम्बिनीबारे सोधखोज गर्नेले यही अशोक स्तम्भलाई आधार मान्छन् । महत्व बुझ्छन्, लुम्बिनीको इतिहास थाहा पाउँछन् । यति महत्वपूर्ण पुरातात्विक स्तम्भको संरक्षणमा भने विकास कोषले चलाखीसाथ संरक्षण गरेको छैन । जसले गर्दा स्तम्भ झनपछि झन खिइँदै गएको छ ।
प्रतिकृया दिनुहोस्