एक वर्षमा रूपन्देहीमा करिब ३७ हजार सवारी ट्राफिक कारबाहीमा


भैरहवा– जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले पछिल्लो एक वर्षमा नियम उल्लंघन गर्ने करिब ३७ हजार सवारी साधनलाई कारबाहीसहित जरिवाना तिराएको छ । जिल्ला ट्राफिकले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी तथ्यांक सार्वजनिक गरेको हो । कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार आर्थिक वर्ष २०८२–०८३ मा ३० हजार ६ सय २३ सानाठूला सवारीलाई ट्राफिक आफैले कारबाही गरेको छ । बाँकी ६ हजार २८० गाडीलाई भने ट्राफिकले नियन्त्रणमा लिएर यातायात कार्यालय पठाएर जरिवाना सहित कारबाहीको दायरामा ल्याएको हो ।
ट्राफिक प्रहरी कार्यालय मार्फत् गरिएको कारबाहीका क्रममा ४ करोड ७२ लाख २३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ भने यातायात कार्यालयमा गरिएको सिफारिस अनुसार यातायातले गरेको कारबाहीबाट ६ करोड २८ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
कार्कीका अनुसार रुपन्देहीमा बिगत एक बर्षमा १ हजार ७९ वटा सवारी दुर्घटनाबाट १ सय ७ जनाले ज्यान गुमाएका छन् । २ सय २४ जना गम्भीर घाइते भएका छन् । ‘पछिल्ला वर्षमा बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक नियमन र चेकिङमा कडाइ गर्नुका साथै ट्राफिक सचेतनाका कार्यक्रम पनि समुदायस्तरसम्म बिस्तार गरिएको छ’, उनले भनिन् ।
अधिकांश दुर्घटनामा चालकको लापरबाही र स्वअनुशासनको कमीले गर्दा हुने भएकाले ट्राफिक प्रहरीले सडकमैं ‘चालकसँग तीन मिनेट’ कार्यक्रम सञ्चालन गरेको उनले बताइन् । ट्राफिक सचेतनाका कार्यक्रम बिद्यालय र कलेज तहदेखि समुदाय स्तरसम्म पुर्याइएको भनाइ उनको थियो ।
‘पछिल्लो तीन बर्षको तथ्याङ्क हेर्दा रुपन्देहीमा सवारी दुर्घटना र मृत्युदर पनि बढेको देखिन्छ’, उनले भनिन्, ‘दुर्घटनाको यो अवस्थालाई हेरेर ट्राफिक सचेतनाका कार्यक्रम पनि कुन ठाँउसम्म पुर्याउँदा धेरै प्रभावकारी हुन्छ त्यही पुर्याउने गरिएको छ ।’
एक वर्षको अवधिमा लागुऔषध तथा मापसे चेकिङ गर्दा १७ जना लागु औषध प्रयोगकर्ता चालक फेला परेका थिए । रातो प्लेटमा यात्रु बोक्ने, स्वरूप परिवर्तन गर्ने, ध्वनि प्रदूषण फैलाउने र नवीकरण नगरिएका ३ वटा मोटरसाइकल र २ वटा बसलाई नियन्त्रणमा लिइएको थियो ।
अनावश्यक बत्ती र हर्न नियन्त्रण अभियान अन्तर्गत १२ पटक गरिएको विशेष चेकिङमा ९१६ वटा सवारी साधनबाट अनावश्यक प्रेसर हर्न र थप गरिएका लाइट झिकेर कारवाही गरिएको थियो ।
ट्राफिक व्यवस्थापनलाई थप चुस्त बनाउन प्रहरीले नयाँ प्रविधिहरू अपनाएको कार्कीले बताइन् । जसअनुसार, भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनहरूको चेकजाँच र सुरक्षित अभिलेखका लागि सिद्धार्थनगर–१, बेलहिया नाकामा मोबाइल एप्स मार्फत २४सै घण्टा सवारी साधन इन्ट्री गर्ने व्यवस्था मिलाइएको छ । हालसम्म ११ हजार ९० वटा सवारी साधन यस एपमा इन्ट्री भइसकेका छन् ।
भैरहवा र बुटवलको बिचको तिलोत्तमा–१५ स्थित पत्थरडाँडामा नम्बर प्लेट सहित पहिचान गर्ने स्वचालित क्यामेरा पुनः सञ्चालनमा ल्याइ ट्राफिक निगरानी बढाइएको छ । स्वचालित यो क्यामेरा जेनजी आन्दोलनको बेला नष्ट पारिएको थियो । यो क्यामेराले प्रत्येक सवारी साधनको गतीको पनि मापन गर्ने गर्छ ।
सडक सुरक्षा बढाउन स्थानीय निकायहरूसँगको समन्वयमा विभिन्न सडक खण्डहरूमा ब्यारिकेड, ट्राफिक संकेत र जनचेतनामूलक होडिङ बोर्डहरू राखिएको छ । विगतको ‘जेनजी आन्दोलन’का क्रममा कार्यालयका कागजपत्र लगायत सम्पूर्ण संरचना जलेर ध्वस्त भएको कठिन परिस्थितिमा पनि कार्यालयले विभिन्न संघ–संस्था, सहयोगी दाता तथा स्थानीय तहहरूसँग समन्वय र सहयोग जुटाउँदै आफ्नो सेवा र सुरक्षा व्यवस्थालाई पुनः चुस्तदुरुस्त बनाएको प्रहरी निरीक्षक कार्कीले बताइन् ।








प्रतिकृया दिनुहोस्