July 9, 2026, Thursday
२०८३ असार २६ शुक्रबार

डेंगी संक्रमण नियन्त्रणका लागि सम्पूर्ण स्थानीय तहमा पत्राचार

Advertisement

भैरहवा–डेंगी संक्रमणको जोखिम बढ्दै जान थालेपछि स्वास्थ्य मन्त्रालयले मुलुकका ७५३ वटै स्थानीय तहलाई तीन महिनासम्म जनचेतना फैलाउनुका साथै लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न पत्राचार गरेको छ ।

Advertisement

यस बर्षपनि वर्षायाम सुरु भएसँगै देशभर डेंगी संक्रमणको जोखिम तीव्र रूपमा बढेको छ । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका अनुसार, जनवरीयता १२ सयभन्दा बढी मानिस डेंगी संक्रमण भई उपचारका लागि अस्पताल पुगेका छन् । दुई जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा ७८ वर्षीय र ३९ वर्षीय दुई पुरुष छन् । गत वर्ष डेंगीका कारण ६ जनाको मृत्यु भएको थियो । करिब ९ हजार संक्रमित भएका थिए । सन् २०२५ मा हुम्लाबाहेक सबै हिमाली जिल्लामा डेंगी पुष्टि भएकोमा यो वर्ष पनि धेरै हिमाली भेगमा संक्रमण देखिइसकेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले सबै स्थानीय तहलाई आगामी तीन महिनासम्म जनचेतनामुलक कार्यक्रम र ’लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाउन पत्रचार गरिएको बताए । उनका अनुसार, रोकथामको मुख्य जिम्मेवारी प्रदेश र स्थानीय सरकारको भए पनि संघीय मन्त्रालयले बजेट तथा प्राविधिक सहयोग उपलब्ध गराउने गर्छ ।

सामान्यदेखि उच्च ज्वरो आउनु, मांसपेशीमा तीव्र दुखाइ हुनु, टाउको र आँखा दुख्नु तथा शरीरमा राता बिबिरा आउनु डेंगी संक्रमणको मुख्य लक्षण हुन् । प्हिलो पटक नेपालमा सन् २००४ मा चितवनमा एक विदेशी नागरिकमा डेंगी देखिएको थियो । सन् २०२२ मा ५४ हजारभन्दा बढी संक्रमित भएका थिए । ८८ जनाको मृत्यु भएको थियो ।सन् २०२३ मा देशका ७७ वटै जिल्लामा फैलिएर ५२ हजारभन्दा बढी संक्रमित र २० जनाको मृत्यु भएको थियो ।