July 9, 2026, Thursday
२०८३ असार २५ बिहीबार

प्रधानमन्त्री शाह र निजी क्षेत्रबिच छलफलः आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

Advertisement

भैरहवा–प्रधानमन्त्री वालेन्द्र शाहले उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार सधैँ तयार रहेको बताएका छन् ।

Advertisement

उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा बुधवार निजी क्षेत्रका प्रतिनिधिहरूसँग विस्तृत छलफल तथा कुराकानीका क्रममा प्रधानमन्त्री शाहले सरकार निजी क्षेत्रको समस्या समाधान गर्न तयार रहेको बताए । ‘उद्योग तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने छ’ प्रधानमन्त्री शाहले भने ।

आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग बलियो सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । आर्थिक विकास, लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको भनाइ प्रधानमन्त्रीको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निजी क्षेत्रका विभिन्न प्रतिनिधिहरुसँग बुधवार मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने तथा लगानीमैत्री वातावरण निर्माण गर्ने विषयमा महत्वपूर्ण कुराकानी भएको हो । उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, नीतिगत तथा प्रक्रियागत अवरोधहरूलाई हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा जोड दिने लगायतका बिषयवस्तुमा छलफलको बिषयबस्तु केन्द्रित थियो ।

छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय प्रवद्र्धन, लगानी विस्तार, नीतिगत स्थिरता र सेवा प्रवाहमा सरलता ल्याउनुपर्नेमा जोड दिएका थिए । सरकार र निजी क्षेत्रबिच नियमित र परिणाममुखी संवादको आवश्यकता रहेको सुझाव उनीहरूको थियो । उनीहरुको सुझावहरूलाई गम्भीरतापूर्वक लिँदै प्रधानमन्त्री शाहले सम्बन्धित निकायमार्फत आवश्यक सहजीकरण तथा सुधारका कार्य अघि बढाइने बताए ।

छलफलमा, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राको सहभागिता रहेको थियो ।