पानी नपर्दा मर्चवारका किसानलाई रोपाईं गर्न पम्पसेटकै भर


भैरहवा– दुई दिन अघि रुपन्देहीको मर्चवार पुग्दा अचम्मको दृश्य देखियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म वर्षा भइरहेका बेला मर्चवारको मझगाँवा सुक्खा थियो । पानी पर्ने छाँटकाँट थिएन । सडकमा फुङ्ग धुलो उडिरहेको थियो । अत्यावश्यक बाहेक कामकाजका लागि घर बाहिर निस्किने वातावरण थिएन ।
असारको तेस्रो साता भइसकेकाले कृषकलाई घरभित्रै बस्ने छुट पनि थिएन । त्यसैले उनीहरु चर्को घाममा खलखली पसिना बगाएर खेतबारीमा काम गरिरहेका थिए । मझगाँवामा बिश्राम गरिरहेका बेला एक झर्को पानी पर्यो । त्यसले कामकाजीलाई कुनैं असर गरेन । उनीहरु केही बेर रुँझेर भए पनि खेतमा काम गरिरहेका थिए । मर्चवारका सबैं खेतमा रोपाइँको तयारी छैन । बीच बीचमा किसानले भूमिगत पानी निकालेर खेतका हिल्याएर रोपाइँको सुरसार गरिरहेका छन् । उनीहरुलाई खण्डबृष्टिप्रति कुनै चासो थिएन ।
एकछिन परेको पानी हरायो । फेरि जमिनबाट वाफ उड्न थाल्यो । झन तातो भयो । पसिनाका धारा ठूला भए । किसान यति बेला चौतर्फी समस्याले घेरिएका छन् । उनीहरुसित समस्या नै समस्या छन् । बीउ, मल, सिंचाई अभाव छ । यस्तो बेला खेतीपातीका लागि उनीहरुको भरोसा भनेकै ‘पम्पसेट’ बनेका छन् । जमिन मुनिबाट पानी निकाल्न होस् कि खाल्टो र नहरको पानी आफ्नो बारीसम्म पुर्याउन होस् । अहिले मर्चवारका बासिन्दाले पम्पसेटको प्रयोग गरिरहेका छन् । आकासका बादल मडारिएका बेला पनि खेतमा पम्पसेट चालु भइरहेको देखिन्छ । कताबाट हुन्छ पम्पसेटले पानी तानेरै भए पनि रोपाइँ गरिरहेका छन् ।
मर्चवारका खेतमा मात्र होइन्, सडकमा पनि पम्पसेट देखिन्छन् । एक स्थानबाट अर्कोसम्म लैजान ट्याक्टरले पम्पसेट तानिरहेका दृश्य अचम्म लाग्दा देखिन्छन् । यति नगरी उपाय पनि छैन । मर्चवारमा स्थायी र भरपर्दो सिंचाईको व्यवस्था छैन । नहरको पानी खेतसम्म लैजान सहायक कुलोको अभाव छ । पम्पसेटको सहयोगमा पाइपबाट खेतसम्म पानी तानेर पुर्याउनु परिरहेको छ । यतिबेला मर्चवारका खेतमा खेतालासँगैं एक स्थानमा ३–४ वटासम्म पम्पसेट देखिन्छन् । यो रहर नभएर मर्चवारका बासिन्दाको बाध्यता बनेको छ ।
केही अगाडि भएको चुनावमा सबैं उम्मेदवारले ‘मर्चवारमा भरपर्दो सिँचाई’ व्यवस्था गर्ने नारा बनाएका थिए । चुनावमा मतदान भयो । एउटा उम्मेदवारले विजय हाँसिल गरे । ती विजेता संघीय संसदमा पुगे । अधिकांश मतदाता किसान थिए । उनीहरु अहिले खेतमा पुगेका छन् । उनीहरुका सिँचाई, मलखाद, बीउ, श्रम र मूल्यका समस्या ज्यूँका त्यूँ छन् । सम्बोधन हुने छाँटकाँट पनि छैन । त्यसैले किसान आकासतिर हेर्छन र पानी माग्दैं भगवान पुकार्छन् । अहिलेसम्म किसानको प्राथना भगवानले पनि सुनेका छैनन् ।








प्रतिकृया दिनुहोस्