July 5, 2026, Sunday
२०८३ असार २२ सोमबार

रूपन्देहीमा न्यून क्षमताका अस्पतालमा जोखिमपूर्ण सेवा सञ्चालनप्रति चिन्ता, काउन्सिलद्वारा निर्देशन

Advertisement

भैरहवा– आवश्यक पूर्वाधार र जनशक्ति विनै विभिन्न अस्पतालहरुमा शल्यक्रिया र सुपर–स्पेसालिटी सेवाहरू सञ्चालन भइरहेको भन्दै नेपाल मेडिकल काउन्सिलले कडाई गरेको छ । सरोकारवालाले यसबारे चिन्ता व्यक्त गर्दै काउन्सिलमा निवेदन दिएका थिए । काउन्सिलले सूचना जारी गर्दै सचेत गराएको हो ।

Advertisement

पछिल्लो समय रूपन्देही लगायत देशका विभिन्न स्थानमा न्यून शय्या (१५–२५ बेड) क्षमताका अस्पतालहरूमा आवश्यक पूर्वाधार, जनशक्ति तथा नियामकीय मापदण्ड पूरा नगरी जटिल तथा जोखिमयुक्त शल्यक्रिया र सुपर–स्पेसालिटी सेवाहरू सञ्चालन भइरहेका छन् ।

लुम्बिनी, बुटवल, भैरहवा लगायतका सहरमा यस्ता मापदण्डविपरीतका अस्पताल अधिक मात्रामा संचालित छन् । तर, जिल्ला अनुगमन समिति, स्थानीय पालिकाको अनुगमन समिति र स्वास्थ्य कार्यालयले गैरकानूनी काम गरिरहेका अस्पताल बन्द गराउन ध्यान दिएको पाइँदैन ।

हाल केही १५ तथा २५ बेड क्षमताका अस्पतालहरूमा मुटुरोग, न्युरो रोग लगायतका सुपर–स्पेसालिटी सेवाहरू सञ्चालन भइरहेका छन् । यस्ता सेवाहरू सञ्चालनका लागि पर्याप्त पूर्वाधार, आवश्यक उपकरण, दक्ष जनशक्ति, आईसीयू, आपत्कालीन व्यवस्थापन प्रणाली तथा प्रचलित कानुनी मापदण्ड अनिवार्य रूपमा पूरा हुनुपर्ने व्यवस्था छ । तर आवश्यक मापदण्ड पूरा नगरी सेवा सञ्चालन गर्दा बिरामीको स्वास्थ्य तथा जीवनमा गम्भीर जोखिम उत्पन्न हुने हुन्छ । संचार माध्यममा यस्ता घटनासँग सम्बन्धित विभिन्न समाचारहरू पनि सार्वजनिक भइरहेका छन्, तर नियामक प्रशासनिक निकायले बेवास्ता गरिरहेका छन् ।

यसै सन्दर्भमा नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूलाई लक्षित गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ । उक्त विज्ञप्तिमा चिकित्सकहरूले आफू कार्यरत अस्पतालको क्षमता, स्वीकृत सेवा, पूर्वाधार तथा कानुनी अधिकारको सीमाभित्र रहेर मात्र सेवा प्रदान गर्नुपर्ने उल्लेख गरिएको छ । अस्पतालको शय्या क्षमता, स्वीकृत सेवा र उपलब्ध सुविधाभन्दा बाहिरका जटिल शल्यक्रिया वा उपचारमा संलग्न नहुन चिकित्सकहरूलाई काउन्सिलले सचेत गराएको छ ।

काउन्सिलले चिकित्सकीय आचारसंहिता, बिरामीको सुरक्षा तथा उपचारको गुणस्तरलाई प्राथमिकतामा राख्दै आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न चिकित्सकहरूलाई आग्रह गरेको छ ।

यससँगै सर्वसाधारणलाई पनि अस्पताल छनोट गर्दा सम्बन्धित अस्पतालको शय्या क्षमता, स्वीकृत सेवा, आवश्यक पूर्वाधार तथा उपचारका लागि उपयुक्तता बुझेर मात्र उपचार गराउन अनुरोध गरिएको छ । स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले उपचारका क्रममा सानो लापरवाहीले समेत बिरामीको ज्यानमा गम्भीर जोखिम पर्न सक्ने भएकाले अस्पताल छनोटमा विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।