July 1, 2026, Wednesday
२०८३ असार १७ बुधबार

ओमसतियाको समृद्धि र सम्भावनाबारे बहसः शिक्षा सुधारमा चुनौती, पूर्वाधार र पर्यटन विकासमा जोड

Advertisement

भैरहवा– रुपन्देहीको ओमसतिया गाउँपालिकाका सम्भावना र समृद्धिका योजनामा केन्द्रित रही बहस गरिएको छ । लुम्बिनी प्रेस क्लबको आयोजना तथा ओमसतिया गाउँपालिकाको सहयोगमा बुधबार ओमसतियामा ‘ओमसतिया न्यूज फेस्टिवल’मा उक्त विषयमा बहस भएको हो । क्लबको वार्षिक कार्ययोजना अनुसार उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, अगुवा र सञ्चारकर्मीको सहभागिता थियो ।

Advertisement

छलफलमा सहभागिता जनाउँदै गाउँपालिका अध्यक्ष मन्जितकुमार यादवले ओमसतियालाई शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रमा समृद्ध तुल्याउन पालिकाले निरन्तर काम गरिरहेको दाबी गरे । स्थानीय नागरिकको जीवनस्तर उकास्ने खालका योजनाहरूलाई प्राथमिकतामा राखेर पालिकाले काम गरिरहेको उनले स्पष्ट पारे ।

‘स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माणदेखि कृषिलाई आधुनिकीकरण गराउनेसम्मका कार्यक्रम भएका छन्’, उनले भने, ‘वितेका ४ वर्षमा नागरिकलाई सुशासनसहितको सेवा प्रवाह दिएका छौं ।’ उनले धार्मिक, सांस्कृति र ऐतिहासिक हिसावले ओमसतिया प्रचूर सम्भावना बोकेको पालिका भएको जनाउँदै प्रचारप्रसार प्रवरद्धनका कार्यक्रम मार्फत् पर्यटकीय विकास गरिने जनाए । उनले आमनागरिकले चाहे जति काम हुन नसके पनि सुरुवात चाहिँ भएको बताए ।

पालिका उपाध्यक्ष सुनिता चौधरीले न्यायिक समितिको कार्यसम्पादनदेखि अनुगमन र विकास निर्माणको कामलाई प्रभवकारी ढंगबाट अघि बढाइएको जनाइन् । ‘हामीले टीमवर्कमा काम गरेका छौं’, उनले भनिन्, ‘गएको चारवर्षमा धेरै सडक कालोपत्रे भएका छन् । लक्षित समूहलाई विभिन्न तालिम, सीप विकासका कार्यक्रम गरिएको छ ।’ चौधरीका अनुसार शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई पहिलो प्राथमिकता राखेर काम गरिएको छ । कृषकलाई प्रोत्साहन देखि धार्मिस्थलको विकास र प्रवर्द्धनका कार्यक्रम भएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले पालिकाको समग्र विकासका लागि सुरुवातदेखि नै योजनाबद्ध रूपमा लागिपरेको बताए । स्वास्थ्य क्षेत्रमा पालिकाको कार्यसम्पादन अब्बल रहेको दाबी गर्दै शिक्षा क्षेत्रमा भने अझै अपेक्षाकृत सुधार हुन नसकेको उनले स्वीकार गरे । शिक्षा क्षेत्रको गुणात्मक विकासका लागि गरिएका कतिपय प्रयासहरू खेर गइरहेको उल्लेख गर्दै उनले यसमा सबैको साथ र फरक रणनीतिको आवश्यकता रहेको औंल्याए । उनले कृषि पर्यटन, धार्मिक तथा ऐतिहासिम स्थलको संरक्षण सँगै गरेर पर्यटक भित्र्याउन सकिने उल्लेख गरे । वडागत तहदेखि नै सुशासन, प्रविधिको प्रयोग र केन्द्र सरकारको मार्गदर्शनलाई आत्मसाथ गर्दै पालिकाले सुधारका काम गरिरहेको उनले दावी गरे ।

फेष्टिवलका क्रममा आयोजित प्यानल छलफलमा टिप्पणी गर्दै पत्रकार सरु राना मगरले ओमसतियाले आफ्नो क्षेत्रको विकासका लागि गरिरहेका पहलहरू पर्याप्त नभएकाले आगामी दिनमा कार्यशैली र योजना निर्माणमा व्यापक सुधार गरेर जानुपर्ने सुझाव दिइन् ।

प्यानलिस्ट एवं ओमसतियाकी कृषक सीता चौधरीले कृषि क्षेत्रमा सुधारका काम भए पनि पर्याप्त नभएको जनाइन् । उनले कृषिको आधुनिकीकरण, मल, बीउ र सिंचाईमा ध्यान दिन आग्रह गरिन् ।

छलफलमा सहभागी पत्रकारहरू राधेश्याम विश्वकर्मा, प्रकाश न्यौपाने, पशुपति यादव र पुनहरि बेल्बासे लगायतले पालिकाले हाल गरिरहेका कामहरूका बारेमा जिज्ञासा राख्दै आगामी दिनमा स्वास्थ्य र शिक्षाको पहुँचलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहभागी विभिन्न वडाका वडाध्यक्षहरूले आ–आफ्नो वडामा भएका विकास निर्माण, सेवा प्रवाह र जनचासोका कामहरूका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रम संयोजक तथा लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दीपक घिमिरेले स्थानीय तहसित समन्वय गरेर पालिकाका समस्या उजागर गर्न आमसतिया न्यूज फस्टिवल आयोजना गरिएको बताए । क्लबले आगामी दिनमा यस्ता कार्यक्रम बढाउँदै लैजाने बताए । क्लवका अध्यक्ष कमल रायमाझीले प्रशस्त सम्भावना भएर पनि ओमसतिया गाउँपालिका प्रचार प्रसारको अभावमा पछाडी परेको बताए । प्रेस क्लवले आगामी दिनमा पनि गाउँपालिकाको सहकार्यमा यस्ता कार्यक्रम गर्दै जानेमा उनले जोड दिए ।

लुम्बिनी प्रेस क्लवका अध्यक्ष रायमाझीले सहजीकरण गरेको उक्त छलफलका वक्ताहरूले ओमसतिया गाउँपालिकाले आगामी दिनमा शिक्षाको खस्कँदो स्तर सुधार्न विशेष प्याकेज ल्याउनुपर्ने, स्वास्थ्य सेवालाई अझै जनमुखी बनाउनुपर्ने र स्थानीय पर्यटनका सम्भावनाहरूलाई उजागर गर्दै भौतिक पूर्वाधार विकासमा जोड दिनुपर्ने निष्कर्ष निकालेका थिए ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै पालिका अध्यक्ष यादव, क्लबका अध्यक्ष रायमाझी, ओमसतिया–५ का अध्यक्ष तथा प्रवक्ता मदनप्रसाद पोखरेल, प्रेस क्लबका पूर्वअध्यक्ष नरेश केसीले सम्भावनायुक्त ओमसतियालाई अब कृषिको बजारीकरण, पर्यटकीय विकास गरे समृद्ध बन्न सक्ने बताएका थिए ।