उपभोक्तामाझ ‘मायालु छाप’ छाडिरहेको ‘माया तेल’


भैरहवा– उद्योगको इतिहास लामो छैन । तर, छोटो समयमै बजारमा प्रभाव राम्रो छ । गुणस्तरीयतामा कुनै कमी नभएकै कारण सबैले रुचाएका छन् । रुपन्देहीको ओमसतिया गाउँपालिका–५ मा उद्योग रहेको शनसाइन फूड्स प्रालिले विगत तीन वर्षदेखि ‘माया ब्रान्ड’का विभिन्न खाने तेल उत्पादन गर्दै आएको छ । छोटो समयै बजारमा आफूलाई अब्बल सावित गरिरहेको ‘माया’ तेल उपभोक्ताको भान्सामा खुबै रुचाइएको छ ।
उद्योग निर्माण थाल्दाको समय जटिल थियो । नेपाल मात्रै होइन्, विश्व नै कोरोना महामारीका कारण आक्रान्त थियो । यही आक्रान्त समयमा यो उद्योग खोल्ने योजना बनेको उद्योगका अध्यक्ष मोहन बनियाँ बताउँछन् । ‘कोरोनाको समयमा खाद्यान्नको केही व्यवसाय थालौं भन्ने सोंच आयो, मेरा साथीहरुले पनि भैरहवा क्षेत्रमा खाने तेल उद्योग खोले राम्रो चल्छ भन्नु भयो’, बनियाँ भन्छन्, ‘परिवारको साथ र सक्रियता, साथीभाइको सल्लाह र मेरो सोंचले आज सार्थकता पाएको छ ।’
मोहनका जेठो छोरा अनमोलले अमेरिकामा आइटी पढेका छन् । ‘मलाई छोराले अमेरिकामा पढेर उतै बस्छ की भन्ने चिन्ता थियो, जसरी हुन्छ छोरालाई नेपाल बोलाएर यतै उद्यममा जोड्नुपर्छ भन्ने थियो’, उनले भने, ‘माया तेल उद्योग खोलेपछि त्यो इच्छा पनि पूरा भएको छ । अहिले छोराले उद्योग सम्हालिरहेको छ । यसबाट खुशी छु ।’
उद्योग खोल्दा सुरुको समयमा लकडाउन थियो । ‘त्यसबेला निकै कठिनाइ भयो, सुरु गरुँ की छाडौं भन्ने’, मोहन भन्छन्, ‘बैंकको व्याज उच्च बिन्दुमा थियो, विभिन मुलुकहरुमा द्वन्द्व, मेसिनहरु ल्याउन कठिन, मानिसहरुको आवतजावत पनि केही नभएको अवस्था थियो । तर, आँट गरेँ अनी सफल भएँ ।’ तत्कालीन समयमा सरकारको स्थिरता, व्याजदरमा कमी, बजार खुला भए पछि कामलाई निरन्तरता दिएको उनी बताउँछन् । उनले कठिन अवस्थामा सुरु गरेको उद्योग सोंचेअनुसार संचालन गर्न नसके पनि दुखी हुने अवस्था पनि नभएको बताए ।

विश्वविख्यात जापानी प्रविधि जडान गरिएको उद्योग प्रविधिमैत्री छ । जसले गर्दा स्वदेशसँगै भारतीय बजारमा समेत राम्रो प्रभाव छाडेको छ । ‘माया’ ब्रान्ड अन्तर्गत कम्पनीले उपभोक्ताको भान्सालाई लक्षित गरी मुख्य ४ प्रकारका प्रशोधित खाने तेलहरु उत्पादन गर्दै आएको छ । सोयाबिन तेल, सनफ्लावर तेल, तोरीको तेल र पाम तेल यसका उत्पादनहरु हुन् । सबै तेल ‘माया ब्रान्ड’मा उत्पादन हुन्छन् ।
‘सबै ब्रान्डका तेल उत्पादनमा अटोमेटिक मेसिनको प्रयोग हुने गरेको छ, जहाँ सबै प्याटेकहरु हातले भन्दा नि मेसिनको प्रयोग गरी बनाइन्छ’, अध्यक्ष बनियाँ भन्छन्, ‘हामीले रोजगारी सिर्जनासँगै प्रविधिलाई पनि जोड दिएका छौं ।’
माया ब्रान्डका तेह नेपालमा मात्र नभएर छिमेकी मुलुक भारतमा निर्यात हुने गरेको छ । ‘भारतमा दैनिकी ८० टन हाराहारी तेल निर्यात हुँदै आएको छ’, उनले भने, ‘नेपालका विभिन्न जिल्लाहरुमा राम्रो मार्केट छ ।’ नेपाली बजारमा तेलको माग पनि बढ्दो अवस्थामा रहेको वनियाँ बताउँछन् । बाँके, गुल्मी, बर्दिया, सुर्खेत, रोल्पा, काठमाडौं लगायतका ठाउँमा झन बढी राम्रो माग छ । ‘लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा माया ब्रान्ड उपभोक्ताले मन पराउनु भएको छ’, उनले भने, ‘नेपालका धेरै जिल्लामा हाम्रो उत्पादन जाने गरेको छ । यसको ब्रान्ड बाउन पनि हामीले सस्तोमा तेल बजारमा पठाएका छौं ।’
उनले मधेश प्रदेशका भागहरुमा भने प्रतिस्पर्धा गर्न निकै गाह्रो भएको बताए । ‘किन भने मधेश तेल उत्पादनको हब भएकाले गाह्रो भएको हो । अर्काे कुरा वीरगंजदेखि कोलकता नजिक छ । सबै कच्चा पर्दाथहरु कोलकताबाट आउने गरेको छ । त्यसपछि ड्राइपोटमा आउँछ र ट्रेनमा सिधै नेपाल आउने गरेकाले गर्दा हामीहरुलाई गाह्रो पेरेको हो’, उनले भने, ‘यहाँ कच्चा पदार्थ ल्याउँदा ढुवानी खर्च धेरै छ । होइन भने नेपालका धेरै जसो जिल्लाहरुमा तेल पठाएर प्रतिस्पर्धा गर्न सकिन्थ्यो ।’

उद्योगमा प्रयोग गरेका मेसिन फरक–फरक देशबाट ल्याएको उनले बताए । ‘जापान, स्विडेन र भारतका अत्याधुनिक उपकरण प्रयोग गरेकाले तेल पनि गुणस्तरीय उत्पादन हुँदै आएको छ’, उनले भने, ‘त्यही कारण मेसिनमा कुनै समस्या आएको छैैन । आजसम्म बजार र उपभोक्ताबाट पनि कुनैै किसिमको गुनासो आएको छैन ।’ उनले आफूहरुले गुणस्तरमा कहीकतै कमी आउन नदिने बताए । ‘यदि कुनै गुनासाहरु आइहाले भने हामी गुनासालाई हल गर्दै जाने छौं’, उनले भने, ‘मेरो घरको भान्सामा माया तेल नै प्रयोग गरी साँझ–बिहानको खाना पाक्छ, त्यसैले ढुक्क भएर उपभोक्तालाई प्रयोग गर्न मेरो आग्रह छ ।’
उनले आफूहरुले सधैं यही तेल प्रयोग गर्ने भएकाले गुणस्तर र बजारमा कस्तो तेल गइरहेको छ भन्ने कुरा पनि जानकारी लिइरहेको सुनाए । उद्योग स्थापनादेखि विभिन्न समस्या झेल्दै आए पनि अहिले सरकार स्थिर बनेकाले आशा पलाएको बनियाँले सुनाए । ‘स्थिर सरकार भएकाले अब छिनछिनमा नीति परिवर्तन हुँदैन भन्ने लागेको छ, पाँच वर्षसम्म त्यसैले खुसी छु’, उनले भने, ‘यसैले बजार विस्तारलाई व्यापकता दिने तयारीमा छौं ।’
उनले यो सरकारबाट धेरै नै आशा राखेको सुनाए । ‘भारतमा मैले एक महिना जति उत्पादन पठाउन सकिनँ, किनभने ल्याब परीक्षण गराउन पर्छ, जुन गाजियाबादमा छ । त्यो पनि दश दिन लाग्छ’, उनले भने, ‘यही समस्याले गर्दा हामीले अली दुःख पएका छौं । यसमा सरकारले कुटनीतिक पहल गरेर सहजीकरण गरे हुन्थ्यो भन्ने लागेको छ ।’
भारतमा लामो समय लाग्दा त्यहाँको पार्किङ र ढुवानी शुल्क, सामान बिग्रिने हो कि भने डर, कतै चोरी हुने हो की भने चिन्ता हुने उनी बताउँछन् । तर, पनि समस्यासँग जुध्दै ‘माया’लाई नेपाल–भारतका नागरिकको मनमनमा बसाउन लागिपरेको उनी जनाउँछन् । ‘छोराहरुको मिहेनत, कर्मचारीहरुको लगनशीलता, परिवारको साथ र आम उपभोक्ताको मायाले ‘माया ब्रान्ड’ले बजार राम्रो पाइराखेको छ’, उनी भन्छन्, ‘सबैको साथले यहाँसम्म आएका छौं । आगामी दिनमा अझै परिस्कृत गर्दै राम्रो छाप छाड्ने कोसिसमा छौं ।’

उद्योगमा तीन सय हाराहारीमा रोजगाररत छन् । यस उद्योगको प्रशोधन प्लान्ट आधुनिक प्रविधिको छ र यसको दैनिक उत्पादन क्षमता पनि राम्रो छ । संचालकका अनुसार सोयाबिन र पाम तेल प्रतिदिन एक सय टनसम्म प्रशोधन हुँदै आएको छ । यस्तै, सनफ्लावर प्रतिदिन ५० टनसम्म र तोरीको तेल प्रतिदिन २५ टनसम्म उत्पादन हुँदै आएको छ । उद्योगले तेल उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ भारत लगायत विभिन्न मुलुकहरुबाट आयात गर्दै आएको छ ।








लेखकको सम्वन्धमा