लोग्नेले थापेको पासोमा परिन् श्रीमती


गुल्मी–जङ्गली जनावर बँदेल नियन्त्रणका लागि थापिएको विद्युतीय पासोमा परेर गुल्मीमा एक महिलाले ज्यान गुमाएकि छन् ।
गुल्मीको धुर्कोट गाउँपालिका–५, मन्टारीमा उक्त घटना घटेको हो । उक्त पासो मृतकको लोग्नेले थापेको भनाइ प्रहरीको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, मृत्यु हुनेमा स्थानीय ६० वर्षीया हुमकला भण्डारी रहेकी छन् ।
गए राति करिव साढे १ बजे विद्युतीय पासोमा परी भण्डारी गम्भीर घाइते भएको र तत्काल उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएको भए पनि राति नै चिकित्सकले उनलाई मृत घोषणा गरेको गुल्मीका एसपी भीमकिरण बोगटीले बताएका छन् ।
बोगटीका अनुसार, मृतकका श्रीमान् भेषराज भण्डारीले जङ्गली जनावर बँदेलबाट बालीनाली जोगाउनका लागि आफ्नो घरभन्दा करिब १५० मिटर टाढा रहेको बारीमा बिजुलीको पोलबाट सिधै करेन्ट प्रवाह गरेर बिद्युतीय पासो थापेका थिए ।
जङ्गली जनावर नियन्त्रण गर्ने उद्देश्यले करेन्ट प्रवाह गरिएको भए तापनि यसले मानवीय क्षति निम्त्याएको छ । घटनाको अनुसन्धानका लागि मृतकका श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








प्रतिकृया दिनुहोस्