June 30, 2026, Tuesday
२०८३ असार १६ मंगलवार

कपिलवस्तु कारागारका कैदीबन्दीलाई बोरामा हालेर कुटपिट गरेपछि तनाव

Advertisement

कपिलवस्तु– नेपालका कारागारमा बेलाबेलामा झडप र कुटपिटका घटना भइरहेका हुन्छन् । कारागार भित्र झडपका कारण हत्या–हिंसा समेत हुने गरेका छन् । यसैक्रममा जिल्ला कारागारमा शनिवारबाट कैदीबन्दीबीच झगडाले तनाव भइरहेको छ ।

Advertisement

कपिलवस्तु कारगारको २ नम्बर ब्लक शनिवारदेखि अशान्त छ । त्यहाँ कैदीबन्दीबिच झडप हुँदा तनाब बढेको हो । उक्त ब्लकका चौकीदारले कैदीबन्दीलाई बोरामा हालेर कुटपिट गरेपछि तनाव भएको हो । प्रहरीका अनुसार चौकिदार दामोदर थारुसहित मूल नाइकेको समूहले शनिबार ४ जना कैदी बन्दीलाई बोरामा हालेर निर्घात कुटपिट गरेका थिए ।

उक्त घटनालाई कारागार प्रशासनले बेवास्ता गरेको भन्दै अन्य कैदीबन्दी आन्दोलित बनेका थिए । आन्दोलित कैदीबन्दीले कुटपिटमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर कारागारको २ नम्बर ब्लकका राख्नु परेको आन्दोलित कैदीबन्दी नारायण वलीले बताए ।

उनका अनुसार २ नम्बर ब्लकका मूल नाइके केयरसिंह खत्री, सह नाइके विजय खत्री र अर्जुन थारुलाई बन्धक बनाएर राखिएको थियो । आफूहरुले सोमबार दिउसोबाट तीन जनालाई नियन्त्रणमा लिएर राखेको उनले बताए । घटनापछि प्रहरीले बाहिरी सुरक्षा ब्यवस्था कडा बनाएको थियो । समस्या समाधानका लागि छलफल गरिएको जिल्ला प्रहरी कार्यायकका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।

तर, प्रहरी कारागार छिर्न सकेको थिएन । त्यसैले छलफलका क्रममा पनि कैदीबन्दी भित्र र प्रहरीले बाहिरबाटै संवाद गरेका थिए छन् । आन्दोलित कैदीबन्दीको माग अनुसार पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसालको रोहबरमा सोमबार राति नाइकेलाई अर्कै घरमा सारिएको थियो ।

कारागार चौकिदार थारुको समूहले कैदीबन्दी मोहम्मदहनिफ मुसलमान, सुजन बिक, निरज कार्की तथा हबिबुर रहमानलाई निर्घात कुटपिट गरेपछि विवाद बढ्दै गएको थियो । त्यसलगत्तै २ नम्बर ब्लकमा कैदीबन्दीको समूहवीच आइतबारदेखि नै बिवाद सुरु भएको थियो । कपिलवस्तु कारागारका २ वटा ब्लकमा गरी करिब ४ सय कैदीबन्दी छन् ।