June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

गर्मी बढेपछि नेपालगन्जमा तीन दिनसम्म बिद्यालय बन्द

Advertisement

नेपालगन्ज–बढ्दो गर्मीसंगै बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि नेपालगन्जका विद्यालयहरू बुधवारदेखि पुनः तीन दिनका लागि बन्द गरिएका छन् ।

Advertisement

नेपालगन्ज उपमहानगरपालिकाले, अत्यधिक गर्मीले पठनपाठनमा समस्या भएपछि विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरेको हो । शुक्रबारसम्मका लागि बिद्यालय बन्द रहने उपमहानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्रबहादुर शाहीले जानकारी दिए ।

यसअघि पनि अत्यधिक गर्मीका कारण नेपालगन्ज उपमहानगरपालिकाले गत जेठ २६ देखि २९ गतेसम्म चार दिन विद्यालयमा बिदा दिएको थियो । तर वर्षा नपरेपछि गर्मी अझै बढ्न थालेपछि जनजीवन प्रभावित बनेको र पुनः बिदा दिनु परेको उनले बताए ।

अत्यधिक गर्मीका कारण विद्यार्थीलाई विद्यालय आवतजावतमा कठिनाइ भई स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिमलाई मध्यनजर गर्दै जल तथा मौसम विज्ञान विभागलगायत सरोकारवालाको सुझावका आधारमा तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले नगरभित्रका धेरै अभिभावकले विद्यालय बिदा गर्न आग्रह गरेकाले पनि बिद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।