भारतीय व्यापारीले नेपालमा गर्ने अवैध कारोवार रोक्न स्वदेशी व्यवसायीको माग


भैरहवा–पछिल्लो समयमा नेपाली ठूला होटलहरुमा भारतीय नागरिकहरुद्वारा हुने फस्टाउदो बिवाह ब्रतबन्ध जस्ता ‘डेस्टिनेशन विडिङ’ कार्यक्रमका लागि आउने भारतीय व्यवसायीले अवैध रुपमा गर्ने व्यवसायले नेपालको टेन्ट व्यवसाय संकटमा पर्न थालेको छ ।
न्यून भन्सार धरौटीमा भारतीय व्यवसायीले टेन्ट, क्याटरिङ, साउण्डबक्स, फूल, लाइट, फर्निचर लगायत्का सजावटका सामाग्री नेपाल भित्राएर अवैध रुपमा व्यवसायिक कारोवार गर्न थालेको दाबी स्वदेशी व्यवसायीको छ ।
नेपाल इभेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष किरण कुमार श्रेष्ठले भारतीय टेन्ट व्यवसायीले न्यून भन्सार धरौटी राखेर नेपालमा आएर व्यवसायिक कारोवार गर्ने गर्नेमात्र नभएर फिर्ता लैजानु पर्ने सामान नलगेर अवैध रुपमा समेत कारोवार गर्ने गरेको बताए । ‘यस खालको कोरोवारले नेपाली व्यवसायी संकटमा पर्न थालेका छौं’ श्रेष्ठले भने, ‘यस खालको कारोवारले नेपालमा बैध नेपाली व्यवसायी संकटमा पर्न थालेका छौं ।’ यस खालको नियन्त्रण गर्नका लागि नेपाल इभेन्ट व्यवसायी संघ रुपन्देहीले भैरहवा भन्सार, रुपन्देही प्रशासन, प्रहरी लगायत्का सरोकारवाला निकाय समक्ष लिखित माग गरिएको जनाउदै उनले यस्ता गतिबिधि नरोकिएमा नेपाली व्यवसायीले भारतीय व्यवसायीसंग प्रतिष्पर्धा गर्न नसकेर बिस्थापीत हुने बताए ।
व्यवसायीका अनु्सार, ‘डेस्टिनेशन विडिङ’ का कार्यक्रमका लागि भारतीय व्यवसायीले १० प्रतिशतमात्र भन्सार धरौटी राखेर टेन्ट लगायत्का सवै सामाग्री नेपाल भित्राएर व्यवसायीक कारोवार गर्ने गर्छन् । फर्किदा आधा भन्दा धेरै सामान नेपालतर्फ नै कुनै गोदाममा राखेर थोरै सामानमात्र लिएर फर्किन्छन् । भन्सार धरौटी सवै फिर्ता लिन्छन् । नेपालमैं गोदाममा राखेका सामाग्रीको प्रयोग गरेर व्यवसायीक कारोवार गर्ने गर्छन् । जसका कारण भन्सार धरौटीपनि राख्नु पर्दैन । न नेपाली व्यवसायीले जस्तो आय कर लगायत्का कर सरकारलाई बुझाउनु पर्छ । यस्ता अवैध गतिबिधि बारे नेपालका सरोकारवाला निकायहरु बेखबर छन् । भन्सार धरौटी राखेर नेपाल छिराइएको अनुरुपका सामान फर्किदा भन्सार नाकामा चेकजांच नहुदा यस खालको अवैध गतिबिधिले पश्रय पाउने गरेको हो ।

उनीहरुले भन्सार धरौटी राखेर नेपाल भित्राएको अनुरुप सामान फिर्ता लैजान्छन् की लैजान्नन् भन्ने वारेमा भन्सार नाकामा कडाइ गरेर खनतलासी गर्नु पर्ने भनाइ भैरहवास्थित पटवा टेन्ट हाउसका सञ्चालक चन्द्र मोहन पटवाको छ । ‘बिवाह ब्रतवन्धका वेला भारतबाट ट्रकका ट्रक यस्ता समागी नेपाल भित्रिने गर्छन्’ पटवाको दावी छ ।
यस खालको गतिबीधिले नेपाली पैसा बाहिरिने गरेको, नेपाल सरकारले कुनै राजश्व प्राप्त नगर्ने, कामदार समेत उतैबाट ल्याउदा नेपाली कामदार बेरोजगार हुने क्रम बढेको भनाइ उनको छ ।
‘भारतीय व्यवसायीले न्यून भन्सार धरौटीमा व्यवसायिक प्रयोजनका लागि यस्ता सामान भित्राउदा कम्ती ५० प्रतिशत रकम नेपाल सरकारको खातामा जानु पर्ने नियम बनाइनु पर्छ’ पटवाले भने, ‘वा फिर्ता नलगिएको सामान नेपाल सरकारले जफत गर्नु पर्छ ।’
‘डेस्टिनेशन विडिङ’ को नाममा भारतीय व्यवसायीले टेन्ट, क्याटरिङका सामानका साथमा नेपालमा प्रतिबन्ध रहेको प्लाष्टिकका फूल र बेहुला बेहुलीलाई राख्ने मोडाफाइ गरिएको गाडी समेत भित्राउने गरेको दावी नेपाली व्यवसायीको छ । सजावटका लागि प्राकृतिक फुलपनि बिना क्वारेन्टाइन भारतीय व्यवसायीले भित्राउने र नेपाली व्यवसायीले ल्याउनु पर्दा विभिन्न झन्झटिलो प्रकृया रहेको आरोप स्वदेशी व्यवसायीको छ ।
गोदाममा छापा
नेपाली व्यवसायीको आग्रहमा भारतीय व्यवसायीले टेन्ट, क्याटरिङ, सजावट लगायत्का सामाग्री राखेको गोदाममा छापा मारेर ठूलो परिमाणमा नियन्त्रणमा लिएको छ । रुपन्देही प्रहरी, आन्तरिक राजश्व कार्यालय, भैरहवा भन्सार कार्यालयका कमृचारीको संयुक्त टोलीले भैरहवा भन्सार कार्यालय नजिकै सिद्धार्थनगर नपा–१ बेलहियास्थित होटल माहादेवको परिसरमा तीनवटा गोदाममा राखिउका ती सामाग्री नियन्त्रणमा लिइएको हो ।
भैरहवा भन्सार कार्यालयका अकिृत तथा सूचना अधिकारी उद्धव ढुंगानाले यूता सामाग्री नेपाल ल्याउदा सामान हेरे १० देखेर २५ प्रतिशतसम्म धरौटी रकम राख्नु पर्ने प्रावधान रहेको बताए । धरौटी राख्दा तोकिएको निश्चित समय भित्र सामान फिर्ता लैजानु पर्ने प्रावधान रहेको भैरहवा भन्सार नाकाबाट खासै धेरै परिमाणमा यस्ता सामाग्री नेपाल नआएको उनले बताए ।

व्यवसायीद्वारा विभिन्न निकायमा ज्ञापनपत्र
भारतबाट न्यून धरौटीमा नेपालमा भित्रने गरेको यस्ताप्रति निगरानी राखी यस्ता कार्यलाई नियन्त्रण गर्न रुपन्देही इभेन्ट व्यवसायी संघले विभिन्न निकायमा ज्ञापनपत्र बुझाएका छन् । संघले रुपन्देही जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र भैरहवा भन्सार कार्यालयमा ध्यानाकर्षगराउँदै ज्ञापनपत्र पत्र बुझाउदै यस्ता गतिविधि रोक्न आग्रह गरेका छन् । बिहीवार उनीहरुले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा सुनौली नाका हुँदै टेन्ट, लाइट, साउण्ड, फर्निचर लगायतका सामग्री भारतीय व्यवसायीहरूले न्यून धरौटीमा नेपाल भित्र्याएर व्यवसाय सञ्चालन गर्दा नेपाली व्यवसायीहरू प्रत्यक्ष प्रभावित भएको उल्लेख गरिएको छ ।
नेपालमा विधिवत् दर्ता भई कर तिर्दै व्यवसाय सञ्चालन गरिरहेका स्थानीय व्यवसायीहरू असमान प्रतिस्पर्धामा पर्न बाध्य भएको भन्दै राज्यको राजस्वसमेत प्रभावित हुने अवस्था सिर्जना भएको जनाइएको छ ।








प्रतिकृया दिनुहोस्