प्रतिनिधिसभामा गुन्जिएको ‘भैरहवाको फोहोर’


भैरहवा– सिद्धार्थनगर नगरपालिका फोहोर छ । यसो भन्दा मन कटक्क खान्छ । सिद्धार्थ बुद्धकालीन नाम हो । बुद्धसित जोडेर फोहोरको बखान गर्न उचित लागेन । त्यसैले भैरहवाका बासिन्दाले उत्सर्जन गरेको ‘भैरहवाको फोहोर’ हो । अहिले हामी फोहोरी भएका छौं । किन भने घर, आँगन, सडक, चोक, चौतारा जताततैं फोहोर देखिन्छ । धेरै ठाउँमा असरल्लै छ । कति ठाउँमा सम्हालेर बोरा वा प्लाष्टिकमा राखिएको छ । बोरा र प्लाष्टिक भित्र रहेको पनि फोहोर त फोहोर नै हो । यसमा कुनै द्विविधा छैन । फरक छैन । अब त सबैले मान्नु पर्छ हामी फोहोरी हौं ।
भैरहवाका बासिन्दा फोहोरी भएको, सिद्धार्थनगर नगरपालिका फोहोर भएको स्वीकार्न जनप्रतिनिधिलाई गाह्रो छ । उनीहरुका समर्थकलाई धौं परेको होला । कर्मचारीलाई पनि फोहारी लाग्दैन होला । तर, आम नगर फोहोर छ । नगरबासी फोहोरी भएका छन् । यो सत्य हो । फोहोर दुर्गन्धित छ । बजारमा हिंडडुल गर्नेले नाक छोप्नु पर्ने बाध्यता छ । विहानी हिंडाईका बेला नगरका मुख्य सडकमै फोहोर छलेर हिंड्नु पर्ने बाध्यता छ । कति ठाउँमा फोहोरका पोका फुटाएर कागले लुछिरहेको देखिन्छ । कतै बस्तुभाउले फोहोरमा मुख चोबलेको देखिन्छ । वास्तवमा सहरमा जताततै फोहोर छ । देख्नेले नदेखै झैं गरेर हाम्रा जनप्रतिनिधिको लाचारी छोपिदिनु परेको छ ।
जनप्रतिनिधि–कर्मचारीसित दुखेसो गर्ने नागरिकले समाधानमुखी जवाफ पाउन सकेका छैनन् । फोहोर फ्याँक्ने ठाउँको अभावले नकुहिने फोहोर संकलन गरेर कुहिने घरमै छाड्ने गरिएको छ । नकुहिने फोहोर संकलनका माध्यामबाट सहर सफा बनाउने लक्ष्य छ । तर, यो दीर्घकालीन उपाय हो त ? पक्कै होइन । अलिकति करेसाबारी हुने, आसपास खाली जमिन भएकाहरुले त ठाउँ खोजेर नकुहिने फोहोर व्यवस्थापन गर्लान । जसको घर आसपास खाली जमिन छैन । अर्थात् नकुहिने फोहोर लगेर फ्याँक्ने ठाउँ नहुनेहरुलाई त्यै कुहिने फोहोर पनि घाँडो भएको होला । अनि नकुहिने फोहोर लगेर फ्याँक्ने ठाउँ पनि त छैन ।
अहिलेसम्म नगरभित्र बहस र आलोचनाको विषय भएको भैरहवाको फोहोरबारे बिहीबार प्रतिनिधिसभा बैठकमा समेत आजाव उठेकेको छ । रुपन्देही–३, का सांसद डा.लेखजंग थापाले मुलुक प्रवेशद्वारका रुपमा रहेको सिद्धार्थनगरमा असरल्ल फोहोरले लज्जित तुल्याइरहेको बताए । उनी चिकित्सक हुन् । त्यसैले पनि फोहोर व्यवस्थापन नहुँदा रोगको संक्रमण फैलिने चिन्ता व्यक्त गरे । महामारीको खतरा रहेको औल्याए ।
भैरहवा भएर भारतीय र तेस्रो मुलुकका पर्यटक मुलुक भित्रिन्छन् । अझ गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रवेशद्वार पनि भैरहवा हो । फोहोरले सहर कुरुप तुल्याएर पर्यटक र सर्वसाधरणलाई मर्कामा मात्र पारेको छैन । रोग–व्याधीको जोखिम बढाएको छ । यस्तो अवस्थाबारे संघीय सांसदले चिन्ता व्यक्त गरेको देखियो । तर, यहीँका जनप्रतिनिधि तै चुप, मै चुप तरिकाले बसिरहेका छन् । उनीहरुलाई कुनै चटारो छैन ।
फोहोरबारे जिज्ञासा राख्दा पनि जनप्रतिनिधिको अनौंठो जवाफ सुनिन्छ । फोहोर फ्याँक्ने ‘ल्याण्डफिल साइट’ निर्माणका लागि जग्गा अभाव छ । त्यो जग्गा स्थानीय स्तरमा खोज्न सम्भव नभएको सुनाउँछन् । साथैं जग्गा व्यवस्थापनका लागि संघीय सांसदले पहल गर्नुपर्ने उनीहरु बताउँछन् । यहाँ फोहोर व्यवस्थापन नभएर सिद्धार्थनगरबारे नकारात्मक चर्चा मुलुकभर फैलिसक्यो । तर, सिद्धार्थनगरका जनप्रतिनिधिलाई कुनै ‘तातो’ छैन ।
उनीहरु दीर्घकालीन फोहोर व्यवस्थापनबारे सोचिरहेका देखिँदैनन् । बरु अल्पकालीन व्यवस्थापन गरेर उम्किने मेसोमा देखिन्छन् । यसबारे नगर प्रमुखलाई सोध्यो भने प्रयास गरिरहेको तर, आवश्यक साथ सहयोग नमिलेको बताउँछन् । उपप्रमुख यसका लागि ‘नगर पिता’ले पहल गर्नुपर्ने बताउँछिन् । बाँकी जनप्रतिनिधि पनि फोहोर व्यवस्थापनका लागि अग्रसर भएको देखिँदैंन् । यस्तो बेला ‘भैरहवाको फोहोर’ व्यवस्थापन केवल चर्चामा हुने सम्भावना बढ्दै गएको छ । वर्षात लागिसक्यो । एक ठाउँको फोहोर बगेर अर्को ठाउँ पुगिरहेको छ । यसले पनि यो बर्खामा भैरहवामा महामारीको खतरा हुनसक्छ । घना वर्षात अगाडि नै केही गर्न सकिनेबारे सोच्ने कि ? सबैले प्रश्न गरिरहेका छन् ।








प्रतिकृया दिनुहोस्