June 9, 2026, Tuesday
२०८३ जेष्ठ २७ बुधबार

नकारात्मक सोंचलाई त्यागौँ

Advertisement

हिजो रुपन्देही क्रिकेट संघको अधिवेशनबाट सदस्यमा निर्वाचित हुनुभएकी मेरो प्रिय बहिनी, सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा अधिकारीलाई लिएर गरिएका टिप्पणी देखेर मन साह्रै दुःखी भएको छ । र, एउटी संघर्षशील खेलप्रेमी महिलालाई हतोत्साहित गर्न खोजिएको हो कि भन्ने लागेको छ ।

Advertisement

उमा अधिकारी कलेज जीवनमा मेरो जुनियर र मेरो आन्टीको छोरी (बहिनी) को मिल्ने साथी भएकीले सुरुदेखि नै आफ्नै बहिनी जस्तै मानेको छु । बहिनीलाई प्रहार हुँदा चुप बस्नु दाइको कर्तव्यबाट विमुख हुनु हो । बहिनीको खेलप्रतिको जुनुन लामो छ । उहाँ जिल्ला खेलकुद र प्रदेश खेलकुदको सदस्य हुँदै विशेषतः रुपन्देहीको महिला क्रिकेटको विकासमा सबैभन्दा ठूलो योगदान गर्ने पात्र हुनुहुन्छ । उहाँले विगत १५ वर्षदेखि महिला टोलीको व्यवस्थापकको रूपमा कैयौं पटक जिम्मेवारी निर्वाह गर्नुभएको तथ्य लुकाएर प्रहार हुनु दुःखदायी हो ।

उहाँ २०७८ सालको रुपन्देही क्रिकेट संघको अधिवेशनबाट निर्विरोध महिला सदस्य निर्वाचित हुनुभएको थियो भने २०७९ मा उपमेयर हुनुभएको थियो । उहाँले उपमेयर भएकै कारणले खेलप्रतिको समर्पण त्याग्नुपर्ने हो भने भन्नु केही छैन, तर एउटी महिलालाई यसरी गरिएको प्रहारप्रति मेरो घोर आपत्ति रहेको छ ।

नेपाली क्रिकेटमा र विशेषतः नेपाल क्रिकेट संघमा महिलाहरूको न्यून सहभागिता रहेको अवस्थामा उमा अधिकारी नेपाली क्रिकेटलाई रुपन्देहीबाट हाँक्न सक्ने सम्भावना भएकी पात्र पनि हुनुहुन्छ भन्ने हेक्का पनि राखौँ, नकारात्मक टिप्पणी गर्नुभन्दा पहिले ।

अझ रोचक कुरा त के छ भने नेपालमा जिल्ला र प्रदेश क्रिकेट संघहरूमा कति मेयर, उपमेयर, वडाध्यक्षहरू र प्रदेशका मुख्यमन्त्रीहरू समेत रहनुभएको छ । यसलाई उहाँहरूको पदप्रतिको लोभभन्दा पनि खेलप्रतिको प्रेमको रूपमा बुझेको छु ।

हिजोको चुनावमा उपमेयरको रूपमा सिद्धार्थनगर पालिकाबाट सिद्धार्थ रंगशालाको स्तर उन्नतिको निम्ति र रुपन्देही क्रिकेट संघका कार्यक्रमलाई ठूलो सहयोग पुर्याउँदै आउनुभएकी उमालाई जसरी पनि हराउनुपर्छ भन्ने सोचका साथ एउटी खेलिरहेकी बहिनीलाई उठाइएको देख्दा अचम्मित भएको थिएँ । उक्त कदमले ती २५–२६ वर्षकी उत्कृष्ट महिला खेलाडीको खेल जीवन समाप्त पारिएको छ । तर भित्री तथ्य बुझ्नै नखोजी खाली विरोध नै गर्नुपर्छ भन्ने सोच लिएकाहरूको फेसबुकमा लेखिदिन्छन् कि उमाले एउटी महिलाको स्थान खाइदिइन् ।

अब यसमा म आफ्नो कुरा पनि जोड्न चाहन्छु । २० वर्षको उमेरमा केही सोचका साथ २०५३ सालमा रुपन्देही क्रिकेट संघको स्थापना गराउन महत्वपूर्ण भूमिका खेल्दै संस्थापक र सहसचिव भएको थिएँ र विभिन्न कालखण्डमा चार पटक अध्यक्षको रूपमा रुपन्देही क्रिकेटलाई राष्ट्रिय पहिचान दिलाउन खेलेको भूमिका यहाँहरूसमक्ष स्पष्ट नै छ ।

चारैतिर सोधियो– चार पटक अध्यक्ष भएको मान्छे फेरि सदस्य किन आउनुपर्यो रे । म वास्तवमा धेरै छिटो विचलित हुने व्यक्ति होइन र त्यति प्रतिक्रिया जनाउन पनि मन पराउँदिनँ । यो मेरो विगत १६ वर्षदेखिको फेसबुक प्रोफाइल हेर्दा स्पष्ट हुने नै छ । तर म पनि सामान्य मानव नै हुँ, अति भएपछि सहन गाह्रो हुने रहेछ ।

अब लागौँ, म सदस्य किन लड्नुपर्यो ?
जब म नेपाल क्रिकेट संघको उपल्लो पदमा पुगेको थिएँ, मैले क्षेत्रीय क्रिकेट विकास समिति, हालको प्रदेश संरचनाको अध्यक्ष पद त्याग गरेर अन्य साथीहरूलाई मौका दिएको थिएँ । जिल्ला संघको अध्यक्ष पद त्यागेर केही गर्छु भन्ने सोचका पात्रलाई स्थापित गर्न भूमिका खेलेको थिएँ र आफूले केन्द्र बाहेक सबै ठाउँबाट बिदा लिएको थिएँ । तर त्यो त्यागको उल्टै प्रहार ममाथि हुन गयो ।

नेपालका प्रायः सबै संघ–संस्थाहरूमा संघका साधारण सदस्यहरूलाई उपल्लो निकायमा प्रतिनिधि पठाउन रोक छैन र नेपाल क्रिकेट संघको विधानले पनि यो कुरामा रोक लगाएको छैन । तर २०८२–०५–२५ गते हुनलागेको लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारण सभाका लागि सर्वसम्मत रूपमा मलाई प्रतिनिधि चयन गरेर पठाइएको थियो । त्यसपछि केन्द्रदेखि जिल्लासम्म प्रशान्तविक्रम मल्ललाई सकाउनुपर्छ भन्ने विचारधाराका मानिसहरूले मलाई रोक्न अवैधानिक रूपमा केन्द्रबाट २०८२–०५–१९ मा “प्रशान्त मल्ललाई रोक” भन्ने पत्र पठाउन लगाए ।

यति मात्रै नभएर २०८२–०६–२० गते हिजो अध्यक्ष, उपाध्यक्ष र सदस्यमा पराजित तथा विजयी केही पात्रहरूले मलाई रोक्न भनेर निवेदन दर्ता गराएका थिए । अनि उल्टै “प्रशान्त किन सदस्य उठेको ?” भनेर प्रश्न गरियो । लाज पनि लजाउने खालको व्यवहार भयो । हिजो विजयी भएका एक जना भाइले अधिवेशन स्थलमै “किन सदस्य लड्नुभएको ?” भनेर सोधे । मैले नै सोधेँ– “मेरो विरुद्ध किन निवेदन दर्ता गराउनुभयो ?” तर उहाँसँग कुनै जवाफ थिएन ।

मलाई पनि आफू सदस्य उठेर अर्को सम्भावना भएको व्यक्तिको ठाउँ रोक्न पुगेकोमा मन खुशी छैन । मेरो हिजोसम्मको स्थिति हेर्ने हो भने सोही स्थितिमा नेपाली क्रिकेटमा प्रदेश अध्यक्ष, केन्द्रीय सदस्य, प्रदेश सदस्यहरू समेत रहिरहनुभएको छ, तर कसैलाई वास्ता छैन । तर प्रशान्त मल्ल बाघ त होइन नि, खाइदिने । किन यति धेरै डर मसँग ?

अब यो चुनावपछि “प्रशान्त मल्ल सकियो, म जितेपछि तीन महिनामा सकाइदिन्छु” भन्ने कुरा पनि सुनियो । उफ ।

तर हामी क्रिकेट विकासमा जीवन समर्पण गरेका मान्छे हौँ र जसले क्रिकेटलाई माया गर्छ, त्यो जो भए पनि आफ्नै ठान्ने छौँ र साथमा लिएर हिँड्ने छौँ ।

यो रुपन्देहीको चुनावलाई राष्ट्रिय चासोको विषय बनाइयो । यता राष्ट्रिय छवि भएका व्यक्तित्व थिए भने अर्कोतिर जिल्ला क्रिकेट संघहरूमा नवीन कार्यहरूको सुरुवात गरेर आफ्नो अलग पहिचान स्थापित गरेका व्यक्तित्व थिए । मतदाता पनि क्रिकेट बुझ्ने अम्पायर, प्रशिक्षक, खेलाडी, क्लब चलाएका र समितिमा बसेका सचेत मानिसहरू थिए । उहाँहरूले गरेको निर्णयलाई गलत भन्नु रुपन्देहीका सम्पूर्ण क्रिकेटमा जीवन समर्पण गरेका व्यक्तिहरूको अपमान हुनेछ ।

अन्त्यमा, हिजो खसेको ११९ मतमध्ये प्राप्त ८९ मत, दुई मत बदर नभएको भए ९१ मत दिनुहुने रुपन्देही क्रिकेटका सम्पूर्ण मतदाताहरूप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछु । साथै “प्रशान्त रुपन्देही क्रिकेटको मुटु हो, रुपन्देही प्रशान्तको हो” भन्ने अभूतपूर्व समर्थन गरिदिनुभयो र एक किसिमका बाह्य हस्तक्षेपकारीहरूलाई मतमार्फत चेतावनी दिनुभयो, त्यसका लागि कृतज्ञ रहेको छु ।

मलाई मत दिने कुरामा सबै बाधा–बन्धन तोडियो, कुनै पक्ष–विपक्ष रहेन । रुपन्देहीका सम्पूर्ण क्लबहरू, विशेषतः तिरुपती क्लब, मेरा आदरणीय दाजु बसन्त शाही तथा रुपन्देहीको सबैभन्दा ठूलो र ऐतिहासिक क्लब लुम्बिनी खुकुरी क्लबलाई हृदयदेखि नै आभार व्यक्त गर्दछु ।

(यो विचार मल्लको फेसबुक स्टाटसबाट साभार गरिएको हो ।)