नकारात्मक सोंचलाई त्यागौँ


हिजो रुपन्देही क्रिकेट संघको अधिवेशनबाट सदस्यमा निर्वाचित हुनुभएकी मेरो प्रिय बहिनी, सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा अधिकारीलाई लिएर गरिएका टिप्पणी देखेर मन साह्रै दुःखी भएको छ । र, एउटी संघर्षशील खेलप्रेमी महिलालाई हतोत्साहित गर्न खोजिएको हो कि भन्ने लागेको छ ।
उमा अधिकारी कलेज जीवनमा मेरो जुनियर र मेरो आन्टीको छोरी (बहिनी) को मिल्ने साथी भएकीले सुरुदेखि नै आफ्नै बहिनी जस्तै मानेको छु । बहिनीलाई प्रहार हुँदा चुप बस्नु दाइको कर्तव्यबाट विमुख हुनु हो । बहिनीको खेलप्रतिको जुनुन लामो छ । उहाँ जिल्ला खेलकुद र प्रदेश खेलकुदको सदस्य हुँदै विशेषतः रुपन्देहीको महिला क्रिकेटको विकासमा सबैभन्दा ठूलो योगदान गर्ने पात्र हुनुहुन्छ । उहाँले विगत १५ वर्षदेखि महिला टोलीको व्यवस्थापकको रूपमा कैयौं पटक जिम्मेवारी निर्वाह गर्नुभएको तथ्य लुकाएर प्रहार हुनु दुःखदायी हो ।
उहाँ २०७८ सालको रुपन्देही क्रिकेट संघको अधिवेशनबाट निर्विरोध महिला सदस्य निर्वाचित हुनुभएको थियो भने २०७९ मा उपमेयर हुनुभएको थियो । उहाँले उपमेयर भएकै कारणले खेलप्रतिको समर्पण त्याग्नुपर्ने हो भने भन्नु केही छैन, तर एउटी महिलालाई यसरी गरिएको प्रहारप्रति मेरो घोर आपत्ति रहेको छ ।
नेपाली क्रिकेटमा र विशेषतः नेपाल क्रिकेट संघमा महिलाहरूको न्यून सहभागिता रहेको अवस्थामा उमा अधिकारी नेपाली क्रिकेटलाई रुपन्देहीबाट हाँक्न सक्ने सम्भावना भएकी पात्र पनि हुनुहुन्छ भन्ने हेक्का पनि राखौँ, नकारात्मक टिप्पणी गर्नुभन्दा पहिले ।
अझ रोचक कुरा त के छ भने नेपालमा जिल्ला र प्रदेश क्रिकेट संघहरूमा कति मेयर, उपमेयर, वडाध्यक्षहरू र प्रदेशका मुख्यमन्त्रीहरू समेत रहनुभएको छ । यसलाई उहाँहरूको पदप्रतिको लोभभन्दा पनि खेलप्रतिको प्रेमको रूपमा बुझेको छु ।
हिजोको चुनावमा उपमेयरको रूपमा सिद्धार्थनगर पालिकाबाट सिद्धार्थ रंगशालाको स्तर उन्नतिको निम्ति र रुपन्देही क्रिकेट संघका कार्यक्रमलाई ठूलो सहयोग पुर्याउँदै आउनुभएकी उमालाई जसरी पनि हराउनुपर्छ भन्ने सोचका साथ एउटी खेलिरहेकी बहिनीलाई उठाइएको देख्दा अचम्मित भएको थिएँ । उक्त कदमले ती २५–२६ वर्षकी उत्कृष्ट महिला खेलाडीको खेल जीवन समाप्त पारिएको छ । तर भित्री तथ्य बुझ्नै नखोजी खाली विरोध नै गर्नुपर्छ भन्ने सोच लिएकाहरूको फेसबुकमा लेखिदिन्छन् कि उमाले एउटी महिलाको स्थान खाइदिइन् ।
अब यसमा म आफ्नो कुरा पनि जोड्न चाहन्छु । २० वर्षको उमेरमा केही सोचका साथ २०५३ सालमा रुपन्देही क्रिकेट संघको स्थापना गराउन महत्वपूर्ण भूमिका खेल्दै संस्थापक र सहसचिव भएको थिएँ र विभिन्न कालखण्डमा चार पटक अध्यक्षको रूपमा रुपन्देही क्रिकेटलाई राष्ट्रिय पहिचान दिलाउन खेलेको भूमिका यहाँहरूसमक्ष स्पष्ट नै छ ।
चारैतिर सोधियो– चार पटक अध्यक्ष भएको मान्छे फेरि सदस्य किन आउनुपर्यो रे । म वास्तवमा धेरै छिटो विचलित हुने व्यक्ति होइन र त्यति प्रतिक्रिया जनाउन पनि मन पराउँदिनँ । यो मेरो विगत १६ वर्षदेखिको फेसबुक प्रोफाइल हेर्दा स्पष्ट हुने नै छ । तर म पनि सामान्य मानव नै हुँ, अति भएपछि सहन गाह्रो हुने रहेछ ।
अब लागौँ, म सदस्य किन लड्नुपर्यो ?
जब म नेपाल क्रिकेट संघको उपल्लो पदमा पुगेको थिएँ, मैले क्षेत्रीय क्रिकेट विकास समिति, हालको प्रदेश संरचनाको अध्यक्ष पद त्याग गरेर अन्य साथीहरूलाई मौका दिएको थिएँ । जिल्ला संघको अध्यक्ष पद त्यागेर केही गर्छु भन्ने सोचका पात्रलाई स्थापित गर्न भूमिका खेलेको थिएँ र आफूले केन्द्र बाहेक सबै ठाउँबाट बिदा लिएको थिएँ । तर त्यो त्यागको उल्टै प्रहार ममाथि हुन गयो ।
नेपालका प्रायः सबै संघ–संस्थाहरूमा संघका साधारण सदस्यहरूलाई उपल्लो निकायमा प्रतिनिधि पठाउन रोक छैन र नेपाल क्रिकेट संघको विधानले पनि यो कुरामा रोक लगाएको छैन । तर २०८२–०५–२५ गते हुनलागेको लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारण सभाका लागि सर्वसम्मत रूपमा मलाई प्रतिनिधि चयन गरेर पठाइएको थियो । त्यसपछि केन्द्रदेखि जिल्लासम्म प्रशान्तविक्रम मल्ललाई सकाउनुपर्छ भन्ने विचारधाराका मानिसहरूले मलाई रोक्न अवैधानिक रूपमा केन्द्रबाट २०८२–०५–१९ मा “प्रशान्त मल्ललाई रोक” भन्ने पत्र पठाउन लगाए ।
यति मात्रै नभएर २०८२–०६–२० गते हिजो अध्यक्ष, उपाध्यक्ष र सदस्यमा पराजित तथा विजयी केही पात्रहरूले मलाई रोक्न भनेर निवेदन दर्ता गराएका थिए । अनि उल्टै “प्रशान्त किन सदस्य उठेको ?” भनेर प्रश्न गरियो । लाज पनि लजाउने खालको व्यवहार भयो । हिजो विजयी भएका एक जना भाइले अधिवेशन स्थलमै “किन सदस्य लड्नुभएको ?” भनेर सोधे । मैले नै सोधेँ– “मेरो विरुद्ध किन निवेदन दर्ता गराउनुभयो ?” तर उहाँसँग कुनै जवाफ थिएन ।
मलाई पनि आफू सदस्य उठेर अर्को सम्भावना भएको व्यक्तिको ठाउँ रोक्न पुगेकोमा मन खुशी छैन । मेरो हिजोसम्मको स्थिति हेर्ने हो भने सोही स्थितिमा नेपाली क्रिकेटमा प्रदेश अध्यक्ष, केन्द्रीय सदस्य, प्रदेश सदस्यहरू समेत रहिरहनुभएको छ, तर कसैलाई वास्ता छैन । तर प्रशान्त मल्ल बाघ त होइन नि, खाइदिने । किन यति धेरै डर मसँग ?
अब यो चुनावपछि “प्रशान्त मल्ल सकियो, म जितेपछि तीन महिनामा सकाइदिन्छु” भन्ने कुरा पनि सुनियो । उफ ।
तर हामी क्रिकेट विकासमा जीवन समर्पण गरेका मान्छे हौँ र जसले क्रिकेटलाई माया गर्छ, त्यो जो भए पनि आफ्नै ठान्ने छौँ र साथमा लिएर हिँड्ने छौँ ।
यो रुपन्देहीको चुनावलाई राष्ट्रिय चासोको विषय बनाइयो । यता राष्ट्रिय छवि भएका व्यक्तित्व थिए भने अर्कोतिर जिल्ला क्रिकेट संघहरूमा नवीन कार्यहरूको सुरुवात गरेर आफ्नो अलग पहिचान स्थापित गरेका व्यक्तित्व थिए । मतदाता पनि क्रिकेट बुझ्ने अम्पायर, प्रशिक्षक, खेलाडी, क्लब चलाएका र समितिमा बसेका सचेत मानिसहरू थिए । उहाँहरूले गरेको निर्णयलाई गलत भन्नु रुपन्देहीका सम्पूर्ण क्रिकेटमा जीवन समर्पण गरेका व्यक्तिहरूको अपमान हुनेछ ।
अन्त्यमा, हिजो खसेको ११९ मतमध्ये प्राप्त ८९ मत, दुई मत बदर नभएको भए ९१ मत दिनुहुने रुपन्देही क्रिकेटका सम्पूर्ण मतदाताहरूप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछु । साथै “प्रशान्त रुपन्देही क्रिकेटको मुटु हो, रुपन्देही प्रशान्तको हो” भन्ने अभूतपूर्व समर्थन गरिदिनुभयो र एक किसिमका बाह्य हस्तक्षेपकारीहरूलाई मतमार्फत चेतावनी दिनुभयो, त्यसका लागि कृतज्ञ रहेको छु ।
मलाई मत दिने कुरामा सबै बाधा–बन्धन तोडियो, कुनै पक्ष–विपक्ष रहेन । रुपन्देहीका सम्पूर्ण क्लबहरू, विशेषतः तिरुपती क्लब, मेरा आदरणीय दाजु बसन्त शाही तथा रुपन्देहीको सबैभन्दा ठूलो र ऐतिहासिक क्लब लुम्बिनी खुकुरी क्लबलाई हृदयदेखि नै आभार व्यक्त गर्दछु ।
(यो विचार मल्लको फेसबुक स्टाटसबाट साभार गरिएको हो ।)








लेखकको सम्वन्धमा