रास्वपा सभापति लामिछानेको रूपन्देहीमा ‘इलेक्सन टूर’


भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रबि लामिछानेले सोमबार रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा ‘इलेक्सन’ टुर गरेका छन् । आफ्ना उम्मेदवारका लागि मत माग्ने र जनतासित साक्षात्कार हुने उद्देश्यले उनले यस्तो भ्रमण गरेका हुन् ।
लामिछानेले सोमबार बिहान रुपन्देही–१ को देवदहबाट रुपन्देहीका निर्वाचन क्षेत्र भ्रमण सुरु गरेका थिए । त्यहाँ उनले रास्वपा उम्मेदवार सुनिल लम्साल सँगैं स्थानीय मतदातासित साक्षात्कार गरे । चुनावी सभा नभएकाले राजनीतिक भाषण नगरेका लामिछानेले सबल उम्मेदवार लम्साललाई मतदान गरेर बिजयी गराउन अनुरोध गरे ।
पाँचवटै निर्वाचन क्षेत्र पुग्नु पर्ने भएकाले पार्टीले दिनभरिका लागि भ्रमण तालिका सार्वजनिक गरेको थियो । उक्त तालिका अनुसार देवदहबाट कार्यकर्ता भेटघाट गर्दै उनी धकधई हुँदै भैरहवा आएका थिए ।
रास्वपा नेता रचना क्षेत्रीका अनुसार बिहान साढे १० बजेतिर भैरहवा आइपुगेका लामिछानेले सिद्धार्थनगरका विभिन्न स्थानमा पुगेर मतदातालाई अभिवादन गरेका थिए । भैरहवाका गोलिगढ, बुद्धचोक हुँदै क्षेत्र नम्बर ३ को प्रचार कार्यालय पुगेका थिए । पार्टी कार्यालयमा आधा घण्टा जति बिताएका लामिछाने रुपन्देही–३, का उम्मेदवार डा. लेखजंग थापासहित बाहिरिएका थिए । त्यहाँ सम्बोधन नगरेका लामिछाने अदालत जाने भएपछि कार्यकर्तालाई सिद्धार्थनगर–२, को मेउडिहवा चोक पठाइएको थियो ।
मध्यान्ह मेउडिहवा चोक पुगेका लामिछानेलाई कार्यकर्ताले फूलमाला सहित स्वागत गरेका थिए । उक्त चोकमा आयोजित संक्षिप्त कार्यक्रममा रास्वपाबाट समानुपातिक सांसदकी उम्मेदवार ज्ञानु पौडेल र पुनमकुमारी अग्रवाल पनि पुगेका थिए । लामिछानेले प्रत्यक्ष तर्फका उम्मेदवार थापा सहित पौडेल र अग्रवाललाई मतदातासित परिचित गराएका थिए । त्यसक्रममा ‘अबकि बार बालेन सरकार’ नारा लागेको थियो ।
त्यहाँ सम्बोधन गर्दै लामिछानेले रुपन्देही–३ मा रास्वपाका अब्बल उम्मेदवारलाई बिजयी गराउन आह्वान गरेका थिए । ‘अहिले म रिजर्व गर्न आएको हुँ,’ उनले भने, ‘फागुन २१ गते मतदान केन्द्रमा गएर घण्टी चिन्हमा छाप लगाउनु होला ।’ अब मुलुक निर्माण र भ्रष्टाचार अन्त्यको जिम्मेवारी आफूहरुको काँधमा आएकाले सबैले रास्वपाका उम्मेदवारलाई जिताउनु पर्ने उनले बताए । ‘यो अवसर नगुमाउन अनुरोध छ,’ उनले भने ।

लगत्तै उनी सिद्धार्थनगर–११ हुँदैं मर्चवार पुगेका थिए । मर्चवारको सिमानामा भेला भएका रास्वपा समर्थकले उनको स्वागत गरेका थिए । यात्राका क्रममा बाटोमा भेला भएका कार्यकर्ता माझ आफ्नो भनाई राखेका थिए । मर्चवारको मझगाँवा हुँदैं लामिछाने गाडी, मोटरसाइकलको र्याली सहित कोटहीमाई–६ स्थित मर्चवारीमाई मन्दिर पुगेका थिए । त्यहाँ रुपन्देही ४ का रास्वपा उम्मेदवार कन्हैया बनिया र रुपन्देही–५, का उम्मेदवार तौफिक अहमद खानले स्वागत गरेका थिए । फूलमाला सहित सर्वसाधरणले मन्दिरमा स्वागत गरेका थिए ।
करिब १० मिनेट मन्दिर भित्र पूजाआजा गरेपछि लामिछानेले मन्दिरको मुख्यद्वारमा आएर घन्टी बजाएका थिए । सबैलाई हात हल्लाएर अभिवादन गरेका थिए । त्यस क्रममा उनले मन्दिरलाई एउटा घण्टी दान गरेका थिए । मन्दिरमा भेला भएको भीडले लामिछाने र बालेनको पक्षमा नाराबाजी गरेका थिए । मन्दिर बाहिर रहेको भीडलाई उनले सम्बोधन गरेका थिए । रास्वपा उम्मेदवार जिताउन मन र मत विभाजन नगर्न अनुरोध गरेका थिए ।
रास्वपालाई बहुमत प्रदान गर्नका लागि प्रत्यक्ष र समानुपातिक दुबै तर्फ मतदानका लागि आह्वान गरेका थिए । उनी मर्चवारीमाई र सम्मरीमाई गाउँपालिका हुँदैं रुपन्देही–५, पुगेका थिए । त्यहाँ उनलाई रुपन्देही–५, का उम्मेदवार खान र समानुपातिक तर्फकी उम्मेदवार अग्रवालले स्वागत गरेका थिए । रुपन्देही–५, मा लामिछानेको स्वागतका लागि सयौं कार्यकर्ता भेला भएका थिए ।
उनी यसपछि फर्साटिकर हुँदै बुटवल पुगेका थिए । रुपन्देही–२ को बुटवलमा चोकचोकमा भेला भएका कार्यकर्तासित संक्षिप्त कुराकानी र भलाकुसारी गरेका थिए । उनले रुपन्देही–२ मा सुलभ खरेललाई जिताउन आग्रह गरे । उनले सैनामैना, गैडहवा लगायताका ठाउँमा पनि पुगेका छन् । लामिछानेले जहाँ पुगे पनि रास्वपालाई मत दिन आग्रह गरेका छन् । उनले पार्टीले अब्बल उम्मेदवार उठाएको दावी गर्दै मुलुक निर्माणको जिम्मा दिन आग्रह गरेका छन् ।








प्रतिकृया दिनुहोस्