June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

उम्मेदवारः भाषणमा जेनजी, व्यवहार पुरातन

Advertisement

भैरहवा– गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको मर्म आत्मसात् गर्ने दल र उम्मेदवार कति होलान ? यसको लेखाजोखा हुँदैं जाला । एक्कासी तुफान जसरी भएको जेनजी पुस्ताको आन्दोलनले दुई दिनमै सत्ता परिवर्तन गरेको थियो । त्यही आन्दोलनको जगमा बनेको सरकारले फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउँदैंछ ।

Advertisement

गत माघ ६ गते उम्मेदवारी दर्ता गरेर विभिन्न दलका र स्वतन्त्र उम्मेदवार अहिले चुनावी मैदानमा छन् । निर्वाचन आयोगले फागुन ४ गतेपछि घरदैलो, चुनावी सभा र जुलुस गर्न पाउने भनेको छ । तर, दलहरु उम्मेदवारको अन्तिम नामवाली प्रकाशनसँगैं आक्रामक रुपमा चुनावी प्रचारमा होमिएका छन् । उनीहरुले निर्वाचन आयोगले तोकेको समय सीमा र प्रावधान ख्याल गरेका छैनन् । कार्यकर्तासित भेटघाट र चुनावी रणनीति तयार गर्ने बेला आश्वासन बाँड्न व्यस्त छ ।

भदौंको युवा आन्दोलनले मुलुकमा सुशासन स्थापना र भ्रष्ट्राचार अन्त्यको माग गरेको थियो । तत्कालीन सिमित नेताले मात्रै जेनजी आन्दोलनको भावनाको सम्मान गर्दै बिगतमा आफ्ना पार्टीले गरेको गल्ति कमजोरी प्रति क्षमा याचना गरेका थिए । तर, धेरैले जेनजी आन्दोलनलाई परिवर्तनको आँधिबेहरीका रुपमा स्वीकार गर्न सकेका थिएनन् । भदौं २३ गतेको प्रदर्शनका क्रममा थुप्रै युवाले ज्यान गुमाएका थिए भने सुरक्षाकर्मी तर्फ पनि क्षति पुगेको थियो ।

लामो समय राजनीतिक दलका कारण मुलुकमा व्याप्त कुशासन, भ्रष्ट्राचार, बेथितिका कारण जनतामा चरम निराशा र आक्रोश थियो । त्यो आक्रोश केही मात्रामा भदौं २३ र २४ गते प्रस्फुटन भएको हो । बाँकी रहेको असन्तुष्टि फागुन २१ गतेको मतदानबाट प्रस्फुटन हुने देखिन्छ । यसबारे नयाँ दल आशावादी छन् । तर, पुराना दलले यसलाई अझैं मनन र आत्मसात् गरेको महशुष हुँदैंन ।

केही उम्मेदवारले आफ्नो दलमा आएको संरचनागत र नीतिगत परिवर्तनबारे मतदातालाई बुझाउने कोशिस गरेको देखिन्छ । तर, धेरै दलका उम्मेदवार अझै पनि परिवर्तन भएको देखिँदैंन । उनीहरु पुरानै एजेण्डा र नारा सहित मतदाता समक्ष पुगिरहेका छन् । युवाको भावना अनुसार भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नेबारे कुनै एजेण्डा छैनन् । स्थानीय पालिकाले सम्बोधन गर्ने शिक्षा, स्वास्थ्य, बाटोघाटो, विद्यायलय, स्वास्थ्य चौकी, मसानघाट, मन्दिर, मस्जिदका एजेण्डा सहित भोट माग्न गइरहेका छन् । मुलुकमा कसरी भ्रष्टाचार अन्त्य गर्न सकिन्छ ? सुशासन कायम गर्न कुन कुन कुरामा आमूल परिवर्तन जरुरी छ भन्नेबारे कुनै रोडम्याप छैन ।

उम्मेदवारको घेरा र उनीहरुको सेरोफेरोमा पनि कुनै परिवर्तन छैन । हिजो–अस्ती, मोज–मस्तीका दौतरी बोकेर प्रचारमा देखिन्छन् । उम्मेदवारका अगाडि–पछाडि जेनजी पुस्ता देखिँदैंनन् । उम्मेदवारले प्रतिवद्धता पत्र सार्वजनिक गरिरहेका छन् । ती प्रतिवद्धता पत्रमा जेनजी भावना सम्बोधन गर्ने खालका कुनै नारा र एजेण्डा देखिँदैन । यतिसम्म उम्मेदवारले युवाहरुसित छलफल गरेको पनि देखिँदैंन । पार्टीका सम्पर्क कार्यालयमा मुर्झाएको मुहारमा कार्यकर्ता बसिरहेका देखिन्छन् ।

त्यसो भए फागुन २१ को चुनाव पछि यी उम्मेदवारबाट जनताले अपेक्षा गरेको परिवर्तन सम्भव छ त ? जवसम्म उम्मेदवारले सोचमा परिवर्तन गर्दैनन, तबसम्म मुलुकमा परिवर्तन सम्भव छैन । आफ्नै घेरामा विश्वास गर्ने र उनीहरुको इशारामा मात्र चल्ने हो भने कुनै पनि उम्मेदवारले जनमत बुझ्न सक्दैंनन् । आसेपासे बोक्ने र पार्टीको रेखाभित्र संकुचित हुने उम्मेदवारबाट परिवर्तन सम्भव छैन । परिवर्तनका लागि उम्मेदवारले फराकिलो सोच्नु पर्छ । जबसम्म उम्मेदवारले टाढा देख्दैनन्, आफ्ना भन्दा बाहिर रहेका नागरिकसित पनि घुलमिल हुन्छन् । अनिमात्र परिवर्तन सम्भव छ ।