July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

रूपन्देहीमा मतदाता नामावलीमा नाम दर्ता गर्न आउनेहरूमा युवा पुस्ता बढी (भिडिओ रिपोर्टसहित)

Advertisement

भैरहवा– रूपन्देहीमा मतदाता नामावलीमा नाम दर्ता गर्नेहरुमा युवा पुस्ता बढी मात्रामा देखिएका छन् । जिल्ला निर्वाचन कार्यालय, रुपन्देहीका अनुसार पछिललो पटक मतदाता नामवलीमा नाम दर्ता सुरुपछि ९५ प्रतिशत भन्दा बढी युवाहरु नाम दर्ताका लागि आउने गरेका हुन् ।

Advertisement

जेनजी आन्दोलन पछि नयाँ सरकार बनेर आगामी फागुनमा निर्वाचन गर्ने निर्णय गरेको छ । सोहीअनुसार निर्वाचन आयोगले असोज १० गतेदेखि मतदाता नामावली दर्ता र अद्यावधिक सुरु गरेको थियो । जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालका अनुसार हाल दैनिक एक सयको हाराहारीमा मतदाता नामावलीमा नाम दर्ता गर्न आइरहेका छन् ।

उनका अनुसार असोज १२ गते नामावली दर्ता गर्नेको केही भीड लागेको थियो । त्यसपछि दसैं विदा भयो । सरकारले बाढीपहिरोका कारण असोज १९ र २० गते सार्वजनिक विदा दिए पनि रुपन्देहीमा भने विदामा पनि नामावली दर्ताको कामलाई निरन्तर दिइएको थियो ।

अर्यालले जुनसुकै जिल्लाका मतदाताले पनि नामावली दर्ता गर्न सक्ने जनाइन् । आयोगले कार्तिक ३० गतेसम्म मतदाता नामावली दर्ताको मिति तोकेको छ । हाल मुलुकका ७७ वटै जिल्लामा मतदाता नामावली संकलन भइरहेको छ । नयाँ मतदाता नामावली दर्ता गर्नेले आफू नजिकको जुनसुकै जिल्ला निर्वाचन कार्यालयबाट नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

निर्वाचन अधिकारी अर्यालका अनुसार नयाँ मतदाता नामावली दर्ताका लागि आयोगको वेबसाइटमा गएर फारम भर्नुपर्छ । त्यसपछि सक्कल नागरिकता र नागरिकताको प्रतिलिपी लिएर सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्छ । यस्तै, त्रुटी सच्याउनका लागि त्रुटी पुष्टि गर्ने डकुमेन्ट आयोगको बेवसाइटमा अपलोड गरेपछि सच्चिन्छ । यसका लागि भने आयोगको कार्यालय धाउनु पर्दैन । ठाउँसारीका लागि भने स्थायी बसाईं सराईं अनिवार्य गरिएको छ ।

रुपन्देहीमा मतदाता नामावली संकलन सुरु पछि असोज १० गते ३४, १२ गते २ सय ६० जनाले नयाँ मतदाता नामावली दर्ता गरेका छन् । यस्तै, असोज १९ गते ७२ जना, २० गते ८१ जना र २१ गते १ सय ५० जनाले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । यस्तै, बुधबार अर्थात् असोज २२ गते दिउँसोसम्म १ सय १ जनाले नाम दर्ता गरेको अर्यालले जानकारी दिइन् ।

रूपन्देहीका यसअघि ६ लाख ४४ हजार ३ सय ५६ मतदाता थिए । जसमा पुरुष ३ लाख ३० हजार ७ सय ४१, महिला ३ लाख १३ हजार ६ सय ७ र अन्य ८ जना थिए । नयाँ मतदाता नामावली दर्ता सकिएपछि निर्वाचन आयोगले जिल्लागत रुपमा कुल मतदाताको तथ्यांक सार्वजनिक गर्नेछ । यसपछि मात्रै रुपन्देहीमा कति मतदाता थपिए भन्ने तथ्यांक आउने अर्यालले बताइन् ।