शुभ अवसर ग्राम भैरहवाद्वारा एक वर्षमा ३४२ जनाको उद्धार (भिडियोसहित)


भैरहवा– अन्तरसीमा मानव बेचविखनविरुद्धको परियोजना शुभ अवसर ग्राम नेपाल शाखा कार्यालय, भैरहवाले गत आर्थिक वर्ष २०८१–०८२ मा ३ सय ४२ जनालाई उद्धार गरेको छ । यसरी उद्धार गरिएका केहीलाई भारतबाट र केहीलाई नेपाल–भारत सीमा नाकाबाट उद्धार गरिएको हो ।
परियोजनाको शाखा कार्यालय, भैरहवाका शाखा संयोजक सत्यनारायण यादवका अनुसार आन्तरिक तथा बाह्य रुपमा ३ सय ४२ जनालाई नेपाल र भारतको विभिन्न स्थानहरुबाट उद्धार गरिएको हो । ‘हामीले परियोजना अन्तर्गत गत आर्थिक वर्षमा मानव बेचविखनविरुद्धका क्षेत्रमा उल्लेख्य काम गर्यौ’, उनले भने, ‘आन्तरिक तथा बाह्य मान बेचबिखन तथा शोषणका घटनाहरुको उद्धार पुनःस्थापना गरिएकाहरुको संख्या बढनुका साथै संस्थाको सञ्जाल विस्तार र अन्य क्षेत्रमा क्रियाशील सरोकारवालाहरुसँग समन्वय र सम्बन्ध विस्तार गरेका छौं ।’
यादवका अनुसार बेचविखन र जोखिममा परेका मध्ये १ सय ३९ जनालाई दीर्घकालीन तथा अल्पकालीन आश्रय तथा सुरक्षा सेवा प्रदान गरिएको छ । यस्तै, सुरक्षित आवास गृह, नेपाल भारत, सिमानाका र स्थलगतस्तरमा गरि जम्मा २ सय १८ जनाको परिवारिक पुनर्मिलन गराइएको छ ।
‘उद्धार गरिएका मध्ये १ सय १८ जना सेवाग्राहीहरुलाई प्रहरी र सम्बन्धित सरोकारवालाहरुको सहयोगमा अन्य संघसंस्थाहरुमा रिफर गरेका छौं’, उनले भने, ‘विभिन्न स्थानहरुबाट उद्धार गरिएका सेवाग्राहीहरुलाई २ सय ७६ सत्र मानोविमर्श सेवा प्रदान समेत गरिएको छ ।’
भारतमा क्रियाशील गैर सरकारी संस्था किन इन्डिया, नेपाली दूतावास र विभिन्न सरकारी तथा गैरसरकारी सरोकारवालाहरुको समन्वय सहयोगमा १७५ जना युवा, महिला तथा बालबालिकाहरुलाई भारतबाट उद्धार गरिस्वदेश फिर्ता गरिएको छ ।
गत आर्थिक वर्षमा रुपन्देहीको लखनौतिया भगवानपुर, मर्चवारी, कालीदह, क्रक्रहवा सीमानाका भएर भारत जाँदै गरेका ८ हजार ४ सय ९५ जना महिला, बालबालिका र युवायुवतीहरुलाई मानव बेचबिखनको बारे जानकारी र परामर्श सेवा पनि दिइएको यादवले जनाए ।
उनका अनुसार सीमा निगरानीको क्रममा ५६ जनालाई सीमानाकाबाट फिर्ता गरिएको थियो । संस्थाले पहुँच गरेका मध्ये ३२ जना सेवाग्राहीहरुलाई स्वास्थ्य उपचार सेवा प्रदान गरिएको छ । १ जना सेवाग्राहीहरुलाई शिक्षाको निरन्तरताको लागि सहयोग समेत गरिएको उनले जानकारी दिए ।
विभिन्न ठाउँहरुमा उद्धार गरिएका ९ जना सेवाग्राहीहरुलाई सीपमूलक तालिम र ९ जना सेवाग्राहीहरुलाई व्यवसायका लागि बिउ पूँजी प्रदान गरिएको छ । ‘उद्धार गरिएका १० जनालाई कानूनी सहयोग सेवा प्रदान गरिएको छ । मानव बेचविखन तथा ओसारपसार अभियोगमा ४ वटा मुद्दा समेत दर्ता भएका छन्’, उनले भने ।
‘परियोजनामार्फत् हामीले कयौं फकाएर, झुक्याएर भारततर्फ लगिँदै गरेका, भारतमा बेचिएका, यौनधन्दामा लगाइएका बालिका, किशोरी, युवती र अधबैंसे महिलाहरुलाई उद्धार गरेर आफन्तको जिम्मा लगाएका छौं, कयौंलाई आयआर्जनका लागि पनि सहयोग गरेका छौं’, उनले भने, ‘यसरी उद्धार गरेर ल्याइएका अधिकांश महिलाहरु अहिले खुशी हुनुहुन्छ, धेरै त परियोजनाको सहयोगमा स्वरोजगार पनि बन्नु भएको छ ।’ उद्धार गरिएकाहरुलाई संस्थामा सेल्टरमा राखेर आफन्तको जिम्मा लगाउने गरिएको छ । उनले चालु वर्षमा परियोजनाले थप चनासो भएर काम गर्ने जनाए ।








प्रतिकृया दिनुहोस्