गीता दिदीको अटो सरर …



बाँके– उनका नाम नै दुईवटा छन् । नागकितामा गोमा उल्लेख गरिएको छ । तर, सर्वसाधरणले गीता भनेर बोलाउँछन् । बाँकेको कोहलपुर बजारमा उनलाई गीता दिदीका नामले नचिन्ने कमै छन् । कोहलपुरका गल्ली–गल्ली अटोरिक्सा चलाएर उनले घरखर्च धान्न थालेको ७ वर्ष भइसक्यो । उनका अनुसार अटोरिक्सा चलाएर दिनमा त्यही ५ सयदेखि १ हजार रुपैयाँसम्म कमाई हुन्छ । ‘दुईचार पैसा कमाइ भएकादिन घरखर्च चल्ने हो,’ उनले भनिन्, ‘नत्र उपाय छैन, भोकै बस्नुपर्छ ।’
कोहलपुर–२, आन्नदनगरमा उनको बसोबास छ । सम्पतिको नाउमा स्वरोजगार कार्यक्रमले निर्माण गरिदिएको एउटा दुइ कोठे घरमात्र छ । ‘धन्न ओत मिलेको छ,’ उनले भनिन्, ‘नत्र सडककै बास हुन्थ्यो ।’ ४२ वर्षीया उनको संघर्षका पछाडी दुःख भरिएको कहानी छ । उनका अनुसार अमासयमा क्यान्सर रोगका कारण २८ वर्षको उमेरमै श्रीमानको मृत्यु भयो । श्रीमानसित साथ छुटेको पनि १२ वर्ष पुग्यो ।
‘श्रीमान् गुमाएपछि घरमात्र रित्तिएन, एकछिन त के गरौं, कसो गरौं भयो,’ उनले भनिन्, ‘साथमा दुई छोरा भएकाले उनीहरुको लालनपालनका लागि पनि केही गर्नुपर्छ भन्ने लाग्यो । त्यसैले हरेश खाइन ।’ अहिले छोराहरु २१ र १५ वर्षका भए । कान्छो छोराको पढाइमा ६ हजारजति खर्च लाग्छ । गाउँकै सरकारी स्कुल भए पनि वार्षिक शुल्क, टिउसन, कोचिङको फिस भन्दैं माग्छन् । किताव, कापी, कलम र खाजा खर्च अलग्गै छ ।
चामल–दाल, तेल–मसला, हरियो तरकारी किनेर खानुपर्छ । ‘पाहुनापाछा आउँदा माछा–मासु खानै पर्यो,’ उनले भनिन्, ‘सबै गरेर भान्छाको खर्चमात्रै महिनाको १० हजारजति हुन्छ ।’ सन्तानको भविष्यका लागि भए पनि धन कमाउन भनेर तीन वर्ष कुवेतमा रोजगारी गरिन् । छोराहरु सासु–आमाको जिम्मा लगाएर परदेशमा लामो समय बिताउन मनले नमानेपछि घर फर्किएको उनले बताइन् । साढे तीन वर्ष कुवेतमा मजदुरी गरेर फर्किने बेला १ लाख १० हजार बचत थियो । त्यति रकमले कति दिन पो चल्थ्यो र ?
थपक्क बसेर आम्दानी नहुने भएपछि ७ वर्षअघि एउटा सहकारीबाट ५ लाख ऋण निकालेर अटोरिक्सा किनेको उनले बताइन् । ‘कोरोना महामारीमा पनि रिक्सा चलाउन छाडिनँ । रातदिन नभनी कमाएर सहकारीको ऋण चुकाएपछि मन हलुङ्गो भयो,’ उनले भनिन्, ‘साइकल चलाउन नसिकेकी मैले अटो चलाउन थाले । बाध्यताले धेरै कुरा सिकाउँदो रहेछ । अहिले घाम–पानी केहीले रोक्दैन । गर्मी धेरै हुने भएकाले बाह्रैमास एउटा ज्याकेट र चस्मा छुटाउदिनँ ।’
बजारमा एउटा चोकबाट अर्कोमा गएको प्रतिव्यक्ति ३० रुपैयाँ भाडादर छ । सबेरै उठेर रिक्सा लिएर चोकमा पुग्छिन् । साँझ ६ बजेसम्म यात्रु ओसारेपछि घर फर्किन्छन् । ‘बिहान घरमै आएर खाना खान्छु,’ उनले भनिन्, ‘कान्छो छोराले खाना पकाउने भएकाले सजिलो भएको छ ।’ केही दिन अघि मात्र उनले २ लाख ६५ हजार खर्च गरेर रिक्साको व्याट्री फेरिन । ‘आफूसित बचत नभएपछि यहीकै सहकारीबाट ऋण लिएर ब्याट्री किनेकी हुँ,’ उनले भनिन्, ‘अहिले सहकारीको ब्याज र किस्ता थपियो ।’








प्रतिकृया दिनुहोस्