तस्करहरूलाई सघाएर ‘मालामाल’ इप्रका मझगाँवा र मर्चवारका इन्चार्ज
भैरहवा– रुपन्देहीको मर्चवार क्षेत्रबाट तस्करी ब्यापक बढेको छ । प्रहरीकै संरक्षणमा मर्चवारमा रातिदिन साइकल, मोटरसाइकल, पिकअप गाडीमा तस्करी भइरहेको स्थानीय प्रत्यक्षदर्शी बताउँछन् । साथै स्थानीयले खुलेयाम भइरहेको तस्करीको भिडियो, फोटा खिचेर पब्लिक कुरालाई समेत उपलब्ध गराएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने मर्चवारमा दुईवटा इलाका प्रहरी कार्यालय छन् । यसमातहत दर्जन प्रहरी चौकी छन् ।
इलाका प्रहरी कार्यालय, मर्चवार र इलाका प्रहरी कार्यालय, मझगाँवा र मातहतका प्रहरी चौकी इन्चार्ज तस्करका अगाडि ‘कक्रक’ बनेका छन् । यी दुबै इप्रकाको काम अहिले तस्करहरुसँग मिलेमतो गर्ने र खुलेयाम तस्करी गराउनमा केन्द्रित छ । यसबाट इप्रकाका इन्चार्जहरुले घुमुवा परिचालन गरेर मोटो रकम बुझ्ने गरेको स्थानीय बासिन्दाको दावी छ । ‘आफ्नै अगाडिबाट गाडीका गाडी सामान तस्करी हुँदा प्रहरीले किन रोक्दैन ?’, मर्चवारी गाउँपालिकाका एक स्थानीयले भने, ‘तस्करी गराएरै प्रहरी अहिले मालामाल बनेका छन् ।’ प्रहरीको मिलेमतोलाई यहाँ सशस्त्रका बीओपीहरुले पनि साथ दिइरहेका छन् ।
इप्रका मर्चवारका इन्चार्ज प्रहरी निरीक्षक घनदेव साउदले असई रामनरेश गुप्तालाई घुमुवाका रुपमा परिचालन गरेर असुलीमा मस्त छन् । यता इप्रका मझगाँवाका इन्चार्ज प्रहरी निरीक्षक सन्तोष बस्यालले असई जितेन्द्र यादवलाई घुमुवा राखेरका छन् । दुबै इप्रकाका इन्चार्जले घुमुवामार्फत् तस्करहरुसँग लाइन मिलाउने र ‘खल्ती ग्रम’ गराउने गरिरहेको आरोप नाम नखुलाउने सर्तमा एक स्थानीयले भने । जितेन्द्र यसअघि मर्चवारका ‘मालदार’ चौकीहरुमा समेत इन्चार्ज बसेकाले उनैलाई बस्यालले घुमुवाको इन्चार्ज बनाएका छन् । गुप्ता ठाडो उजुरीमा छन् । तर, काम भने असुली र उजुरी दुबै हेर्ने गर्छन् ।
इप्रका मर्चवार अन्तर्गत हरिनगढ, सुमेरगढ, दुबौलिया, बगौली, ठर्की लगायतका नाकाबाट अहिले धमाधम तस्करी भइरहेको छ । यस क्षेत्रबाट राजु र अमरजित यादवको टोलीले ठूलो मात्रामा भारतबाट नेपालतर्फ तस्करी गरिरहेका छन् । उनीहरुले कस्मेटिक, चिनी, चामल लगायत अन्य गल्लाको तस्करी गरिरहेका हुन् । मोटरसाइकलमा भारतबाट नेपाल ल्याएर ट्रकमा लोड गरी ठाउँठाउँ पठाउने गरेका छन् । यसमा प्रहरीले ‘स्कटिङ’ बराबर सुरक्षा दिएरै तस्करीमा सघाएको दावी यहाँका बासिन्दाको छ ।
यस्तै, यस क्षेत्रबाट केशवनन्द बनियाँले नाकामै ब्यापार गरेर गल्ला तस्करी गरिरहेका छन् । नेपाल–भारत दुबैतर्फ घर भएका राजु जैसावाल यहाँका ठूला तस्कर हुन् । उनले दुबैतर्फका तस्करहरुसँग शेयर लगानी गरेर गल्लाको तस्करी गरिरहेका छन् । यस इप्रका अन्तर्गत एक सय भन्दा बढी तस्करहरु प्रहरीकै मिलेमतोमा तस्करीमा तल्लीन भएको दावी स्थानीयको छ । स्थानीय बासिन्दाले पब्लिक कुराको कार्यालयमै आएर प्रमाण उपलब्ध गराएका छन् । उनीहरुले इप्रका मर्चवारले तस्करी गराएरै मासिक लाखौं रुपैयाँ असुलीरहेको दावी गरेका छन् । यहाँबाट घुमुवा मार्फत् इन्चार्जले मासिक ५ हजारदेखि १ लाख रुपैयाँसम्म बुझ्ने गरेको दावी स्थानीयको छ ।
यता इप्रका मझगाँवा मातहत त्रिलोकपुर, कदमहवा र ठर्कीबाट तस्करी गर्ने सबैभन्दा ठूला तस्कर हुन्, वीरबहादुर जैसवाल । उनको पार्टनरमा प्रेम यादव भन्ने चौधरी, परविन्द्र भन्ने सोलहु जैसवाल र मनोज यादव छन् । उनीहरुको टीमले पिअप र मिनी ट्रकमा चिनी र गल्लाको ठूलो तस्करी गरिरहेका छन् । केही दिन अघिमात्रै उनीहरुले तस्करीको सामान लोड गरेको गाडी राजस्व अनुसन्धान कार्यालय, बुटवलले पक्राउ गरेको थियो । यो समूहले चौकी, इप्रका, वीओपी, जिल्ला, प्रदेश प्रहरीसम्मलाई सेटिङ गरेको दावी गरिएको छ ।
सुदेश जैसवाल भन्ने तस्करले बोगडी र ठर्कीबाट गल्ला तस्करी गरिरहेका छन् भने बोगडीबाट तौलन जैसवालले विगत ३ वर्षदेखि प्रहरीकै सेटिङमा कपडा तस्करी गरिरहेको उनलाई नजिकबाट चिन्ने स्थानीय बासिन्दा बताउँछन् । उनले मोटरसाइकलमा भारतबाट कपडा ल्याएर गोदाम गरी पिकअपमा बुटवल, पोखरा, काठमाडौंसम्म पठाउने गरेको दावी हामीलाई प्राप्त भिडियो र अडियोमा छ । यस्तै, प्रसिया, त्रिलोकपुर कोम्मरीयाबाट सुभाष मुरावले कपडा तस्करी गरिरहेका छन् । दुर्गौलियाबाट आकाश र मुरत यादव भन्ने तस्करले कपडा तस्करी गर्दै आएका छन् । उनीहरु सबैले मोटरसाइकलमा भारतबाट भित्र्याउने र गोदाम गरी गाडीमा ठाउँठाउँ पठाउने गरेका छन् ।
स्थानीय बासिन्दाका अनुसार दुर्गौलिया, प्रसियाबाट भेली यादव र गणेश यादवले चिनी र मिठाई तस्करी गरिरहेका छन् भने त्रिलोकपुरबाट हैदर मुसलमानले बोइलर कुखुरा तस्करी गरिरहेका छन् । प्रसिया, दुर्गौलियाबाट दीपेश यादवले चिनी, हार्डवेयर र कपडा तस्करी गरिरहेका छन् । भेली, गणेश, हैदर र दीपेशले विगतमा संगोलमा तस्करी गर्दै आएकामा अहिले छुट्टाछुट्टै तस्करीमा तल्लीन छन् । सोही ठाउँबाट जितेन्द्र यादव र जोखु यादवले चिनी, हार्डवेयर र कपडा तस्करी गरिरहेका छन् ।
यस क्षेत्रबाट रामु यादवले चिनी, अब्दुलले कपडा, रजामले खसीबोका, लल्लु, हैदर र मियाले कुखुरा तस्करी गरिरहेको प्रमाण पब्लिक कुरालाई उपलब्ध छ । यस्तै, रामअवतार यादव र रामु यादवले तस्करीको चिनी खरिद गरी गोदाम गरेर राखेर गाडीमा लोड गरी विभिन्न सहरमा पठाउने गरेका छन् । अर्का तस्कर गौरी जैसवालले चिनी र माछाका दाना तस्करी गरिरहेका छन् । रुपचन्द्र यादव र अशोक जैसवालले तस्करीको चिनी र मटर खरिद गरी गोदाम बनाएर सानाठूला गाडीमा लोड गरी ठाउँठाउँमा पठाउने गरेका छन् । अशोकको मर्चवारदेखि छपियासम्म ४–५ वटा गोदाम नै रहेको दावी स्थानीयको छ ।
यस क्षेत्रमा १ सय ५० बढी तस्करहरु सक्रिय रहेको दावी गरिएको छ । तस्करहरुले घुमुवामार्फत् मझागाँवाका इन्चार्जलाई मासिक ५ हजारदेखि सवा लाख रुपैयाँ बुझाउने गरेको दावी गरिएको छ । साना तस्करले घुमुवालाई मासिक १ हजारदेखि १५ हजार दिन्छन् । मिलेमतोमै भइरहेको तस्करीप्रति प्रहरीका माथिल्ला हाकिम भने कानमा तेलह हालेर बसेझैं गरेका छन् । माथिल्लो निकायलाई जानकारी गराउँदा समेत तस्करी रोक्नमा ध्यान नदिएको स्थानीय युवा नेताहरु बताउँछन् ।
इप्रका मर्चवारका इन्चार्ज प्रहरी निरीक्षक साउदले यस क्षेत्रबाट तस्करी ठप्प रहेको बताए । भारतीय सुरक्षाकर्मीले पनि नाकामा कडाइ गरेको र आफूहरुले पनि निगरानी बढाएकाले तस्करी रोकिएको उनको दावी छ । ‘ए हजुर अहिले त मुसो पनि छिर्न दिएका छैनौं नी’, उनले पब्लिक कुरासँग भने । गुप्तालाई घुमुवाका रुपमा नखटाएको उनले दावी गरे ।
इप्रका मझगाँवाका इन्चार्ज प्रहरी निरीक्षक बस्यालले आफूहरुले तस्करी नियन्त्रणका लागि निरन्तर प्रयास गरिरहेको जनाए । ‘म आएको दुई महिनामा ३० लाख बढीको सामान बरामद गरिसकेको छु’, उनले भने, ‘हाम्रो प्रयास निरन्तर छ, अवैध कार्य जुनसुकै भए पनि रोक्छौं ।’ असई जितेन्द्र यादवलाई घुमुवाको रुपमा परिचालन गरेर तस्करीको संरक्षण गरेर असुली गरिरहेको स्थानीयको गुनासो छ नी भन्ने प्रश्नमा उनले भने, ‘कहिलेकाही सूचना संकलनका लागि परिचालन गरिन्छ । तर घुमुवा भनेरै राखिएको छैन । संगठनको नीति पनि छैन ।’
दुबै इन्चार्जले तस्करी नभएको दावी गरे पनि तथ्यप्रमणले त्यसलाई नकार्छ । खासगरी पछिल्लो समय इप्रका मझगाँवा क्षेत्रबाट तस्करहरु बढी सक्रिय छन् । घुमुवा यादवले हरेक तस्करलाई भेटेर लाइन मिलाउने गरेका छन् । मर्चवार क्षेत्रबाट भइरहेको तस्करीका बारे बुझ्न जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता डीएसपी नवीन पौडेललाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
लुम्बिनीबाट प्रहरी र सशस्त्रको संरक्षणमै तस्करीः कतै इन्चार्ज, कतै घुमुवामार्फत् डिल
सशस्त्र प्रहरीको बद्नामीः नाम सेज सुरक्षा, काम तस्करसँग असुली
फलोअपः तस्करसँग साठगाँठ गर्ने रूपन्देही सिडिओका बडिगार्ड र सुरक्षाकर्मी परिवर्तन
असुली धन्दाले प्रहरी बर्दीको ‘बद्नाम’ गराइरहेका इप्रका बेलहियाका घुमुवा कार्की
रूपन्देही सिडिओका बडिगार्ड र सुरक्षाकर्मीको ‘तस्करहरूसँग साठगाँठ’
लेखकको सम्वन्धमा