February 8, 2025, Saturday
२०८१ माघ २७

रूपन्देही सिडिओका बडिगार्ड र सुरक्षाकर्मीको ‘तस्करहरूसँग साठगाँठ’

भैरहवा– प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सुरक्षार्थ खटिएका बडिगार्ड र निवास सुरक्षामा खटिएका प्रहरी कर्मचारीले रुपन्देहीमा असुली र बार्गेनिङ धन्दा मच्याएका छन् । रातिराति तस्करी नियन्त्रणको नाममा जिल्लाका सीमा क्षेत्रमा पुगेर उनीहरुले तस्करहरुसँग बार्गेनिङ गर्ने र असुली गर्ने गरेको तथ्य प्रमाण पब्लिक कुराले प्राप्त गरेको छ ।

Advertisement

अहिले रुपन्देहीमा ब्यापक तस्करी छ । सीमामा खटिने प्रहरी असुलीमा लिप्त हुँदा तस्करी झनै मौलाएको छ । यसैमाथि सीमा क्षेत्रमा खटिएका सशस्त्र र नेपाल प्रहरीलाई बाइपास गर्दै सिडिओको नामबाट बडिगार्ड प्रहरी हवल्दार दुजमान भण्डारी मगर नेतृत्वको टिमले असुली गरिरहेको छ । उनीसँगै असुली र बार्गेनिङमा हवल्दार रेशम राना र जवान प्रकाश सारु पनि खटिएका छन् ।

सिडिओसँग नियमित हिंड्नु परेपछि दुजमानले हवल्दार राना र सारुलाई बढी मात्रामा तस्करसँग भेट गर्ग र मोटो रकम बुझ्न पठाउँछन् । यसरी आएको रकम उनीहरु तीनजनाले बाँडेर खाने गरेका छन् । यसबारे प्रजिअ बासुदेव घिमिरे अनविज्ञ रहेको प्रशासनकै अधिकृतहरु बताउँछन् । ‘उनीहरुले तस्करी नियन्त्रणको बहानामा प्रजिअलाई गुमरहवामा राखिरहेका छन्’, ती अधिकृतले भने, ‘तर, रकमको मोलमोलाइ गरेर असुली गरिरहेका छन् ।’

सिडिओ घिमिरे रुपन्देही आएको एक महिना पनि भएको छैन । जिल्लाको अवस्था बुझ्दै छन् । यही मौकामा बडिगार्डसहितको टिमले लाभ लिइरहेको हो । ‘सिडिओसावले उनीहरुलाई खटाउनुहुन्छ की नाई थाहा छैन, तर उनीहरुका काम असुली बढी छ’, तीन अधिकृत भन्छन्, ‘रकम असुल्ने प्रहरीहरु तर बदुनाम सिडिओसावको भइरहेको छ ।’

दुजमान नेतृत्वको टिमले तौलन भन्ने कपडा तस्करसँग मासिक ५० हजार बुझ्ने गरेको दावी प्रशासनकै कर्मचारीहरुको छ । ‘सुभाष भन्ने कपडा, भेली र चिनी तस्करसँग १ लाख, कुखुरा तस्कर सुनिलसँग २५ हजार, दुलाई भन्ने कुखुरा तस्करसँग १५, प्रकाश भन्ने कपडा र मोबाइल तस्करसँग मासिक १ लाख ५० हजार रकम असुली गर्ने गरेका छन्’, ती कर्मचारीले भने ।

बडिगार्डसहितको टिमले आफूहरुसँग असुली गरिरहेको स्वयं तस्करहरु नै बताउँछन् । पब्लिक कुरालाई प्राप्त अडियो रेकर्डहनुसार अब्दुल भन्ने कपडा र फूल तस्करसँग ५० हजार, छोटु भन्ने हार्डवेयर र चिनी तस्करसँग ४० हजार र पारु भन्ने कपडा तस्करसँग ३५ हजार बुझ्ने गरेका छन् । यो रकम उनीहरुले बुझेर आफै राख्ने गरेका छन् । लामो समय सिडिओको बडिगार्ड र निवास सुरक्षामा खटिएका उनीहरुलाई हेरफेर गर्न सिडिओ र प्रहरीले समेत ध्यान दिएको छैनन् ।

सिडिओले खाना खाने, खाजा खाने र रातमा सुतेको समयमा उनीहरुले भैरहवास्थित बाइपासमा रहेको भैरव डान्सबारमा पुगेर तस्करहरुसँग रकम बुझ्ने गरेका छन् । यस्तै, कतिपय अवस्थामा सिडिओले तस्करी रोक्न आफ्नो टिमलाई खटाउने गरेका छन् । तर, उल्टै यसरी खटिएका बडिगार्डसहितको टिमले रकम असुल्ने गरेको छ । बडिगार्ड र सुरक्षार्थ खटिएको टोलीले नै यसरी गरिरहेको विश्वासघातप्रति सिडिओ अनविज्ञ छन् ।

सिडिओको शक्ति देखाएर उनकै नाममा बडिगार्डसहितको टिमले गरिरहेको असुली धन्दाले प्रहरी समेत चकित बनेको छ । उनीहरुले धकधई, लुम्बिनी, मर्चवार, बेलहिया, कालीदह लगायतका नाकामा पुगेर पनि तस्करहरुलाई भेट्ने र मोलमोलाई गर्ने गरेको प्रमाण पब्लिक कुरालाई प्राप्त भएको छ ।