असुली धन्दाले प्रहरी बर्दीको ‘बद्नाम’ गराइरहेका इप्रका बेलहियाका घुमुवा कार्की

भैरहवा– गोप्य सूचना संकलनका लागि प्रहरी अधिकृतहरुले आफू मातहत सिविल (घुमुवा) प्रहरी परिचालन गर्छन् । यसरी परिचालित घुमुवाले गोप्य सूचना संकलन गरी अपराध नियन्त्रणमा सहयोग गर्नुपर्ने हो । तर, सूचना संकलनका लागि भनेर खटाइएका रुपन्देहीको इलाका प्रहरी कार्यालय, बेलहियाका घुमुवा प्रहरी जवान बाबुराम कार्कीको धन्दा भने भनिसाध्य छैन । उनको नेपाल–भारत दुबैतर्फका ‘नामूद’ तस्करहरुसँग उठबस छ ।
तस्करहरुसँग उठबस मात्रै होइन् रकम ‘असुली’ झनै डरलाग्दो छ । धेरैलाई विश्वास नलाग्ने कुरा हो– एउटा जवानले कसरी नेपाल–भारत दुबैतर्फका तस्करसँग ‘कनेक्सन’ मिलाए । उत्तर सहजै छ– ‘हाकिम’को दरिलो साथ छ । इलाका प्रहरी कार्यालय, बेलहियामा जतिजना इन्चार्जहरु फेरिए पनि कार्कीलाई ‘काखी’ च्याप्छन् । यसको कारण हो कार्कीले हाकिमले भनेजति ‘सबैले रुचाउने चिज’ पैसाले ‘खल्ती’ भरिदिन्छन् ।
कहाँ–कहाँ र को–कोसँग असुल्छन् कार्कीले ?
प्रहरी जवान कार्की लामो समयदेखि इप्रका बेलहियाका घुमुवा छन् । विगतमा उनी विरगंजमा पनि घुमुवा बसेर मनग्य कमाएका प्रहरी जवानमा गनिन्छन् । इप्रका बेलहियामा नयाँ प्रहरी निरीक्षक आउँदावित्तिकै उनीसँग असुली धन्दामा कुराकानी मिल्छ । यसैले उनलाई कसैले हटाउँदैनन् । कार्की विगत दुई वर्षभन्दा लामो समयदेखि बेलहियामा घुमुवा छन् ।
पब्लिक कुरालाई प्राप्त प्रमाण अनुसार पवन भन्ने भारतीय नामूद माछा तस्कर छन् । उक्त तस्करसँग कार्कीले मासिक १ लाख रुपैयाँ बुझेर माछा तस्करीमा सघाइरहेका छन् । यसमा सीमामा खटिने सशस्त्रले पनि कार्कीको धन्दालाई साथ दिँदै आएको छ । पवनले माछासँगै कस्मेटिक, कपडा, हार्डवेयर, काजु, किससिमको समेत काम गर्छन् । भारतीय बजारबाट मोटरसाइकलमा ल्याइने यी वस्तु भैरहवास्थित डण्डा पुलको आसपासमा ल्याएर पिकअप गाडीमा लोड हुन्छ, त्यसपछि भैरहवा, बुटवल, तिलोत्तमा, छपियासम्मका बजारमा पठाइँदै आएको छ ।
बेलहियाको कोटईमाई मन्दिररोडमा कस्मेटिक कारोबार गर्ने टिकाधारीलाई पनि उनै कार्कीको संरक्षण छ । कस्मेटिक कारोबारी तस्कर सुनिल उनका नजिकका पात्र नै हुन् । सुनिलले सुपारी, ल्वाङ, सुकमेलको समेत तस्करी गर्छन् । बेलहियाबाटै कारोबार गर्ने मन्नु यादव भन्ने कस्मेटिक कारोबारीलाई समेत कार्कीको सपोट छ । यी तीन तस्करले नेपाली उत्पादन भारततर्फ र भारतबाट नेपालतर्फ तस्करी गर्ने गरेका छन् । यसबापत कार्कीले तीजना तस्करसँग मासिक ३५–३५ हजारका दरले रकम बुझ्ने गरेको आरोप इलाका प्रहरी कार्यालय, बेलहियामा कार्यरत उनका सहयोद्धा प्रहरीहरु नै बताउँछन् ।
यता सेमलपानीबाट पप्पु भन्ने तस्कारले मासिक ५० हजार बुझाएर कपडा, हार्डवेयर र कस्मेटिक तस्करी गर्दै आएका छन् । सेमलपानी–बगाहाबाट जमाल भन्ने तस्करले कपडा, हार्डवेयर तस्करी गरिरहेका छन् । यसवापत पनि कार्कीले ५० हजार बुझ्ने गरेको तस्करहरुले खुलेयाम बताउँदै आएका छन् । यहाँ बगाहा चौकीका इन्चार्जले कार्कीलाई तस्करी गराउन र असुल्न ‘दह्रो’ साथ दिइरहेका छन् ।
सिद्धार्थनगरस्थित फरेनिया बजार आसपासबाट प्रेम, शैलेश नामका तस्करले कस्मेटिक, हार्डवेयर, कपडा, फूल, जुत्ताको तस्करी गर्छन् । उनीहरुले जनही २५ हजारका दरले बुझाउँद सप्तार, संजय, सलमानले कपडा, हार्डवेयर र जुत्ताको तस्करी गरेवापत कार्कीलाई मासिक ५० हजार दिने दावी इप्रका बेलहियाका प्रहरीहरुको छ ।
अहिले बेलहिया र आसपास हेर्न जाने हो भने दैनिक ‘पोके’ भनेर परिचित १०० जना भन्दा बढी महिला (क्यारिङ गर्ने)हरु ओहोरदोहोर गरेको देख्न सकिन्छ । उनीहरुले भारतीय बजार सुनौली पुगेर कपडा ओसार्छन् । क्यारिङ गरेर भैरहवा, बुटवल लगायतका बजारमा घरघर र पसलहरुमा पुर्याउँछन् । उनीहरुले एकजना बराबर मासिक १० हजार रुपैयाँका दरले कार्कीलाई बुझाएर छुटकारा पाइरहेका छन् । यसमा कार्कीले नै सशस्त्र प्रहरीदेखि प्रहरीका अन्य युनिट मिलाइदिने गरेका छन् ।
कार्कीले नेपालतर्फ तस्करी गर्न सघाएवापत भारतीय ब्यापारीसँग पनि मासिक ५ देखि १० हजार रुपैयाँसम्म रकम बुझ्ने गरेको भारतीय ब्यापारीहरु बताउँछन् । यी बाहेक दैनिक अन्य सानाठूला तस्करहरुसँग कार्कीको उठबस राम्रो भएको बताइन्छ । कार्की तिनै प्रहरी जवान हुन्, जो वर्षौंदेखि सबै हाकिमको प्रिय घुमुवा छन् । तर, उनले प्रहरी जस्तो पवित्र संगठनको बर्दी लगाएर तस्करहरुसँगको मिलेमतोमा बद्नाम गरिरहेका छन् ।
कार्कीले बुझेको पैसा आफै राख्छन् की हाकिमलाई दिन्छन् ?
तपाईं हामी सहजै अनुमान गर्न सक्छौं– यति मोटो रकम बुझेर तस्करहरुलाई सघाइरहेका कार्की एक्लैले यति ठूलो आँट गरेका होलान ? पक्कै होइनन् । उनले तस्करहरुसँग बुझेको रकम हाकिमलाई बुझाउँछन् । पब्लिक कुरालाई प्राप्त तथ्यप्रमाण केलाउँदा कार्कीले तस्करहरुसँग बुझेको मध्ये मोटो रकम इन्चार्जको खल्तीमा जान्छ । बाँकी आफै राख्छन् । उनले पूराना माथिल्लो तहका प्रहरीलाई समेत सपिङ गरिदिने गरेका छन् । दसैंमा उनले केही प्रहरी अधिकृतहरुलाई सपिङ गरिदिएको, तिहारमा मिठाई र पटका पठाइदिएको अहिले पनि इप्रका बेलहियामा चर्चा हुने गरेको छ ।
के भन्छन् इप्रका बेलहियाका इन्चार्ज ?
इलाका प्रहरी कार्यालय, बेलहियाका इन्चार्ज प्रहरी निरीक्षक मुकेश न्यौपानेले कार्कीले गलत गरेको भए त्यसबारे सत्यतथ्य बुझेर करेक्सन गर्न लगाउने बताए । ‘सूचना संकलनका लागि कार्कीलाई पठाउने गरिएको छ’, उनले भने, ‘यदि सूचना संकलनका नाममा अन्य गलत मनसायले काम गरेको भए कारबाही हुन्छ ।’ उनले आफूले कार्कीसँग कुरा गरेको तर उसले केही केही गलत गरेको छैन भनेको जानकारी दिए । ‘यदि बुझ्ने क्रममा गलत गरेको पाइए कार्कीलाई विभागीय कारबाही हुन्छ’, उनले भने, ‘प्रहरीले जिम्मेवार भएर काम गर्नुपर्छ ।’
रूपन्देही सिडिओका बडिगार्ड र सुरक्षाकर्मीको ‘तस्करहरूसँग साठगाँठ’
लेखकको सम्वन्धमा