सशस्त्र प्रहरीको बद्नामीः नाम सेज सुरक्षा, काम तस्करसँग असुली


भैरहवा– सशस्त्र प्रहरी बल विशेष आर्थिक क्षेत्र (सेज) सुरक्षार्थ खटिएको टिमले के गर्ला ? सबैको विश्वास र अनुमान हुन्छ– विशेष आर्थिक क्षेत्रको सुरक्षा गरिरहेको हेला । हुन पनि सरकारले सेजकै सुरक्षाका लागि भैरहवास्थित विशेष आर्थिक क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा एउटा पोष्ट खडा गरेको छ । यही पोष्टले सेजको सुरक्षा गर्दै आइरहेको छ ।
तर, पछिल्लो समय यहाँ रहेका सशस्त्र प्रहरीका इन्चार्ज र अन्य प्रहरी कर्मचारी बरालिन थालेका छन् । उनीहरुको ध्यान सेजको सुरक्षा भन्दा बढी तस्करहरुसँग मोलमोलाइ गर्ने र आर्थिक लाभ लिनेमा केन्द्रित छ । यही कारणले गर्दा होला केही समय अघि सेजमा ट्रान्सफर्मर हराउँदा समेत सुरक्षार्थ रहेको सशस्त्र प्रहरीले अत्तोपत्तो पाएन ।
अहिले सेज सुरक्षामा खटिएको सशस्त्रको पोष्टको इन्चार्ज छन् सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम रेग्मी । तर, उनै रेग्मीले जवान विक्रम जिसीलाई परिचालन गरेर तस्करहरुसँग आर्थिक संकलन गरिरहेका छन् । सशस्त्र प्रहरीका एक जुनियर अधिकृत भन्छन्, ‘हाम्रो काम सेजको सुरक्षा गर्ने हो । तर, घुमुवा परिचालन गरेर तस्करहरुसँग रकम असुली भइरहेको छ । हामी तल्लो तहका कर्मचारीले के भन्न सक्छौं र ? जब इन्चार्जले नै घुमुवा परिचालन गरेपछि ।’
पब्लिक कुरालाई प्राप्त तथ्यप्रमाण अनुसार जिसीले बेलहियाको कोटईमाई मन्दिररोडमा कस्मेटिक कारोबार गर्ने टिकाधारी, कस्मेटिक कारोबारी तस्कर सुनिलसँग उठबस छ । सुनिलले सुपारी, ल्वाङ, सुकमेलको समेत तस्करी गर्छन् । बेलहियाबाटै कारोबार गर्ने मन्नु यादव भन्ने कस्मेटिक कारोबारीसँग पनि जिसीले सशस्त्र प्रहरी निरीक्षक रेग्मीको आडमा रकम असुली गरिरहेका छन् । उनीहरुसँग जिसीले मासिक १५ हजार रकम बुझ्ने गरेको तस्करहरु बताउँछन् ।
पवन भन्ने माछा तस्कर भारतीय नगरिकसँग मासिक २५ हजार रकम बुझ्ने गरेका छन् । पवनले माछासँगै कस्मेटिक, कपडा, हार्डवेयर, काजु, किससिमको समेत काम गर्छन् । यस्तै, तस्कहरु प्रेम, शैलेश, सप्तार, संजय, सलमानसँग पनि उनले मासिक १२ हजारका दरले रकम असुली गरिरहेको दावी पब्लिक कुरालाई प्राप्त प्रमाणमा उल्लेख छ । उनीहरुले कपडा, हार्डवेयर, जुत्ता, घरायसी सामानको समेत कारोबार गर्छन् ।
यस्तै, ‘पोके’ नामले परिचित क्यारिङको काम गर्ने ५० बढी महिलाहरुसँग मासिक ३ हजारका दरले डिल गरेर जिसीले रकम बुझ्ने गरेका छन् । उक्त रकम उनले इन्चार्ज र माथिल्लो तहसम्म पुर्याउने गरेको दावी सशस्त्रका जवानहरु गर्छन् । इन्चार्जको साथले गर्दा जिसीले आफूभन्दा सिनियर र जुनियर सशस्त्र प्रहरी कर्मचारीलाई टेर्दैनन् । रुखो बोल्ने गरेका छन् ।
लक्ष्यविपरीत सशस्त्रले घुमुवा राखेर तस्करसँग आर्थिक लाभ लिन थाले पछि अहिले नाकामा तस्करी बढिरहेको छ । अचम्म के छ भने सेजको सुरक्षामा खटिएको सशस्त्रले समेत घुमुवा परिचालन गर्छ भने सीमा नाकामा खटिएका सशस्त्रका अधिकृतहरुले के गरेका होलान् ? प्रश्न यहाँनिर छ ।
अहिले सशस्त्र प्रहरीमा जिल्लाका विभिन्न युनिटहरुमा सेज सुरक्षामा खटिएको टिमले पनि घुमुवार राखेर तस्करहरुसँग असुली गरिरहेका बारे चर्चा छ । एक सशस्त्र प्रहरी अधिकृत भन्छन्, ‘जिल्लामा एसपीसाबले तस्करी रोक्न अभियान चलाउनु भएको छ । तर, तल्लो तहकाले विभिन्न बहानामा तस्करहरुसँग मिलेमतो गरिरहेका छन् । जसले गर्दा राम्रो गर्न खोज्दा पनि सशस्त्रको बद्नाम भइरहेको छ ।’
ती अधिकृतले सेजको सुरक्षामा खटिएको टिमले घुमुवा परिचालन गर्नु अस्वभाविक भएको बताए । ‘आन्तरिक रुपमा सूचना संकलन गर्नु ठीकै मानिन्छ तर तस्करहरुसँग मोलमोलाई गर्नु र आर्थिक लाभ लिनु गलत छ । त्यस्तालाई संगठनले कारबाही गर्नुपर्छ’, उनले भने, ‘घुमुवाले कहाँ कोसँग के गरिरहेको छ भन्नेबारे इन्चार्जले आफै विशेष ख्याल गर्नुपर्ने हो । तर, सेज रहेको सशस्त्रका इन्चार्जले यो कुरामा ध्यान दिएको पाइएन ।’
घुमुवा राखेर तस्करहरुसँग मिलेमतो गरिरहनु भएको रहेछ नी भन्ने पब्लिक कुराको प्रश्नमा सशस्त्र प्रहरी निरीक्षक रेग्मीले आफूहरुको नीति घुमुवा राख्ने नभएको बताए । ‘हाम्रो नीति घुमुवा राख्ने पनि छैन र हामीले त्यसरी कसैलाई परिचालन पनि गरेका छैनौं’, रेग्मीले भने ।
फलोअपः तस्करसँग साठगाँठ गर्ने रूपन्देही सिडिओका बडिगार्ड र सुरक्षाकर्मी परिवर्तन
असुली धन्दाले प्रहरी बर्दीको ‘बद्नाम’ गराइरहेका इप्रका बेलहियाका घुमुवा कार्की
रूपन्देही सिडिओका बडिगार्ड र सुरक्षाकर्मीको ‘तस्करहरूसँग साठगाँठ’
#सशस्त्र घुमुवा








लेखकको सम्वन्धमा