लुम्बिनीबाट प्रहरी र सशस्त्रको संरक्षणमै तस्करीः कतै इन्चार्ज, कतै घुमुवामार्फत् डिल

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनी शान्ति भूमि हो । शान्ति क्षेत्र आसपासका बासिन्दाले समाजमा शान्ति स्थापित गर्नु पर्ने हो । सोहीअनुसार यस क्षेत्रमा कार्यरत सुरक्षा अधिकारीले पनि समाजलाई सुससुचित गर्नुपर्ने हुन्छ । तर, शान्तिभूमि लुम्बिनी क्षेत्रमा अहिले तस्करहरुको रजाइँ छ । यहाँ सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीले नै तस्करहरुको मलजल गरिरहेका छन् । जसले गर्दा शान्ति भूमि लुम्बिनी आसपास तस्करहरुको अखडा नै बनेको छ ।
रातदिन तस्करहरुको आउजाउले स्थानीय राम्रोसँग सुत्न सक्दैनन् । होहल्ला र सवारी साधनको आजाव कानमै गुञ्जिने गरेको छ । अर्कातर्फ शान्ति क्षेत्रका ढाटछल र चोरी तस्करी हुन नहुने स्थानीय बताउँछन् । तर, इलाका प्रहरी कार्यालय लुम्बिनी, सशस्त्र प्रहरी बल बीओपी, बयरघाट, प्रहरी चौकी कालीदहकै मिलेमतोमा लुम्बिनी आसपासबाट व्यापक तस्करी भइरहेको छ । इलाका प्रहरी कार्यालय, लुम्बिनीले सहायक हवल्दार ताराचन्द्र यादव र उनका सहयोगी जन्तलाल गुप्तालाई सूचना संकलनका नाममा घुमुवाका रुपमा परिचालन गरेको छ । पटक–पटक रुपन्देहीका विभिन्न ठाउँमा घुमुवा बसेका ‘अनुभवी’ र तस्करहरुसँग साठगाँठ गर्न सक्ने ताराचन्द्र यादवलाई इप्रकाले असुलीमा खटाएको छ ।
यावद नेतृत्वको घुमुवा टोलीले मासिक रकम बुझेर छाडेको एक ट्रक कपडा केही समय अघि प्रहरीले बुटवलबाट बरामद गरेको थियो । उक्त कपडा र ट्रकको मूल्य करिब ५० लाख रुपैयाँ रहेको जनाइएको छ । यतिमात्र होइन्, दुई हप्ता अघि राजस्व अनुसन्धानको टोलीले लुम्बिनीबाट ठूलो मात्रामा चिनी बरामद गरेको थियो । त्यसमा पनि सशस्त्र बयरघाट र इप्रकाका घुमुवा ताराचन्द्र यादवको मिलेमतो रहेको दावी लुम्बिनीका स्थानीयको छ ।
स्थानीयले यसअघि जिल्ला प्रशासन र रुपन्देही प्रहरी प्रमुखलाई भेटेर लुम्बिनी क्षेत्रबाट ब्यापक तस्करी भइरहेको गुनासो गरेका थिए । त्यसपछि केही समय निगरानी बढाइएको थियो । तर, पछिल्ला दिनमा घुमुवा प्रहरीको विश्वासमा पर्दा लुम्बिनीमा खुलेयाम तस्करी भइरहेको स्थानीय रमेश अहिरले बताए । लुम्बिनी क्षेत्रबाट अहिले कपडा, हार्डवेयर, चिनी, चामल, काजु, बदाम, सुन, कस्मेटिक, खसीबोका, भैंसी, मकै, दाल लगायतको ब्यापक तस्करी छ ।
लुम्बिनीमा कक्रहवा–कालीदह नाकाबाटै खुलेयाम तस्करी भइरहेको छ । कक्रहवाको छेउमा रहेको अजमा नाका पनि धेरै तस्करहरुको रोजाईमा पर्छ । यससँगै लखडिया, झुलनीपुरबाट निस्कने तस्करीको सामान खुलेयाम भित्रिन दिएर इप्रकाका घुमुवा यादवले लाखौं रुपैयाँ असुल्दै आइरहेका छन् । स्थानीयका अनुसार सशस्त्र र नेपाल प्रहरीका घुमुवाहरुले लुम्बिनीतर्फ जिल्ला प्रहरी र सशस्त्रको गणबाट एसपी, डीएसपीहरु कहिलेकाही छड्के जाँचमा जाँदा पहिल्यै तस्करहरुलाई जानकारी दिन्छन् । ‘जसले गर्दा उनीहरु केही भेट्टाउँदैनन् तर नाकाबाट अन्य समयमा नियमित तस्करी भइरहेको छ’, एक स्थानीयले भने ।
घुमुवा यादव र गुप्तालाई इप्रकाका लुम्बिनीका इन्चार्ज प्रहरी निरीक्षक दीपक मगराठीले दह्रो साथ दिएका छन् । उनकै साथ र सहयोगले गर्दा महिनामा लाखौं रुपैयाँ उठाएर घुमुवाले बुझाउने गरेका छन् । यता सशस्त्र प्रहरी बीओपी बयरघाटका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र मल्ल भने आफैले तस्करहरुसँग भेटेर असुली गर्ने गरिरहेका छन् । उनले कहिलेकाही जुनियर अधिकृत र एकजना हवल्दारलाई तस्करहरुसँग भेटघाटका लागि पठाउने गरे पनि मल्ले अधिकांश तस्करहरुलाई आफै भेट्ने र रकम बुझ्ने गरेको स्वयं तस्करहरु नै दावी गर्छन् । पब्लिक कुरालाई प्राप्त अडियो रेकर्डमा पनि यो कुरा पुष्टि हुन्छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १३, वडलियाका अब्दुल ओहिद उर्फ लल्लुले कपडा, चिनी र सूर्ति, सोही वडाका प्रकाश यादवले कपडा, फ्रिज, एसी, मोबाइल र सोही वडाका विष्णु यादवले मोबाइलका पार्ट्स र कपडा तस्करी गर्दै आएका छन् । यस्तै, वडा नम्बर १ का श्यामप्रकाश कहाँर उर्फ माकसले सुन, खाद, चिनी तस्करी गरिरहेका छन् । उनीहरुले रातदिन तस्करी गरिरहेको स्थानीय बताउँछन् ।
यस्तै, लुम्बिनीको वडा नम्बर ५ का वडा सदस्य समेत रहेका सम्सुल हक उर्फ सोमनले कुखुराको कोइलर र बोइलर चल्ला तस्करी गरिरहेको प्रत्यक्षदर्सीको दावी छ । वडा नम्बर ६ का कलाउद्दिन मुसलमानले भैंसी र पाडा, वडा नम्बर १३ का जितेन्द्र बनियाँले गल्ला, चिनी, कपडा, सोही वडाका बासिन्दा तर भारतमा बस्दै आएका कृष्ण नामका तस्करले मोबाइल, कपडा, कस्मेटिक, गल्ला तस्करी गरिरहेका छन् । यस्तै, १३ नम्बर वडाकै अजिजु रहमान उर्फ छोटुले कपडा, चिनी, गल्ला, जुताचप्पल, खाद तथा वडा नम्बर ५ का साजिद मुसलमानले कुखुराको चल्ला तस्करी गरिरहेको पब्लिक कुरालाई प्राप्त तथ्यप्रमाणमा उल्लेख छ ।
यी तस्करहरुसँग तारान्द्र यादवको रातदिन उठबस हुने स्थानीय प्रत्यक्षदर्शीको दावी छ । केही तस्करहरुले प्रहरी निरीक्षक मगराठीसँग नै डिल गरिरहेको दावी गरिएको छ । माथि उल्लेखित तस्करहरुले सशस्त्रको बीओपी बयरघाटका इन्चार्जलाई मासिक ५ हजारदेखि ५० हजार र इप्रका लुम्बिनीलाई ५ हजारदेखि ६० हजारका दरले मासिक बुझाउने गरेका छन् ।
इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक दीपक मगराठीले सूचना संकलनका लागि, फरार अभियुक्त पक्राउ र चोरीडकैती रोक्न यादव र गुप्तालाई खटाउने गरेको बताए । उनले सूचना संकलनका नाममा गलत गरे–नगरेको बुझ्ने जनाए । ‘बास्तविकता के हो म बुझ्छु’, उनले भने, ‘कतै गलत मानिसको संगत नहोस् भन्नेमा हामी सचेत छौं ।’ इप्रकाका घुमुवा यादव र गुप्ताले तस्करहरुसँग मिलेर लाखौं रुपैयाँ उठाएर आफै खान्छन् की तपाईंलाई पनि दिन्छन् भन्ने प्रश्नमा उनले पैसा उठाएका बारे आफूलाई केही थाहा नभएको बताए ।
सशस्त्र प्रहरी बीओपी बयरघाटका प्रमुख सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र मल्लले तस्करी नियन्त्रणमा आफूहरु लागिपरेको बताए । ‘दश दिनदेखि म विदामा छु’, उनले भने, ‘विदामा हुँदा समेत फोन गरेर नाकामा कडाई गर्न भनेको छु । तस्करी लुम्बिनी क्षेत्रबाट भएकै छैन ।’ उनले समय–समयमा सामान समाउने गरिएको जनाउँदै नाकामा अझै कडाई गर्ने बताए । तपाईंले तस्करसँगै आफै डिल गरेर रकम बुझ्नुहुन्छ रे ? भन्ने पब्लिक कुराको प्रश्नमा मल्लले भने, ‘यो आरोप हो । मैले कसैसँग लाभका लागि कुनै किसिमको काम गरेको छैन ।’
सशस्त्र प्रहरीको बद्नामीः नाम सेज सुरक्षा, काम तस्करसँग असुली
फलोअपः तस्करसँग साठगाँठ गर्ने रूपन्देही सिडिओका बडिगार्ड र सुरक्षाकर्मी परिवर्तन
असुली धन्दाले प्रहरी बर्दीको ‘बद्नाम’ गराइरहेका इप्रका बेलहियाका घुमुवा कार्की
रूपन्देही सिडिओका बडिगार्ड र सुरक्षाकर्मीको ‘तस्करहरूसँग साठगाँठ’
लेखकको सम्वन्धमा