अब्बल बन्दैछ भीम अस्पताल



भैरहवा– गरिब, विपन्न र ग्रामीण समुदायका वासिन्दाको उपचारका लागि पहिलो रोजाइमा पर्छ, भीम अस्पताल । सेवा सुधारपछि अहिले सहरका सबै वर्गका मानिसले पनि भीममा उपचार गर्न थालेका छन् । कुनैबेला सरकारी अस्पताल भनेपछि नाम खुम्च्याउने यहाँका नागरिक अहिले पहिलो रोजाइ भीमलाई लिन्छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. शकुन्तला गुप्ताले सेवा सुधार र विस्तारले सबैको रोजाई भीम अस्पताल बन्दै गएको जनाइन् । ‘सबैले अहिले विश्वास गर्ने अस्पताल भीम बनेको छ’, उनले भनिन्, ‘यो विश्वासलाई कायम राख्दै हामीले अझ गुणस्तरीय सेवा र उपधार दिन लागि परेका छौं ।’
डा. गुप्ताका अनुसार अहिले अस्पतालमा सामान्यदेखि विशिष्टिकृत सेवा प्रदान हुँदै आएको छ । जसले गर्दा धेरैले भीम अस्पताललाई भरोसा गर्न थालेका छन् । ‘२४सै घण्टा आकस्मिक सेवासहित उपचार हुने भएपछि विरामीले विश्वास गर्दै जानु स्वभाविक हो’, उनले भनिन्, ‘अस्पताललाई सबैले उपचारमा पहिलो रोजाईमा पार्नका लागि हामी लागिरहेका छौं । टिमवर्कले काम गरिरहेका छौं । सबैको साथ र सहयोग भए अझै उत्कृष्ट अस्पताल बनाउन सकिन्छ ।’
अस्पतालले आकस्मिक सेवासँगै बालरोगविशेषज्ञ ओपिडि सेवा, आँखा रोग विशेषज्ञ ओपिडि सेवा, नाक, कान, घाँटी रोग विशेषज्ञ ओपिडिसेवा, छाला तथा यौन रोग विशेषज्ञ ओपिडिसेवा, स्त्रि तथा प्रसुति रोग विशेषज्ञ ओपिडिसेवा प्रदान गरिरहेको छ । यस्तै, जनरल फिजिसियन विशेषज्ञ ओपिडिसेवा, सर्जरी विशेषज्ञ ओपिडिसेवा, गर्भवती चेकजाँच, अस्थाई परिवार नियोजन तथाखोप सेवा, भिडियो एक्स रे सेवा प्रदान गरिरहेको डा. गुप्ताले जनाइन् ।
‘चौविसै घण्टा फार्मेसी सेवा, चौविसै घण्टा एक्स रे सेवा, चौविसै घण्टा सामान्य, जटिलतायुक्त तथा अप्रेशनद्वारा गरिने प्रसुति सेवा, चौविसै घण्टा प्रयोगशाला सेवा प्रदान गरिरहेका छौं’, उनले भनिन्, ‘यी उपचार र सेवा भनेका आम नागरिकलाई दैनिकरुपमा आवश्यक सेवा हुन्, यसैले उपलब्ध सेवालाई प्रभावकारी बनाउँदै लगेका छौं ।’

अस्पतालले चौविसै घण्टा सीटी स्क्यान सेवा, चौविसै घण्टा रक्तसंचार सेवा, ए.आर.टी. सेवा, लैङ्गीक हिंसामा आधारित एकद्धार संकट व्यवस्थापन केन्द्र सेवा, लक्षित वर्गको लागि सहुलियतमा उपचार गर्नका लागि सामाजिक सेवा एकाई संचालन गरिरहेको छ ।
भीम अस्पताल ५० शय्याको भए पनि सय शय्यामा संचालित छ । अस्पतालको गुणस्तर सुधारमा उल्लेख्य प्रगती भएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा.अनन्तकुमार शर्माले सबैको प्रयासले अस्पताल भरोसायोग्य भएको बताउँछन् । ‘एजनाको प्रयासले अस्पताललाई सबैको भरोसायोग्य बनाउन सकिँदैन’, उनले भने, ‘यसका लागि सबै विभागले उत्तिकै काम गर्नुपर्ने हुन्छ । हामीले त्यसलाई मनन् गरेर काम गरिरहेका छौं ।’
जिल्ला समन्वय समिति, रुपन्देहीका सभापति उमाकान्त चपाईले विगतमा खस्किरहेको अस्पताल अहिले उत्कृष्टतातर्फ अघि बढिरहेको जनाए । पहिला धेरै गुनासाहरु आउने गरे पनि अहिले यहाँ उपचारमा आउने विरामी उपचार पछि सन्तुष्ट हुने गरेको उनले सुनाए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहम्मद खानले टिमवर्ककै कारण भीम अस्पताल सबै किसिमका विरामीको रोजाई पर्दै गएको बताउँछन् । उनले अस्पतालले दिने सेवा अझै प्रभावकारी बन्नु पर्ने जनाउँदै त्यसका लागि नगरपालिकाबाट सबै किसिमको सहयोग हुने जनाए । आउने वर्षहरुमा मुलुकमै उत्कृष्ट हुने गरी काम गर्न उनले आग्रह गरे ।
उपचार सेवा राम्रो भएपछि पछिल्लो समय अस्पतालमा विरामीको चाप बढेको छ । औसतमा दैनिक पाँच सय बढी बिरामी उपचारका लागि यहाँ आउने गरेका छन् । भीममा आईसीयूसहितको विशेषज्ञ सेवा उपलब्ध छ । यहाँका नागरिक समाजको साथ र सहयोगले काम गर्न थप हौसला प्रदान भएको डा. गुप्ता बताउँछिन् । उनले भनिन्, ‘यो अस्पतालप्रति नागरिकको भरोसा बढेको छ । आवश्यक जनशक्तिको अभाव र सीमित स्रोतसाधनका बाबजुद विभिन्न सेवाहरु विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न लागिपरेका छौं ।’

अस्पतालका मेडिकल रेकर्डर खिमु थापाका अनुसार गत आर्थिक वर्ष २०८०–०८१ मा १ लाख १२ हजार ८ सय ५४ जना बिरामीले ओपिडी सेवा लिएका छन् । ‘यो अवधिमा १४ हजार ९ सय १३ जनाले आकस्मिक सेवा लिएका छन्’, उनले भने, ‘दैनिक विरामीको चाप बढ्दो छ । यसले अस्पतालप्रति आम नामगरिकको विश्वास बढेको देखाउँछ ।’
१९९० सालमा ३ बेडबाट सुरु भएको भीम अस्पताल अहिले बिशाल बनेको छ । सक्षम नेतृत्व र सबैको सहयोगले अस्पतालले विशेषज्ञ सेवा प्रवाह गरिरहेको हो । अस्पतालमा पछिल्लो समय पूर्वाधार, उपकरण र विशेषज्ञ सेवा थपिँदै गएको छ । यसले सरकारी अस्पतालप्रति आमनागरिकको विश्वास बढाउँदै लगेको छ । विगतमा अहेव र इन्टर्नशिप गर्न आउने चिकित्सकको भरमा चल्ने गरेको अस्पतालमा अहिले भने दर्जन विशेषज्ञ चिकित्सक उपलब्ध छन् ।








प्रतिकृया दिनुहोस्