बाढीले खेदेको परिवार त्रासमै



भैरहवा– यतिबेला जताजतै विपतको डर छ । ठूलो वर्षा भयो कि तराईका जिल्लामा डुवानको त्रास बढ्छ । खोला–नाला बढनासाथ कटानको खतरा हुन्छ । तर, प्राचीन समयदेखि मानव बसोबास नदी, खोला आसपास नै हुन्छ । विश्वमा ठूला मानव सभ्यताको बिकास नदी किनारमै भएको पाइन्छ । पिउनेदेखि खेतीपातीमा पानीको सहज आपूर्तिका लागि मानिसले नदीनाला रोज्ने गर्छन् । यहाँ पनि धेरै बस्ती नदीखोला आसपासमै रहेका छन् ।
पानीले सधै आवश्यकता पूर्ति मात्र गर्दैन । विपदका बेला उठिबास समेत लगाउँछ । रुपन्देहीको सिमावर्ती गाउँपालिकाको एउटा परिवार यस्तै जोखिमको शिकार बनेको छ । उक्त परिवारलाई बाढीले खेदेको खेद्यैं छ । त्यो पनि एकदुई पटकमात्र होइन । तीन–तीन पटक उठिबास लगाइसकेको छ । अहिले फेरि घर छेउको दानव नदी उर्लिएर आँगनमा आउन थालेपछि परिवारै त्रासमा छन् । सम्मरीमाई गाउँपालिका–५, भरौलीयास्थित ७५ वर्षीया समीउन निशाको परिवारलाई बाढीले सताएको हो । उनले प्रत्येक वर्ष बाढीको सामना गर्नुपरिरहेको छ ।
यसपटक समीउनकी बुहारी २३ वर्षीया हसिबुन निशा गर्भवती छिन् । हसिबुन सुत्केरी हुन आधा महिना बाँकी छ । परिवारलाई भने उनी सुत्केरी हुन नपाउँदै बाढी घरमा पसेर आपत पो पार्छ कि भन्ने चिन्ता छ । दानव नदी किनारमा घर छ । ठूलो वर्षा हुनासाथ दानवको पानी घरभित्रै पस्छ । खोला उर्लिर आँगनमा आउँछ । निदाएका बेला बाढी पस्यो भने कसरी ज्यान जोगाउने भन्ने पिरलो छ । जोखिममा परे कसरी बांचुला भन्ने चिन्ता लाग्ने उनले बताइन् ।
‘दुईवटा साना बच्चा छन्,’ उनले भनिन्, ‘तेस्रो सन्तान कोखमा छ, पानी पर्दा रातभरि जागा बस्छु, बाढीले घरै बगाउने डरले सताउँछ ।’ हसिबुनको घरमा उनीसँगै उनकी जेठानी दिदी, सासुआमा र जेठाजु दाईसँगै बालबालिका पनि बस्छन् । ८ वर्ष भयो विवाह भएको । श्रीमान विदेश गएका छन् । विवाह भएदेखि हरेक वर्ष वर्षायाममा यस्तै चिन्ताले सताउने गरेको छ । यसपटक गर्भवती भएकाले झन आपत परेको उनले सुनाइन् । ‘ठूलो बर्खा भएका बेला चारपटक सडकतिर दौडिसकेँ,’ उनले थपिन्, ‘अझै झरी बाँकी छ भन्छन्, मलाई एकदमै चिन्ता लागेको छ ।’
उनको परिवारलाई बाढीले तीनपटक बिस्थापित गरिसक्यो । चौथोपटक त्यस्तै नियती भोग्नु नपरोस् भनेर कामना गरिरहेको उनले बताइन् । हसिबुनकी सासुआमाले बाढीले खेदेरै अहिले घर भएको ठाउँमा ल्याइपुर्याएको बताउँछिन । उनका अनुसार पहिलो घर दानव पारि भभई गाउँमा थियो । त्यहाँ बाढीले घर भत्काएपछि भभईको नयाँ ठाउँमा अर्को घर बनाए । त्यहाँ पनि बाढीले बस्न दिएन । घर बगायो । त्यसपछि भरौलियामा आएर घर बनाएको ७५ वर्षीया समीउनले बताइन् । अहिले दानवले कटान गरिरहेको छ । उनको घर छेउमै आइपुगेको छ । अहिले घर भरौलियामा छ । खेतीबारी भभईमा छ । कटान गरेर घर र केही कठ्ठा मात्र बचेको उनले बताइन् ।
विभिन्न समयमा आएका बाढीका कारण तीनपटक घर सार्नु परेको उनले बताइन् । ‘अब विपद परे जाने ठाउँ छैन,’ उनले भनिन्, ‘साना बालबच्चा लिएर छिमेकीको सहयोगमा नदी तरेर भागेर धेरैपटक बाँचें, श्रीमान गुमाए, अहिले बुहारी, नाती नतिना जोगाउन समस्या परिरहेको छ ।’ कतिबेला ठुलो भेल आउँछ पत्तो नहुने उनको भनाई छ । विगतदेखि भोग्दै आएको समस्याबाट छुटकारा नमिलेको उनले बताइन् । ‘नदीले जमिन नै कटान गरेपछि ड्याम बनाइदिएर जोगाउने जिम्मा कसको होला ? उनले भनिन्, ‘हाम्रो लागि न सरकार न नेता न कोही ।’








प्रतिकृया दिनुहोस्