November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

सत्ताको खेलले मुख्यमन्त्री र मन्त्री उत्पादनको ‘कारखाना’ बन्यो लुम्बिनी

Advertisement

भैरहवा– संघमा जस्तै लुम्बिनी प्रदेशमा पनि सत्ताकै खेल भइरहेको छ । प्रदेश जस्तो नयाँ संरचनालाई स्थायित्व प्रदान गर्नेभन्दा छोटो छोटो अवधिमा सरकार फेरबदल गर्नमा दलको ध्यान केन्द्रित छ । यसले प्रदेशलाई झन अस्थिर तुल्याउन थालेको छ । छोटो अवधिमा सरकार परिवर्तन हुन थालेपछि प्रदेश सांसद नै दिक्क बन्न थालेका छन् । मुलुक संघीय संरचना अनुसार सञ्चालन भए पनि संघको निर्देशनमा प्रदेशमा सरकार फेरबदल भइरहेका छन् । यतिसम्म की ६ वर्षमा ६ जना मुख्यमन्त्री बनेका छन् । मन्त्री बन्नेहरुको ताँती हेर्दा र देख्दा नै दिक्क लाग्दो छ । अनर्थ नलाग्ने हो भने लुम्बिनी प्रदेश मुख्यमन्त्री र मन्त्री उत्पादनको कारखाना नै बनेको छ ।

Advertisement

प्रदेशमा सत्ता परिवर्तन मात्र होइन, मुख्यमन्त्री र मन्त्रीको निधों समेत दलका शीर्ष नेताले काठमाडौंमा गर्न थालेपछि प्रदेश जनताका लागि ‘घाँडो’ बन्न थालेको छ । यसले प्रदेशमा राजनीतिक अस्थिरता बढेको छ । त्यसको उदाहरण लुम्बिनीमा ६ वर्ष ५ महिनाको अवधिमा ६ जना मुख्यमन्त्री बन्नु हो । छोटो अवधिमा मुख्यमन्त्री परिवर्तन हुँदा उनीहरुले आफ्नो सोच र दृष्टिकोण अनुसार योजना र कार्यक्रम लागू गर्न पाएका छैनन् । प्रदेशसभाको पछिल्ला साढे २ वर्ष झनै अस्थिर बनेका छन् । यस अवधिमा मात्रै ४ जना मुख्यमन्त्री बने । प्रदेशमा साढे ६ वर्षको अवधिमा ५० जना मन्त्री बनेका छन् ।

प्रदेशमा सरकार फेरिरहँदा विकासका काम प्रभावकारी हुन सकेका छैनन् । अर्कोतर्फ घाटा बजेटले उधारोमा काम गर्नु परेको छ । सुरुमा दाङका शंकर पोखरेल मुख्यमन्त्री भए । संघमा सञ्चारमन्त्री भइसकेका पोखरेल मुख्यमन्त्री बन्नकै लागि प्रदेश झरेका थिए । एमाले–माओवादी वाम गठबन्धनबाट चुनाव जितेका उनी २०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका थिए । बुटवलमा अस्थायी राजधानीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मन्त्रालयदेखि प्रशासनिक संरचना व्यवस्थित गर्दै लुम्बिनीको विकास योजना निर्माण गर्ने क्रममा एमाले–माओवादीबीच चुनावमा गरिएको वाम गठबन्धन पार्टी एकतामा परिणत हुँदै पुनः विभाजन भयो ।

२०७८ वैशाख १९ गते मुख्यमन्त्री पदबाट पोखरेलले राजीनामा दिए । सोही दिनै उनी संविधानको धारा १६८ को उपधारा १ बमोजिम दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भए । बुटवलमा तोकिएको ५ नम्बर प्रदेश अस्थायी राजधानीलाई दाङमा स्थायी राजधानी बनाउन प्रदेशसभाबाट बहुमतले पारित भयो । प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ बनाइयो ।

स्थायी मुकाम रहेको रुपन्देहीका सांसद राजधानी सार्ने विषयमा पोखरेलको प्रस्तावको विपक्षमा जान सकेनन्, समर्थन नै गरे । दाङको राप्ती उपत्यकालाई केन्द्र बनाएर अर्घाखाँची शीतगंगा नगरपालिकाको भूगोल समेटेर प्रदेशको आधुनिक राजधानी निर्माण गर्न यस क्षेत्रको जग्गा किनबेचमा रोक लगाए । पोखरेलको पालामा लुम्बिनी प्रदेश सरकारमा ७ वटा मन्त्रालय थिए । उनले ६ जना मात्रै मन्त्री नियुक्त गरेका थिए ।

आधुनिक राजधानी निर्माणको लागि डिजाइन बनाउँदै गर्दा संघमा कांग्रेस–माओवादीको सत्ता सहकार्य बन्यो । लुम्बिनीमा पनि सरकार कमजोर बन्यो । दाङबाट सूर्य चिह्नबाट चुनाव जितेकी विमला वली माओवादी रोजेपछि पोखरेल नेतृत्वको सरकार ढल्यो ।

त्यसपछि २०७८ साउन २८ गते कांग्रेस–एमालेसहितको साना दलको गठबन्धनबाट माओवादीका कुलप्रसाद केसी दोस्रो मुख्यमन्त्री बने । आफूलाई समर्थन गरेकालाई भागबन्डा पुर्याउन केसीलाई ७ वटा मन्त्रालय फुटाएर १७ जना मन्त्री बनाए । उनै विमला वलीलाई स्वास्थ्य राज्यमन्त्री पनि बनाए । केसीले रातारात स्थायी राजधानी दाङको देउखुरीमा कार्यालय स्थान्तरण गरेका थिए । सुरुमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीमा राखेर काम सुरु गरेपछि विस्तार सबै मन्त्रालयले बुटवल छाडे ।

२०७९ मंसिर ५ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावपछि पुस १७ गते एमाले–माओवादीको गठबन्धनबाट एमाले दल नेता लीला गिरी मुख्यमन्त्री नियुक्त भए । उनले मन्त्रालय संख्या घटाएर ११ सदस्यीय बनाए । दुई महिना नपुग्दै केन्द्रमा गठबन्धन फेरिएर कांग्रेस–माओवादीको सत्ता सहकार्य बन्यो । माओवादीले समर्थन फिर्ता लिएपछि गिरी अल्पमतमा परे । ०८० वैशाख ११ गते गिरीले लुम्बिनी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढल्यो । उनको पालामा उल्लेखनीय काम हुन सकेन ।

केन्द्रमा कांग्रेस–माओवादीको सत्ता सहकार्यमा लुम्बिनी सरकारको नेतृत्व कांग्रेसको भागमा पर्यो । कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरी वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भए । फेरि गठबन्धन भत्केर एमाले–माओवादीको सत्ता सहकार्य भएपछि ११ महिनामा चौधरी नेतृत्व सरकार ढल्यो । उनको पालाममा बजेट भाषणदेखि केही विकासका काम भए । उनले पनि मन्त्रालयको संख्या घटाएर ९ बनाए । ११ महिनाको अवधिमा प्रदेश निजामती कर्मचारी विधेयक लुम्बिनी प्रदेशसभाबाट सर्वसम्मत रूपमा पारित भयो ।

देउखुरीमा राजधानी सार्नुअघि व्यवस्थित राजधानी निर्माणका लागि भन्दै राजधानी राप्ती उपत्यकाको जग्गा कारोबार नहुने गरी रोक्का गरिएको थियो । जग्गाको कित्ताकाट रोक्ने र साविकको कित्ताको आधारमा बिक्री वितरण गर्न पाउने, बैंकको ऋणमा सहजता ल्याउने गरी रोक्का जग्गा चौधरीले मन्त्रिपरिषद् बैठकबाट फुकुवा गरे । लुम्बिनी प्रदेशका करिब २ लाखलाई रोजागरी सिर्जना गर्न मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमको कार्यविधि बन्दै गर्दा सरकार ढलेकाले काम गर्न पाएनन् । संघमा नयाँ गठबन्धन बनेपछि ०८० फागुन २८ र २९ गते लुम्बिनीमा हुने भनिएको ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन’ साताअघि नै मन्त्रिपरिषद् बैठकबाट चौधरीले स्थगित गरे ।

संघमा एमाले–माओवादीको सत्ता गठबन्धनबाट ०८० चैत २३ गते माओवादी दल नेता जोखबहादुर महरा मुख्यमन्त्रीमा नियुक्त भए । यस अवधिमा कुलप्रसाद केसी, लिला गिरी, डिल्ली चौधरी र जोखबहादुर महराका नेतृत्वको सरकार गठन गर्दा साना दलले सबैभन्दा बढी फाइदा लिए । लुम्बिनीका साना दल जता सरकार, उतै समर्थन गरेर फाइदा लिने गरेका थिए ।

पछिल्लो पटक लुम्बिनी प्रदेशसभामा सबैभन्दा ठूला दल कांग्रेस–एमाले मिलेर नयाँ सरकार बनेको छ । साउन ७ गते अर्घाखाँची १(१) बाट निर्वाचित एमाले दल उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएका छन् । १२ वटा मन्त्रालयमा कांग्रेस–एमालेले ५–५ वटा मन्त्रालय बाँडफाँड गरेका छन् । एमालेबाट मुख्यमन्त्रीसहित चार र कांग्रेसबाट चार जना बिनाविभागीय मन्त्री बनेका छन् ।

घरनजिक सिंहदरबार ल्याउने भन्दै प्रदेश तहमा समेत सरकार बनेपछि जिल्लैपिच्छे मन्त्री भेटिन्छन् । अझ राजनीतिक दलहरुको सत्ता स्वार्थले पटक पटक फेरिने मन्त्रीपरिषद फेरबदलले प्रदेश सांसदहरु मन्त्री बन्न को बाँकी रहन्छन् र ? भन्ने अवस्था आएको छ । प्रदेश संरचना बनेपछि सबैभन्दा धेरै पटक मन्त्री हुनेहरुमा सन्तोषकुमार पाण्डेय, चेतनारायण आचार्य, धर्मबहादुर चौधरी, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव लगायत छन् ।

को–को बने मुख्यमन्त्री ?
शंकर पोखरेल (२०७४ फागुन ३ देखि २०७८ साउन २७)
कुलप्रसाद केसी (२०७८ साउन २८ देखि २०७९ माघ २७)
लिला गिरी (२०७९ माघ २८ देखि २०८० बैशाख १४ गतेसम्म)
डिल्लीबहादुर चौधरी (२०८० बैशाख १५ देखि २०८० चैत २४ गतेसम्म)
जोखबहादुर महरा (२०८० चैत २५ गतेदेखि २०८१ साउन ७ गतेसम्म)
चेतनारायण आचार्य (२०८० साउन ७ देखि हालसम्म)

हालसम्म को–को बने मन्त्री ?
वैजनाथ चौधरी(थारु)
लिला गिरी
कुलप्रसाद के.सी.
सुदर्शन बराल
आरती पौडेल
सन्तोषकुमार पाण्डेय
विजयबहादुर यादव
कल्पना पाण्डेय
हरी रिजाल
विजयबहादुर यादव
भोजप्रसाद श्रेष्ठ
धर्मबहादुरलाल श्रीवास्तव
कृष्णध्वज खड्का
सहसराम यादव
अजय शाही
सुमन शर्मा रायमाझी
पुर्मती ढेँगा
तिलकराम शर्मा
इन्द्रजीत थारु
विरबहादुर राना
सुरेन्द्रबहादुर हमाल
रमाघर्ती
वसीउद्दीन खाँ
जानकीप्रसाद यादव
चेतनारायण आचार्य
दुर्गाप्रसाद चौधरी
चन्द्रकेश गुप्ता
विष्णुप्रसाद पन्थी
तुलसीराम शर्मा
डिल्लीबहादुर चौधरी
चन्द्रकेशगुप्ता
राजु खनाल
कृष्णा केसी
धर्मबहादुर चौधरी
दिपेन्द्रकुमार पुन मगर
भगवती अधिकारी
जोखबहादुर महरा
भण्डारीलाल अहिर
अर्जुनकुमार केसी
रत्नबहादुर खत्री
भगवती अधिकारी
खड्ग बस्नेत
रिनानेपाल विश्वकर्मा (राज्यमन्त्री)
बादशाह कुर्मी
भूमिश्वर ढकाल
दिनेश पन्थी
धनेन्द्र कार्की
सरोज थापा
प्रचण्ड विक्रम न्यौपाने
खेमबहादुर सारु
सीता शर्मा