लुम्बिनीका मन्त्री काठमाडौंमा टुंगो, नेताको आशीर्वादमा मन्त्री बनाइँदा संघीयताकै मजाक



भैरहवा– प्रदेश संरचनाप्रतिको बितृष्णालाई स्वयं प्रदेशसभा सदस्यले नै बढवा दिएका छन् । पदमा पुग्न अझैं संघीय शक्तिकेन्द्र धाउने परम्पराले नगारिकलाई प्रदेशको स्वायत्त व्यवस्थाप्रति नै शंका लाग्न थालेको छ । प्रदेश सांसदका काठमाडौं अझै मुकाम बनेका छन् । प्रदेश सञ्चालन संघमा रहेका दलका शीर्ष नेताको आशीर्वादमा भइरहेको छ ।
यसको पछिल्लो उदाहरण लुम्बिनी प्रदेशमा गठन भएको नयाँ सरकार हो । सत्ता गठनबन्धनको भागबण्डा अनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेको भागमा पर्यो । एमाले संसदीय दलका नेता लीला गिरीले मुख्यमन्त्रीमा नियुक्तिका लागि दौंरासुरुवाल तयार गरिसकेका थिए । त्यहीबेला एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले हस्तक्षेप गरेर दलका ृपनेता अर्घाखाँचीका चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाए । त्यसले एमाले कार्यकर्ताबीच खैलाबैला छ ।
मुख्यमन्त्री मात्र होइन । प्रदेशमा एमाले–कांग्रेसबाट को–को मन्त्री बन्ने भन्ने टुंगो समेत काठमाडौंस्थित शीर्ष नेताको निवासबाट लागेको छ । सत्ता परिवर्तनको तयारीसँगैं शक्तिकेन्द्र धाउन पुगेका प्रदेश सांसद कोही पहिलो पटक मन्त्री बनेर फर्किए भने कोही रित्तै फर्किएका छन् । सामाजिक सञ्जालमा छरफष्ट तस्बीर अनुसार मन्त्रीका लागि हानथाप गर्न शीर्ष नेताका निवासमा प्रदेश सांसदको लर्को नै लागेको थियो । संविधानमा संघीय व्यवस्था भए पनि व्यवहारमा देखिँदैन । प्रदेशमा संघको हस्तक्षेपले संघीयताकै मजाक बनिरहेको विश्लेषकहरुको भनाई छ ।
‘मुख्यमन्त्रीदेखि मन्त्रीसम्म संघले तोक्ने भए किन चाहियो संघीयता ?’, राजनीतिक विश्लेषक उमेशचन्द्र रिजाल भन्छन्, ‘दलहरुकै कारण प्रदेश खारेजका आवाज उठिरहेका छन् । यस्तै हो भने केही वर्षमै प्रदेश खारेजीको माग दरिलो बन्ने देखिन्छ ।’ कांग्रेस–एमाले दुबैले मंगलबार साँझ काठमाडौंमा मन्त्री बन्ने व्यक्तिको टुंगो लगाएका हुन् । जसअनुसार एमालेबाट मुख्यमन्त्रीसहित ५ र कांग्रेसबाट ५ जना मन्त्री बन्ने पक्का भयो । कांग्रेस संसदीय दल स्रोतका अनुसार कांग्रेसबाट प्रमुख सचेतक बर्दियाका जन्मजय तिमिल्सिना मन्त्री बन्ने टुंगो लागेर पनि अन्तिममा छुटे ।
तर, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्री बनेका छन् । यी सबै केन्द्रको आशीर्वादबाट लुम्बिनीको मन्त्री बनेका हुन् । प्युठानका थापा बाहेक कांग्रेसबाट मन्त्री बनेका सबै नयाँ अनुहार हुन् । थापा यसअघि उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका थिए । सरोज काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको कोटाबाट मन्त्री भए । न्यौपाने काँग्रेस महामन्त्री गगन थापा, कुर्मी समहामन्त्री किशोरसिंह राठौर र गुल्मीका कार्की बालकृष्ण खाँणको आशीर्वाले प्रदेशमा मन्त्री बन्ने अवसर पाए ।
बर्दिया निर्वाचन क्षेत्र २ (१) बाट निर्वाचित कांग्रेस प्रमुख सचेतक तिमिल्सिना पहिलोपटक मन्त्री बन्न लाग्दा ठेस लाग्यो । मन्त्रालय संख्या र मन्त्री बन्ने व्यक्तिको टुंगो लागेर सपथ समेत चयो । तर, पनि मन्त्रालय टुंगो लाग्न बाँकी छ । त्यसैले बुधबार सबै मन्त्रीको बिनाविभागीय मन्त्रीमा शपथग्रहण भएकोे मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । मुख्ममन्त्रीसहित मन्त्रीहरुको बुधबार बिहान साढे ८ बजे बुटवलस्थित प्रदेश प्रमुख अमिक शेरचनले कार्यालयमा शपथग्रहण गराएका हुन् ।
लुम्बिनीमा नेकपा एमालेबाट मन्त्री बनेकाले पनि केन्द्रकै नेताहरुको ढाडस पाए । एमालेले आफ्नो भागमा परेका ४ मन्त्रीमा २ पुराना र २ नयाँ अनुहार पठाएको छ । रूपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङकी सीता शर्मा चौधरी मन्त्री बनेका छन् । मन्त्री भएका ढकाल रूपन्देही ५(१), पन्थी गुल्मी २(२), सारु पाल्पा १(२) र शर्मा समानुपातिकबाट निर्वाचित हुन् । ढकाल यस अघिको मन्त्रिपरिषद्मा खानेपानी तथा सहरी विकास र पन्थी आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।
बुधबार मुख्यमन्त्रीमा आचार्य र अन्य सबै मन्त्रीहरुले बिनाविभागीय जिम्मेवारीमा शपथग्रहण गरेका छन् । मुख्यमन्त्री आचार्यसहित ढकाल एमाले महासचिव शंकर पोखरेलको ढाडस र दरिलो साथले पदमा पुगे । गुल्मीका पन्थी पूर्वमाओवादी कोटाबाट र एमाले उपमहासचिव प्रदीप ज्ञवालीको साथले मन्त्री बने । उनी पहिला माओवादी थिए । नेकपा विभाजनमा उनले माओवादी छाडेर एमाले रोजेका थिए । पाल्पाका सारु एमाले उपाध्यक्ष विष्णु पौडेलको साथले मन्त्री बन्दा दाङकी चौधरीलाई महासचिव पोखरेलको आशीर्वाद मिल्यो ।








प्रतिकृया दिनुहोस्