November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

रूपन्देहीमा स्वास्थ्य क्षेत्रमा मौलाउँदो विकृति

Advertisement

भैरहवा– गत हप्ता बुटवल उपमहानगरपालिका कालिकानगरस्थित कालिकापथमा रहेको बैदवार फार्मेसीका सञ्चालक कमलबहादुर बिकले लागूऔषध विक्रीवितरण गरेको पाइएपछि प्रहरीले पक्राउ गर्यो । अघिल्लो हप्ता नै सिद्धार्थनगर नगरपालिकाले दर्ता नविकरणविनै संचालनमा रहेको सराफ अस्पताल शील गर्यो । उपप्रमुख उमा अधिकारी नेतृत्वको अनुगमन समितिले दर्ताविनै अस्पताल चलाएको पाइएपछि बन्द गरेको हो ।

Advertisement

बुधबार मात्रै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल नेतृत्वको टोलीले आफूलाई चिकित्क भनेर विरामीको शल्यक्रिया गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । रुपन्देहीको मर्चवारी गाउँपालिका–३, सेमरहवास्थित नेपाल–भारत सीमा क्षेत्रमा संचालित नैना हेल्थ क्लिनिकमा बसेर आफूलाई चिकित्सक भन्दै धमाधम स्थानीयको शल्यक्रिया गर्दै आएका भारतीय नागरिक नागेन्द्र मिश्रालाई पक्राउ गरिएको हो ।

स्थानीय पूर्णकुमारी बरईको नाममा कर कार्यालयमा प्यान नम्बर दर्ता रहे पनि अन्य कुनै निकायमा उक्त क्लिनिक दर्ता छैन । दर्ताविनै संचालनमा रहेको उक्त क्लिकमा आफूलाई बीफार्मा पढेको बताउने भारतीय नागरिक मिश्राले विरामीको शल्यक्रिया गर्ने गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी अर्यालले जनाए । उक्त क्लिनिक शील समेत गरिएको छ । यी पछिल्ला केही उदाहरण हुन् । पक्राउ परेका विक र मिश्रामाथि अहिले अनुसन्धान भइरहेको छ । प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार मिश्राले क्लिनिकमा विरामीको पायल्स, हर्निया, पत्थरी लगायतको शल्यक्रिया गर्दै आएका थिए ।

पछिल्लो समय रुपन्देहीमा स्वास्थ्य क्षेत्रमा विकृति नै मौलाएको छ । नियमनकारी निकायले केही कडाइ गरे पनि पर्याप्त छैन । जसले गर्दा दर्ता, नविकरण विनै फार्मेसी तथा स्वास्थ्य क्लिनिकहरु संचालन भइरहेका छन् । मुख्य बजार क्षेत्र भैरहवा र बुटवलमै अवैध स्वास्थ्य क्लिनिकहरु संचालन भएका छन् भने ग्रामीण इलाकामा रहेको अधिकांश अवैधानिक रहेको बताइन्छ ।

‘खासगरी सीमा क्षेत्रमा भारतीय नागरिकले फार्मेसी, क्लिनिक खोल्ने र शल्यक्रियाजस्ता अवैधानिक कार्य गर्ने गरेको गुनासा आउँछन्, गुनासा आउँदावित्तिकै हामीले अनुगमन गरी कारबाहीको दायरमा ल्याउने गरेका छौं’, प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने । उनले अवैध काम गर्ने स्वास्थ्य संस्था र संचालकलाई कडाई गरिएको जनाउँदै कानूनी दायरामा ल्याउने काम भइरहेको बताए ।

सिद्धार्थनगर नगरपालिका उपप्रमुख अधिकारीले नगर क्षेत्रका रहेका सबै किसिमका स्वास्थ्य संस्थाको अनुगमन गरी अवैधानिक र दर्तानविकरण विनै संचालितलाई कारबाही गर्ने काम भइरहेको बताइन् । ‘कानूनविपरीत संचालित भए हामीले अनुगमन गरेर कारबाही गर्छौं’, उनले भनिन् । स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार जिल्लामा हजार हाराहारीमा अस्पताल लगायत स्वास्थ्य संस्था छन् । सहरी इलाकामा पाइलेपिच्छे यस्ता संस्था खोलिएका छन् ।

खासगरी पछिल्लो समय सीमा क्षेत्रमा फार्मेसी र क्लिनिक खोलेर भारतीय नागरिक नै आएर उपचारमा संलग्न छन् । यसरी उपचारमा संलग्न भारतीय नागरिक अयोग्य छन् । ‘गाउँघरका सोझासाझा नागरिकलाई भ्रममा राखेर औषधि विक्री गर्ने, उपचारका नाममा शल्यक्रिया गर्ने गरेको घटनाक्रमले देखाउँछ, त्यस्तालाई कानूनी दायरामा ल्याउने काम भइरहेको छ’, स्वास्थ्य कार्यालय, रुपन्देही प्रमुख गौरव ढकालले भने ।

मर्चवारबाट पक्राउ परेका मिश्राले विगत चार वर्षदेखि यहाँ अवैधानिक क्लिनिक चलाइरहेका थिए भने लागूऔषधि विक्री गर्दै आएको बुटवलबाट पक्राउ परेका विकले केही वर्ष यता फार्मेसी चलाइरहेका थिए । पछिल्लो समय मर्चवार, लुम्बिनी, सूर्यपुरा, धकधई लगायतका क्षेत्रका भारतीय नागरिकले क्लिनिक खोलेरअवैध काम गर्दै आइरहेको घटना क्रमले पनि पुष्टि गरेको छ ।