‘बर्दियामा मात्रै होइन् राष्ट्रकै उत्कृष्ट विद्यालय बनाउने सपना छ’


वि.सं. २०६६ साल माघ महिनामा स्थापना भएको बर्दिया एकेडेमी एण्ड पोलिटेक्निक रिसर्च सेन्टर अब्बल विद्यालय हो । तत्कालीन अवस्थामा यस विद्यालयका संस्थापक अध्यक्ष गोविन्दप्रसाद थारु थिए । हाल यस विद्यालयका संस्थापक तथा प्रबन्ध निर्देशक वुद्ध गिरी छन् भने प्रिन्सिपलमा भोजराज वराल छन् । यो विद्यालय शैक्षिक सत्र २०६७ देखि निजिस्तर बाट सञ्चालित विद्यालय हो । प्रारम्भमा यस विद्यालयमा ५ सय जना विद्यार्थीहरु थिए । विविध परीस्थितिका वावजुद हाल १४ शैक्षिक सत्रसम्म आइपुग्दा १ हजार २६५ जना विद्यार्थीहरु अध्ययनरत छन् । बर्दियाको बढैयाताल गाउँपालिका–८, तिलकानामा अवस्थित विद्यालायको वरीपरि खेतीयोग्य भूमि भएकाले अति रमणीय छ । यस विद्यालायको सेवाक्षेत्र भित्रका समुदायका अभिभावकहरुको विद्यालायप्रतिको धारणा सकारात्मक भएको पाइन्छ । विद्यालायको प्रगतिको लागि वरीपरीका समुदाय पनि लागिपरेको पाइन्छ । यो विद्यालाय सदरमुकाम नजिकै पर्ने भएकाले सम्पूर्ण सेवा लिन सहज छ । यस विद्यालयको कार्यक्रम विवरण अनुसार लगभग सबैजसो कार्यक्रमहरु गरिन्छन । जस्तै अतिरिक्त क्रियाकलाप, विद्यार्थी मूल्यांकन, परीक्षा सञ्चालन कार्यक्रम गरिन्छ । यस विद्यालयको लक्ष्य भनेको सिकाइ उपलब्धी बृद्धि गर्न विद्यार्थीको दैनिक मूल्यांकन गर्ने र बार्षिक रुपमा दैनिक मूल्यांकनको आधारमा कक्षा चढाउने, प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप गर्ने, पारिवारिक वातावरणमा विद्यार्थीलाई अध्यापन गराउने हो । यस विद्यालयको अहिलेसम्मको यात्रा, समग्र शैक्षिक अवस्था लगायतका विषयमा पब्लिक कुरा डटकमले प्रबन्ध निर्देशक बुद्ध गिरीसँग गरेको कुराकानीको सम्पादित अंशः
यस विद्यालयको पृष्ठभूमिसहित शैक्षिक एवम् भौतिक अवस्था र उपलब्धिहरु के–के छन् ?
२०६६–६७ सालमा स्थापित यस विद्यालय सुरुकै वर्षमा कक्षा १–५ सम्मको अनुमति प्राप्त गरेको हो । २०६८ मा ६, २०६९ मा ७, २०७० मा ८ हुँदै हाल कक्षा १२ सम्म संचालित छ । २०७१ सालका कक्षा ९ र १० को अनुमति र कक्षा ११ र १२ को अनुमति भने २०७४ सालमा प्राप्त गर्न सफल भएका हौं । २०७२ सालबाट एसईई परीक्षामा सामेल हुँदै हालसम्म शतप्रतिशत नतिजा दिन सफल छ । यस विद्यालयले २०७८ सालको एसईई परीक्षामा बर्दिया जिल्ला प्रथम, २०७९ सालको एसईई परीक्षामा जिल्लामै सबैभन्दा बढी जीपीए ल्याउने एक विद्यार्थीसहित १० जना ३.७५ जीपीए भन्दा बढी ल्याउने एकमात्र विद्यालय हुन सफल भएको थियो । कक्षा ११ र १२ को हकमा भने २०७४–७५ मा बर्दिया जिल्ला प्रथम हुन सफल भएको थियो । साथै बढैयाताल गापा स्तरीय प्रथम अध्यक्ष तथा राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ५ कास्यसहित मार्च पासमा समेत प्रथम हुन सफल भई रनिङ्गशिल्ड विजेता बन्न सफल भएको थियो । यी र यस्ता थुप्रै सांस्कृतिक गायन, नृत्य, प्रतियोगिता वा शैक्षिक कार्यक्रम, हाजिरी जवाफ, वक्तृत्वकला, वादविवाद लगायतका प्रतियोगितामा समेत जिल्लामै उत्कृष्ट नजिता ल्याउन सफल भएको छ । यसरी शैक्षिक क्षेत्रमा एउटा उचाई कायम गर्न सफल भएको छ । भौतिक पूर्वाधारका हिसाबले हेर्ने हो भने पनि हामीसँग ४४ वटा कोठासहितको ३ वटा भवन, करिब ३३ वटा शौचालय, आफ्नै छात्रावास, पुस्तकालय, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला र स्मार्ट बोर्डसहितको कक्षाहरु छन् । २ वटा खेलमैदान, बाल उद्यानसहितको प्रि–प्राइमरी तहका कक्षाहरु संचालनमा छन् । विद्यार्थीहरुलाई भलिबल, फुटबल, व्याडमिन्टन, कपर्दी जस्ता खेल खेल्ने खेल मैदान पनि छन् ।
विद्यालयलाई यो स्तरसम्म ल्याउन कस्ता समस्याहरुसँग जुध्न पर्यो ?
हामीले सुरुको चरणमा विद्यालय संचालन गर्दा खासै विद्यार्थीहरुको आकर्षण थिएन । त्यसमा पनि संस्थागत विद्यालयका आफ्नै चुनौतीहरु हुन्छन्, ति सबै चुनौतीहरुलाई सामना गर्दै हामी यो अवस्थामा आएका हाँै ।
तपाईंहरुको अबको उद्देश्य के हो ?
हाम्रो यस विद्यालय संचालनको मुख्य उद्देश्य भनेको, हाम्रो जिल्ला, पालिकामा गुणस्तरीय अंग्रेजी माध्यमको शिक्षा लिन अब जिल्ला बाहिर जान नपरोस् भन्ने नै हो ।, सस्तो, सुलभ, नजिकै, समय सान्दर्भिक, विद्यार्थीहरुलाई आवश्यक नाम प्रदान गर्नु हाम्रो उद्देश्य हो । नितान्त अवस्थामा हामी विद्यार्थीहरुलाई प्राविधिक ज्ञानसहितको शिक्षा दिन खोजिरहेका छौँ । व्यवहारिक शिक्षालाई महत्वपूर्ण मान्दै पठनपाठन गर्नु हाम्रो मुख्य उद्देश्य हो ।
यो विद्यालयको नाम बर्दिया एकेडेमी एण्ड पोलिटेक्निक रिसर्च सेन्टर छ । यसको अर्थ के हो ?
यो विद्यालयको हाल एकेडेमिक अन्तर्गत साधारणतर्फ कक्षा १२ सम्मको अनुमती प्राप्त गरी कक्षा संचालन गरिरहेको छ । कक्षा ११ र १२ मा व्यवस्थापन संकायमा मात्र कक्षा संचालन भैरहेको छ । अगामी दिनमा विज्ञान, कृषि विज्ञान र प्राविधिक धारमा समेत आफ्नो गन्तव्य मानेकोले पोलिटेक्निक राखिएको हो । यहाँबाट खोजमूलक, अनुसन्धानात्मक क्रियाकलाप संचालन गरी समग्र राष्ट्रलाई टेवा पुर्याउने हाम्रो उद्देश्य रहेकोले रिसर्च शब्द जोडिएको हो । त्यसकारण विद्यालयको नाम अनुसार काम गर्न हामीलाई अलि समय लाग्ला तर त्यसलाई छिट्टै नै पूर्णता दिनमा हामी लागिरहेका छाँै ।
विद्यालयहरुको आर्थिक एवम् संचालकहरुको अवस्था कस्तो छ ?
हालसम्म विद्यालयमा खासै मुनाफाको अवस्था छैन । किनकी हामी निर्माण एवम् अनुमति थप गर्दै जाने चरणमा छाँै । एउटा सुविधासम्पन्न छात्रवास थप गर्नुपर्ने, आधुनिक विज्ञान प्रयोगशाला बनाउनुपर्ने र छुट्टै सभाहल समेत निर्माण गर्नुपर्ने छ । त्यसको लागि हामी विद्यालयको नजिकै मिलेको करिब २ विगाहा जग्गा खरिद गर्ने चरणमा छाँै । त्यसकारण खासै संस्थापकहरुलाई मुनाफा बाँड्न सकेका छैनौँ । हाम्रो २५ वटा शेयर र १७ जना शेयर सदस्य सबै समग्र विद्यालयलाई राम्रो एवम् शैक्षिक, आर्थिक, भौतिक रुपमा सबल बनाउन लाग्नुपर्छ र विद्यालयको मुख्य उद्देश्यसित सहमत हुनुहुने भएकाले मुनाफा वितरण नगरे पनि खुशी हुुनुहुन्छ । अझ थप लगानी गर्नपरेमा समेत तयार हुनुहुन्छ ।
अझ यो विद्यालयमा के–के कुरा गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ?
कुनै पनि कुरा शतप्रतिशत पूर्ण हुँदैनन् । धेरै कुरा थप गर्नुपर्ने हुन्छ । हामीले छुट्टै मन्टेश्वरी कक्षा संचालन गर्नुपर्ने छ । शिक्षक, विद्यालय संचालक, प्रिन्सिपल, सहायक प्रिन्सिपलहरुको क्षमता अभिवृद्धि, पूर्ण रुपमा आधुनिक प्रविधिमा जानुपर्ने लगायत थुप्रै कुराहरु गर्न बाँकी छन् । हामी त्यो विस्तारै गर्दै जानेछौँ । यो विद्यालयलाई जिल्लामै मात्र नभई प्रदेश र राष्ट्र स्तरमै चिनाउने, हाम्रा विद्यार्थीहरुलाई सबल बनाउँदै सबै ठाउँमा नाम निकाल्न सक्ने सक्षम विद्यार्थी बनाउने हाम्रो उद्देश्य छ । हाम्रा यस विद्यालयबाट पास आउट भएका थुप्रै विद्यार्थीहरु अहिले डाक्टर भैसकेका छन्, कतिले पढिरहेका छन् । इन्जिनियर र सीए पढिरहेका छन् । थुपै्रले उच्च शिक्षा हासिल गरी सकेका छन् । त्यसैले देशको अब्बल जनशक्ति निर्माण गर्नुनै हाम्रो उद्देश्य र चाहना हो ।
तपाईं त आफू एन–प्याब्सन बर्दियाको नेतृत्व तहमा हुनुहुन्छ । समग्र निजी विद्यालयहरुलाई के भन्न चाहनुहुन्छ ?
निजी विद्यालय आफ्नै लगानीमा विद्यार्थीहरुबाट उठाएको शुल्कबाट चल्नुपर्ने विद्यालय हुन् । यी विद्यालयहरुको थुप्रै समस्याहरु हुने गर्दछन् । समयमै शुल्क नउठ्नु, कृषक, मजदुर वा बालबच्चाहरुबाट ठुलो आशा गर्न नसकिने, समयमै शिक्षक कर्मचारीहरुलाई तलब सुविधा दिनुपर्ने, भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने र गुणस्तरीय शिक्षा दिनुपर्ने महत्वपूर्ण दायित्व छ । त्यसकारण यो विषयमा अलिकति पनि पछि नपरी गुणस्तरमा सम्झौता गर्नु हुँदैन । राम्रो शिक्षादिक्षा दिइयो, राम्रो शिक्षक राखेर राम्रो नतिजा दिन सकेमा अभिभावकहरुले पनि खुसीसाथ शिक्षामा लगानी गर्नुहुन्छ । त्यसकारण गुणस्तरमा कुनै कमी गर्नुहुँदैन । सबैले यसलाई मुख्य पाटो बनाउनुपर्छ, विद्यालय आफैँमा सेवा दिने संस्था भएकाले सेवामुखी हुन जरुरी छ । नाफामुखी भए धेरैदिन चल्न सकिँदैन । सबैले विचार पुर्याउनुपर्छ । हामीले स्वस्थ प्रतिस्पर्धा गर्नुपर्दछ । निजी विद्यालयले राज्यको शिक्षाको ठुलो बोझ हल्का गरिदिएको छ । लगानी लगाउनुपर्ने छैन । उपलब्धि पनि देखिएको छ । धेरै पढेलेखेका युवायुवती रोजगारी समेत पाएका छन् । त्यसैले त आज समग्र अभिभावकको मन निजी विद्यालयले जितेको छ । यो विश्वासलाई हामीले अझ बढाउनुपर्छ कमी हुन दिनु हुँदैन ।
हामीले तपाईंको विद्यालयमा भारतीय विद्यार्थीहरु पनि पढ्न आउँदैछन् भन्ने सुनेका छौँ ? के यो साँचो हो ?
हजुर, यो सत्य हो । हाम्रो विद्यालयमा भारतको बहराइच जिल्लाको बलैगाउँ, अच्कहवा लगायतका थुप्रै ठाउँबाट करिब २०–२१ जना विद्यार्थीहरु पठनपाठनको लागि आउँछन् । बहराइच जिल्लामै उत्कृष्ट अंग्रेजी विद्यालय नभएको र त्यसको लागि भारतको लखनउसम्म पुग्नुपर्ने भएकाले नेपालमै भए पनि उत्कृष्ट विद्यालय ठहर गरी अंग्रेजी माध्यममा पढ्न आउने गर्छन् । एउटा खुसीको कुरा २ जना विद्यार्थीले हाम्रो विद्यालयबाट एसईई दिइसके, जसले लखनऊ मा आईएससी पढिरहेका छन् । एउटा विद्यार्थी आदर्श कुशवाहाले त त्यहाँको नारायण कलेज नै टप गर्न सफल भएका छन् । यहाँले सो कुरा बलैगाउँको एक व्यवसायी हाम्रा अभिभावक सुरेश सिँह कुशवाहालाई पनि सोध्न सक्नुहुनेछ । भारतीय विद्यार्थी नेपालमा पढ्न आउँदा समग्र नेपालमा लगानी भित्रिने भयो । त्यो मात्र नभई छिमेकी राष्ट्रसँग सुमधुर सम्बन्ध कायम भएको छ । हामी कैयौँ पटक भारतीय एसएसबी क्याम्पमा गएका छौँ । धेरै राम्रो सम्मान गर्नुहुन्छ उहाँका अधिकारीहरुले । हामी प्रत्येक वर्ष एसएसबीले आयोजना गर्ने स्वतन्त्र दिवसको दिन विद्यार्थीहरुलाई त्यो कार्यक्रममा लैजाने गर्छौं । कैयौँ पटक हाम्रा विद्यार्थी पुरस्कृत समेत भएका छन् ।
अन्तमा तपाईं के भन्न चाहनुहुन्छ ?
निजी विद्यालय संचालन गर्नु ज्यादै गाह्रो छ । राज्यको नीतिसँग लड्नुपर्ने, आर्थिक, सामाजिक धेरै चुनौतीहरु छन् । राम्रो विद्यालय राज्यको सम्पत्ति हो, गहना हो । यो निर्माण गर्न सबैसबै लाग्नुपर्छ, सहयोग गर्नुपर्छ । हामीलाई पनि शिक्षा विकास तथा समन्वय इकाई, बढैयाताल गापा, स्थानीय राजनीतिक दल, सामाजिक बुद्धिजीवि वर्ग, अभिभावकको अझ थप सहयोगको खाँचो छ । सहयोग गरिदिन हुन अपिल गर्न चाहन्छु । साथै सत्यतथ्य समाचार सम्प्रेषण गर्न, प्रचारप्रसार गर्न हजुरहरु जस्ता पत्रकारहरुको समेत खाँचो छ । त्यसैले यहाँको सहयोग समेत आशा गर्न चाहन्छु ।
प्रतिकृया दिनुहोस्