May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

चिसोसँगै रुघाखोकीका बिरामी बढे

भैरहवा– एक साता यता रुपन्देही लगायत लुम्बिनी प्रदेशका तराईक जिल्लामा बिहान बाक्लो हुस्सु लाग्न थालेको छ । अन्य समयभन्दा तुलनात्मक रुपमा दिउँसोमा घाम मधुरो भएको छ । यसले चिसो ह्वात्तै बढेको छ । पुस अन्तिम तिरबाट जाडो बढेको हो ।

Advertisement

अहिले पहाडमा कुहिरो र तराईका जिल्लामा हुस्सु लाग्न थालेको छ । चिसो बढेपछि सर्वसाधरणका दैनिक कामकाज प्रभावित हुन्छन् । यससँगै विभिन्न रोगको जोखिम बढ्ने गरेको छ । चिसोका बेला रुघाखोकी र स्वासप्रश्वासका बिरामी बढ्छन् । अर्कोतर्फ दिर्घरोगीलाई समस्या हुने गरेको छ ।

Advertisement

जिल्लाका चिकित्सकका अनुसार अहिले श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । अहिले जिल्लाका अस्पतालमा चिसोका कारण विभिन्न समस्या देखिएका बिरामी आउन थालेका छन् । बिरामीको संख्या बढेपछि चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ जनरल फिजिसियन तथा मेसु डा.सुदर्शन थापाले अस्पताल आउने अधिकांश विरामीमा श्वासप्रश्वासको समस्या पाइएको बताए ।

उनका अनुसार अस्पतालमा आउने १ सय बिरामीमध्ये ६० प्रतिशतमा श्वासप्रश्वास, रुघाखोकी र फोक्सोको समस्या देखिने गरेको बताए । चिसो ह्वात्तै बढेकाले मर्निङवाक गर्ने वृद्धवृद्धा साथै बालबालिकालाई घाम लागेपछि हिंड्न, न्याना लुगा लगाउन, तातो खानेकुरा खान उनले अनुरोध गरे ।

अस्पतालमा रुघाखोकी र श्वासप्रश्वासमा गाह्रो भएर धेरै बिरामी आउने गरेको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । जाडो याममा अन्य रोगका बिरामीभन्दा दम, ज्वरो, खोकीका अधिकांश बिरामी आउने र भर्ना भइ उपचार गर्नुपर्ने स्थितिका समेत रहने गरेको उनले बताए ।

प्रदेशका पश्चिम नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया लगायतका जिल्लाहरुमा पनि चिसोका विरामी बढ्न थालेका छन् । चिकित्सकहरुले सावधानी अपनाउन अनुरोध गरेका छन् । भैरहवास्थित भीम अस्पतालमा पनि ज्वरो, रुघाखोकीका विरामी अधिक मात्रामा आइरहेका छन् ।

चिकित्सकहरुका अनुसार चिसो बढेसँगै विरामीको संख्या पनि थपिँदो छ । अस्पतालहरुमा चाँप बढिरहेको छ । चिकित्सकले न्यानो कपडा लगाउन, टोपी, मफलर, पन्जा र मोजा लगाउन आग्रह गरेका छन् । ‘बिहान पर्याप्त शारीरिक ब्यायाम गर्नुपर्छ । जाडोमा कम शारीरिक कसरत र बढी खाना खाइने हुनाले तौल बढ्ने सम्भावना हुन्छ । तौल नियन्त्रण गरी स्वस्थ रहनुपर्छ । चिनीजन्य खाद्यपदार्थबाट जोगिनुपर्छ । पर्याप्त तातोपानी पिउन आवश्यक छ । चिसो मौसममा हामी पानी कम पिउने गर्दछौं । जसले गर्दा अन्य स्वास्थ्य समस्या उत्पन्न हुनसक्छ’, डा. थापाले भने ।

चिसोमा सरुवा रोगबाट बच्न सरसफाइमा ध्यान दिन चिकित्सकको आग्रह छ । नियमित साबुनपानीले हात धुने र शरीर फुर्तिलो राख्न बेलाबेलामा नुहाउन, चिसो पानी भन्दा मनतातो पानीले नुहाउन, यस्तै चिसोमा ओठ फुट्ने समस्याबाट बच्न लिपगार्ड लगाउन आग्रह छ । ‘जाडोमा सबैभन्दा बढी श्वासप्रश्वाससम्बन्धी समस्या देखापर्छ । यस्तो बेलामा रुघाखोकीले ज्यादा सताउने गर्छ । हाच्छिउँ गर्दा नाकमुख छोपेको हात धुने, छुट्टै खालका रुमालहरू प्रयोग गर्नुपर्छ । संक्रमण भएको छ भने मास्क लगाएर हिंड्न आवश्यक छ’, उनले भने ।