May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

गौरवको गाँथा– मेरो टोपी

मेरो टोपी कैलासको शिर जस्तो, हिमाली भीर जस्तो
कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने

Advertisement

नेपाली वीर जस्तो नेपाली धीर जस्तो
मेरो टोपीभित्र मेरो बहिनीको मायाको बास छ
अहिलेसम्म भोगेको मैले मेरै घाम छाँयाको बास छ
मेरो टोपी मैला होइन यही माटोको टीका लागेको
मेरो टोपी गाउँलेको शिरमाथि मेरो टोपी लाहुरेको शिरमाथि
ठूलो सानो जान्दैन यो भेदभाव मान्दैन यो मेरो टोपी

Advertisement

सुहाइदिन्छ सबै सबै नेपाली शिरमाथि
धावा धावा अखडाभित्र मेरो टोपी लड्दै थियो
सगरमाथा उँभो पनि मेरो टोपी चड्दै थियो
मेरो टोपी खाज्दै गएँ सागरदेखि सगरसम्म
जहाँ पनि जहिले पनि यो त अधि बड्दै थियो
मेरो टोपी हितैको साथी जस्तो, आमाको छाति जस्तो
दुःख सुखमा काम लाग्ने, नेपालीको नाम राख्ने

मेरो टोपी आफ्नो सन्तान चिन्हाउने जन्मैको पाती जस्तो हो माथिका यी गीतका हरफहरु चर्चित गायका गोपाल योन्जनले गाउँनु भएको हो । म नेपाली, तपाईं नेपाली, उ नेपाली र हामी सबै नेपाली । नेपालीको पहिचान नेपालीको गौरव अनि हामी सबैको शीरमा लगाउने टोपी नेपाली टोपी । जब जब टोपीको कुरा उठ्दछ, जो कोही सम्झिन्छ इतिहासलाई अनि वीर नेपालीलाई । वास्तममा राष्ट्रियता झल्काउने नेपाली ढाका टोपीको महत्व देश तथा विदेशमा धेरै छ ।

आज पुस १६ (जनवरी १) । ११औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस । बिहानैदेखि सामाजिक संजाल ढाका टोपीले सजिएका छन् । टोपी टाउको ढाक्नेगरी लगाउने कपडा वा टाउको पहिरन हो । यो शिर छोप्न, त्यसको शोभा बढाउन वा रक्षा गर्नाका निम्ति चाउलो टोपीको घेरामाथिको भाग वा चक्का र घेरा हाली सिइएको बस्त्र हो । यसले हाम्रो सान, मान र पहिरन बढाउँछ । टोपी पुरुषहरूले लगाउँछन् । नेपालीले प्राचिनकालदेखि टोपी लगाउने गरेको पाइन्छ । नेपाली टोपी नेपालीहरूको राष्ट्रिय पोशाक हो । टोपी मुख्य रुपले नेपालको पहाडी भू–भागमा बसोबास गर्ने प्रायः सबै थरिका मानिसहरूले परम्परागत रुपमा लगाउने गर्छन् ।

पछिल्लो समय महिलाले पनि लगाउने प्रचलन बढेको हो । बितेको १० वर्षमा टोपी लगाउने प्रचलन बढेको पाइन्छ । दिवस मनाउन सुरु पछि अनेकौं आरोह, अवरोह र विचार विमर्शहरु गरेर हामीले दश वर्ष पार गर्यौं । तर अझै पनि टोपी दिवसको विषयमा थुप्रै प्रश्न र आलोचनाहरु आइरहेका छन् । जसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ र सहज ढंगले त्यसलाई प्रष्ट पार्दै अघि बढ्नुपर्छ ।

ढाका टोपी नेपालको राष्ट्रिय पोशाक पनि हो । ढाका टोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ । ढाका टोपी पुरूषहरूले मात्र प्रयोग गर्छन् । प्रायः दौरा सुरूवालको साथमा ढाका टोपी लगाउने गरिन्छ । ढाका टोपीले नेपाली जातिको पहिचान जनाउँछ । पाल्पाली ढाका टोपीलाई देशकै उत्कृष्ट ढाका टोपी मानिन्छ । टोपीका कपडा घरेलु तानबाट बुनिन्छ । भक्तपुरमा कालो टोपी बनाइन्छ, जसलाई भादगाउँले टोपी भनिन्छ । पाल्पा, पोखरा र तेह्रथुममा ढाका टोपी बुनिन्छ । साधारण कपडाबाट पनि टोपी सिउने गरिन्छ । टोपीलाई शिरपोस पनि भनिन्छ । यस्तै ढाका टोपी ढाकाको कपडाबाट बनेको पुरूषहरूले लगाउने पहिरन टोपी हो। यो मुख्य रूपले नेपालको पहाडी भू भागमा बसोबास गर्ने प्रायः सबै थरीका मानिसहरूले परम्परागत रूपमा लगाउने गर्दछन् ।

नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश र स्थानहरुमा नेपालीपनको निरन्तर खोजी तथा त्यसको संरक्षण र प्रबर्द्धन भैरहेको अहिलेको अबस्थामा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिन्ह नेपाली टोपी छ । हाम्रो मान, शान र पहिचान नेपाली टोपी हो । यसको सम्मान अब हामी सबैले गर्न जरुरी छ । विदेशमा गएर टाइसुटमा सजिएका युवाहरु र स्वदेशमा रहेर पश्चिमा संस्कृतिमा रमाउँदै तिरमिरे टोपीमा रमाउनेहरुले अब नेपालीको पहिचानलाई जोगाउनु पर्ने बेला आएको छ ।

राष्ट्रिय पोशाकको प्रयोग गरी राष्ट्रियपन झल्काउन र यसको जगेर्ना गर्नका लागि भन्दै १ जनवरीलाई नेपाली पोशाक लगाउने दिनका रुपमा मनाउन थालिएको अभियान कर्ताहरुले बताएका छन् । सो दिन नेपाली राष्ट्रियता झल्काउने पोशाक लगाएर अभियानमा समर्थन जनाउन र राष्ट्रियताका लागि केही ऊर्जा प्रदान गर्न सबैमा अभियानकर्ताहरुले आग्रह पनि गरेका छन् । वर्षको एकदिन राष्ट्रिय पोशाक लगाएर सामाजिक संजालमा फोटो अपलोड गर्दैमा राष्ट्रियता नजोगिए पनि राष्ट्रियता संकटमा पर्न थालेको वर्तमान अवस्थामा यसले केही मात्रामा भए पनि टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

यो अभियानमा देश–विदेश र गाउँ सहर जो–जहाँ भएपनि सक्दो सहयोग गर्दै अभियान चलाउन आग्रह समेत गरिएको छ । सम्भव भएसम्म सधै नेपाली पोशाकमा सजिऔ, सम्भव नभए हरेक वर्ष जनवरी १ का दिन नेपाली पोशाक लगाऔ र सोसियल मिडियामार्फत नेपाली पोशाकको प्रचार–प्रसार गर्न समेत आग्रह गरिएको छ । अँग्रेजी नयाँ बर्षको उत्सव हुने र त्यस अवसरमा नेपालीपनको प्रयोग गर्न र नेपालका नेपालीहरुमा समेत उक्त दिनमा पर्वजस्तो उल्लासमय बाताबरण हुने हुनाले उक्त दिनमा नेपाली टोपी लगाएर नेपाली टोपी दिवस २०१४ जनवरी १ बाट संसारभर मनाउन शुरु गरिएको हो । यसले अन्तराष्ट्रिय रुपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि टोपी संस्कारलाई थप प्रबर्द्धन र प्रसार दिन मद्दत गर्दछ। बिगतका बर्षहरुमा पनि संसारभरबाट भएको सहभागिता र संचार माध्यमहरुबाट पाएको सद्भभावना यसपटक पनि प्राप्त हुने हुने कुरामा कुनै दुइमत छैन ।

हाम्रो मान, शान र पहिचान नेपाली टोपिलाइ सम्मान गर्ने अभिप्रायले जनवरीको पहिलो दिनलाई टोपी दिवसको रुपमा मनाउ भन्नेजस्ता नाराहरुले निकै चर्चा कमाएको थिए। जनवरी १ मा अंग्रेजी पात्रोको चलन भएका देश र स्थानहरुमा नयाँ बर्षको उत्सव हुने र त्यस अवसरमा नेपालीपनको प्रयोग गर्न र नेपालका नेपालीहरुमा समेत उक्त दिनमा पर्वजस्तो उल्लासमय बाताबरण हुने हुनाले उक्त दिनमा नेपाली टोपी लगाएर जनवरी १ लाई अझै बिशेष बनाउन सकिन्छ भन्ने अवधारणा रहेको पाइन्छ।

दिवसको अवसर पारेर सयौं पुरुषले शिरमा नेपाली ढाका टोपी पहिरिएका छन् । यस्तै उनीहरुले बिभिन्न ठाँउठाउँमा ‌र्याली निकालेका छन् । जानकारका अनुसार यो दिवस मुलुककै पहिलो दिवसका रुपमा मनाईएको छ । पृथ्वीनारायण शाहको पालादेखि नै नेपाली टोपीको पहिचान झल्कदै आएको र व्रिटिस साम्राज्यवादहरुले समेत नेपाली टोपीको गाथालाइ ईतिहाँसमा उल्लेख गरेको घटनाले समेत यो टोपीको आफ्नै मौलिक महत्व छ । नेपालमा वर्षेनी टोपी दिवस मनाइँदै आइएको छ । विभिन्न ठाउँमा नेपाली टोपीको प्रदर्शन गरी टोपी दिवस मनाउने परम्परा नै बसेको छ । विगतका बर्षहरुमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिकमा नेपाली भादगाँउले टोपी पहिराउँदै नेपाली टोपी दिवस विभिन्न ठाँउमा समेत मनाइएको थियो ।

नेपाली टोपी हाम्रो शिरमा रहँदामात्र हामी नेपाली भएको पहिचान हुने धेरैको भनाई छ । सबै नेपालीले नेपाली टोपीको महत्व बुझ्नु जरुरी छ । टोपी लगाएर पहिचान जोगाईराख्नुपर्ने सुझाव धेरैको धारणा छ । टोपी दिवसको सबैमा शुभकामना ।