May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

सिद्धार्थनगर सिटी अस्पतालमा अत्याधुनिक दुरबिन प्रबिधिद्वारा शल्यक्रिया सुरु

Advertisement

भैरहवा– निजी क्षेत्रबाट भैरहवामा संचालित सिद्धार्थनगर सिटी अस्पताल प्रालिले पेट चिरेर गरिने सबै खालका शल्यक्रियालाई दुरबिन प्रबिधिसँग उपचार सुरु गरेको छ । उक्त अस्पतालले मंगलवार पत्रकार सम्मेलन गर्दै पेट चिरेर गरिने परम्परागत शल्यक्रियाको सट्टा दुरबिनको माध्यमबाट शल्यक्रिया सुरु गरिएको र यो प्रबिधि अत्याधुनिक भएकाले उपचार प्रक्रिया बढि प्रभावकारी रहेको जनाएको छ ।

Advertisement

अस्पतालका अनुसार, एपेन्डिसाइटिस, फुुटेको आन्द्रा, हर्निया, सबै खालका पत्थरी, पित्तथैली, पाठेघर लगायतको शल्यक्रिया दुरबिन प्रबिधिबाट गर्न थालिएको हो । ‘यो उपचार सेवा यहाँ सुरु गरिएपछि अब यसका लागि भैरहवा क्षेत्रका बिरामी काठमाडौं र भारतको दिल्ली लगायत टाढाका शहरमा जानु पर्ने बाध्यता हटेको छ’, पत्रकार सम्मेलनमा दुरबिन प्रबिधिको शल्यक्रियाका बारेमा जानकारी दिँदै अस्पतालका जनरल तथा ल्याप्रोस्कोपी सर्जन डा.हरि शर्माले भने, ‘सिद्धार्थनगर सिटी अस्पताल अव लगभग सवै खालका शल्यक्रिया गर्न दुरबिन प्रविधिसँग जोडिएको छ ।’

पेट चिरेर गरिले परम्परागत शल्यक्रियाको तुलनामा दुरबिनबाट गरिने शल्यक्रिया बढी प्रभावकारी भएको दावी गर्दै शर्माले दुरबिन प्रबिधिको शल्यक्रिया कम समय लाग्ने, घाउ पाक्ने सम्भावना कम हुने, बिरामी चाँडो सन्चो हुने, दाग नहुने लगायतका कारणले बढी प्रभावकारी भएको बताए ।

सम्पूर्ण सेवा एउटै छानामुनि संचालन गर्दै आइएको र लुम्बिनी प्रदेशमैं एकमात्र अत्याधुनिक मोडुलर शल्यक्रिया र मोडुलर आईसीयु सुविधा रहेकाले न्युरो तथा जनरल शल्यक्रिया सेवामा सफलता पाउँदै गएको तथा सहज सेवा प्रदान गर्दै आएको दावी अस्पतालले गरेको छ ।

अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले टाउकोमा चोटपटक लाग्ने र रगत जम्ने खालका बिरामीको संख्या धेरै हुने गरेकाले त्यस्तास्ता बिरामीलाई गुणस्तरीय सविधा सम्पन्न २४ सै घण्टा न्युरो सर्जरी सेवा संचालनमा रहेको बताए । अस्पतालका न्युरो सर्जन सन्नी थापाले मष्तिस्क तथा ट्रमा न्युरो शल्यक्रिया पनि केही समयमैं दुरबिन प्रबिधिबाट संचालन गर्ने तयारी गरिएको बताए ।

उनका अनुसार, करिव ३ करोड रुपैयाँको लगानीमा दुरबीन प्रबिधिबाट गरिने शल्यक्रियाको उपकरण ल्याई सेवा सुरु गरिएको हो । अस्पतालका अध्यक्ष डा.सुबोध पाण्डेयले सुलभ दर र सहज रुपमा सिद्धार्थनगर सिटी अस्पतालमा दक्ष चिकित्सकद्वारा उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको बताए । सबै किसिमका ल्याव परीक्षणहरु एउटै छानामुनि गर्न सक्ने उच्च श्रेणीको ल्याव, ६४ सलाइस सिटी स्क्यान, डिजिटल एक्सरे र भिडियो एक्सरे सेवा व्यवस्थासहित सेवा संचालन गर्दै आइरहेकाले अस्पतालमा बिरामीको भीड लाग्ने गरेको छ ।

‘सिटी लुम्बिनी प्रदेशको एक मात्र अत्याधुनिक मोडुलर ओटी, मोडुलर आईसीयु, एनआईसीयु युक्त अस्पताल हो’, अध्यक्ष डा.पाण्डेयले भने, ‘अत्याधुनिक अस्पतालमा आम नागरिकलाई विशेष सुविधा दिन नयाँ नयाँ प्रविधि थप गर्दै आइरहेका छौं । अन्यत्र भन्दा यहाँ सेवा सुलभ छ ।

अस्पतालले नियमित सेवाहरु अन्तर्गत फिजिसियन सेवा, मृगौला रोग सेवा, बाल रोग सेवा, महिला रोग तथा प्रसुति सेवा, यौन तथा छाला रोग सेवा, हाडजोर्नी तथा नसा रोग सेवा, जनरल सर्जरी सेवा, अत्याधुनिक ल्याव सेवा, सिटी स्क्यान, भिडियो एक्सरे, एक्सरे, आईसीयु, एनआईसीयु लगायतका सेवाहरु प्रदान गरिरहेको छ ।