May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

आगलागीबाट करिब दुई करोडको क्षति

Advertisement

बुटवल– आगलागीबाट रुपन्देहीको एक मोटर पार्ट्सको गोदाममा ठूलो क्षति भएको छ । आगलागीबाट रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, नारायणपथस्थित मोटर पार्ट्सको गोदाम जलेको छ भने झण्डै दुई करोड बराबरको क्षति भएको छ ।

Advertisement

यहाँस्थित ओम प्राप्ति एण्ड प्रिजा सप्लायर्सको गोदाममा भएको आगलागीबाट १ करोड ९६ लाख बढीको नोक्सानी भएको छ । उक्त सप्लायर्सका संचालक प्रिजम श्रेष्ठले आगलागीबाट ठूलो नोक्सानी भएको जनाए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता मनोहरप्रसाद भट्टका अनुसार ४ वटा दमकलको सहयोगमा बिहान ६ बजेर २० मिनेटमा आगो नियन्त्रणमा आए पनि गोदामभित्र रहेको मोबिल, टायर, ब्याट्री, ब्रेक सु फाइबर लगायतका सामग्री पूर्ण रुपमा जलेर नष्ट भएको हो । आगलागीको कारणबारे अनुसन्धान भइरहेको उनले जनाए ।

गोदाममा लागेको आगलागीबाट १ करोड ९६ लाख बढीको सामान जलेर नष्ट भएपछि पीडाबोध भएको संचालकले बताए । मंगलबार बिहान छिमेकीले साढे ४ बजे फोन गरेर आगो लागेको जानकारी दिएपछि आफू पसलमा आएर दमकल बोलाउँदासम्म सामान जलेको उनले बताए । आगलागीको कारण भने नखुलेको उनले सुनाए ।