May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

लुम्बिनी केबलकारमा ६० वर्षमाथिका महिलालाई ५० प्रतिशत छुट

Advertisement

बुटवल– लुम्बिनी केबलकारले मातातिर्थ औंशीका अवसरमा ६० वर्षमाथिका महिलालाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मातातिर्थ औंशी विशेषगरी आमाहरुको सम्मान गर्ने महत्वपूर्ण अवसर भएकाले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्पनीले बैशाख २६ गते एक दिनका लागि मात्र ६० वर्षमाथिका नारीहरुलाई केबलकार यात्रामा छुट दिने निर्णय गरेको केबलकारका व्यवस्थापक प्रज्ज्वल घिमिरेले जानकारी दिए ।

Advertisement

छुट अनुसार प्रतिव्यक्ति ५ सय रुपैयाँमा केबलकारको दुईतर्फी यात्रा र बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्यादेवी तथा दुर्गा माताको मन्दिरमा दर्शन र पुजाआजा गर्न सकिने घिमिरेले बताए । केबलकारको साधारण टिकट दर एक हजार रुपैयाँ हो । यद्यपि कम्पनीले अर्को निर्णय नहुँदासम्मका लागि ७५० रुपैयाँ कायम गरेको छ ।

यो छुटको सदुपयोग गर्दै ६० वर्ष माथिका आफ्ना आमा, दिदी, बहिनीहरुलाई केबलकारको यात्रा गराउन कम्पनीले सबैमा आग्रह गरेको छ । गत वर्ष जेठ १५ गतेदेखि सञ्चालनमा आएको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो हो । हाल नेपालमा सञ्चालित ६ वटा मध्ये लुम्बिनी केबलकार दोस्रो लामो केबलकार हो ।

बुटवल बमघाटमा रहेको तल्ले स्टेशनबाट १२ मिनेटमा केबलकारको टपस्टेशन बसन्तपुर पुगिन्छ । बसन्तपुरमा तराईमा भन्दा करिब १० डिग्री सेल्सियस तापक्रम कम हुने हुँदा गर्मी सिजनमा शितल महसुस हुने कम्पनीका अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले बताए ।