November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

विक्रम गैँडालाई आजीवन काराबास थप

बर्दिया– सुरुवातमा चारघेरा भित्र थुन्नेबेला दूर्लभ एकसिंगे गैँडाको आनीबानी सुधार भएपछि खोर मुक्त गर्ने निर्णय थियो । तर, गैँडाको आनीबानीमा सुधार नभएपछि १४ वर्षदेखि चारघेरामा रहेको गैँडा नछुट्ने भएको छ । ०६७ साल जेठ ४ गते ठाकुरबाबा नगरपालिका ठाकुरद्वारास्थित श्रीकृष्ण प्रणामी मन्दिरका पुजारी दिलबहादुर रानालाई मारेको अभियोग लागेको ‘बिक्रम’ नाम गरेका गैँडा बर्दिया राष्ट्रिय निकुञ्जको खोरमा राखिँदै आएको छ । उक्त गैंडाको आजीवन काराबास लम्बिएको हो ।

Advertisement

करिब १४ वर्षदेखि खोरमा सजाय भोग्दै आएको विक्रमको आनीवानीमा कुनै परिवर्तन नआएका कारण आजीवन खोरमा बस्ने भएको निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताए । हुनतः उसको सम्बन्ध मानिससँग बढी हिमचिम भएका कारण जंगलमा रहेका साथीहरुबाट हेला भएको छ । ०६७ साल भन्दा अघि मानिससँग बढी हिमचिम भएकाले जंगलका गैंडाले लखटेर ऑखा फुटाई दिएका थिए । । यसै कारण पनि उसलाई जंगलमा छाड्ने अवस्था नभएकोले आजीवन खोरमा बस्ने निकुञ्जका सहायक संरक्षण अधिकृत दाहालले जनाए । आफू बसेको खोरको बाहिर समेत मानिस आएको थाहा पाएपछि बिक्रम निकै आक्रमक हुने गर्छ ।

Advertisement

मन्दिरका पुजारीलाई मारे पनि विक्रम गैँडालाई केही समय निकुञ्जको मुख्यालयको हातामा चरिचरणका लागि राखिएको थियो । त्यस अवधिमा मानिसको गन्ध थाहा पाउना साथ आक्रमण गर्ने, निकुञ्ज हाता बाहिर निस्केर खेतवाली क्षति पुराएको थियो । अति भएपछि विक्रमलाई नियन्त्रणमा लिई खोरमा राखिएको सहायक संरक्षण अधिकृत दाहालले बताए । ‘सर्वसाधरण असुरक्षित हुने भएकोले विक्रम गैँडालाई करिब १४ वर्षदेखि खोरमा राखिएको छ,’ उनले भने, ‘उसलाई बाहिर निकाल्ने अवस्था नभएकाले पोषण युक्त आहारासहित खोर भित्र राखिएको छ ।’

सहायक संरक्षण अधिकृत दाहालले विक्रमको वेलावेलामा स्वास्थ्य अवस्था बुझ्न चिकित्सक खटिने गरेको जनाए । उसलाई अहिलेसम्म कुनै रोग लागेको छैन ।    २०५५ सालमा टुहोरो बिक्रमलाई चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया स्थान्तरण गरिएको थियो । यहॉ स्थान्तरण गरेपछि उसलाई निकुञ्जमा छाडिएको थियो । तर उसलाई जंगलका गैंडाले लखट्न थालेपछि निकुञ्जको मुख्यालयमा रहेको व्यारेकमा सैनिकले विक्रमलाई भात, तरकारी लगायत फलफूल दिन्थे । बच्चा छदा विक्रम सधै निकुञ्ज बाहिर आहाराको खोजीमा खेतवारीमा पस्थ्यो । खेतवाली क्षति पुराउन थालेपछि गाउँलेले लखट्ने गरेका थिए । साँझ पर्न साथ उ निकुञ्जको जंगलमा पस्थ्यो तर उसका साथीले लख्टने गर्थे ।

करिब २५ वर्षसम्म निकुञ्जमा काम गरेका पूर्व प्रमुख संरक्षा अधिकृत रमेशकुमार थापाका अनुसार विक्रम र कुमार नाम गरेका गैँडाका बच्चा २०५५ सालमा चितवनबाट बर्दिया निकुञ्जको बबई उपत्याकामा स्थान्तरण गरिएको थियो । सानैमा विक्रम र कुमारका आमा प्राकृतिक कारणले मृत्यु भएका थिए । जंगलमा बस्दा अन्य वन्यजन्तुले आक्रमण गर्न थालेपछि उनीहरु चितवन निकुञ्ज बाहिर बस्दै आएका थिए । चितवनमा पर्यटकसँग बढी हिमचिम गर्ने, खाना उनीहरु संगै खाने गरेका ति गैँडाका बच्चा बर्दिया निकुञ्ज भित्र बस्न सकेनन् । पर्यटकले दिएको खाना, नास्ताले उनीहरुको बानी बिग्रिसकेको थियो । प्रायः जसो भुरीगाउँ आसपास क्षेत्रमा आएर खेतीवाली क्षती पुराएपछि पुनः बबई उपत्याकामा पठाइएको थियो । त्यहाँ पनि बस्न नसकि विक्रम फर्केर निकुञ्जको मुख्यालय ठाकुरद्वारा आएको थियो । बर्दिया निकुञ्जका अनुसार कुमार भने बबई उपत्याकामा थियो ।

पूर्व संरक्षण अधिकृत थापाका अनुसार २०५७ सालतिर बबई उपत्याकामा स्थान्तरण गरिएको कुमार नाम गरेको गैँडा मारिएको खबरले निकै चर्चा पाएको बताए । त्यसताका कुमार नाम गरेका तात्कालिन शाही नेपाली सेनाका सिपाही मारिएको हल्ला पछि थप सैनिक त्यहाँ पुगेको उनले जनाए । त्यहाँ पूग्दा कुमार नाम गरेको सेना नभई गैँडा मारिएको थियो । कुमारको मृत्युपछि विरक्तिएको विक्रम पुनः बबई उपत्याका छाडेर करिब ४० किमी पश्चिम दक्षिण ठाकुरद्वारा आएको थियो । यहाँ आएपछि खेतमा वालीनाली खाइदिने, मानिसलाई आक्रमण गर्दै आएको पूर्व प्रमुख संरक्षण अधिकृत थापा बताउँछन् । विक्रमको पुच्छर समात्न जाँदा चार जना विद्यार्थीलाई घाइते बनाएको थियो । ०६७ साल जेठ तेस्रो साता दुई जना मानिस बाटोमा हिँडिरहेको अवस्थामा आक्रमण पछि विक्रमलाई नियन्त्रणमा लिएको थियो ।

विक्रमलाई राखिएको खोर भित्र आहाल र पिउने पानीको व्यवस्था गरिएको छ । उसको दैनिक खर्च करिब ३ सय रुपैयाँ बराबरको रहेको निकुञ्जले जनाएको छ । विक्रमको स्वास्थ्य उपचारका लागि वन्यजन्तु चिकित्सकको व्यवस्था गरिएको छ । गैँडा सामान्यत १५ देखि १६ महिनामा गर्भधारण गर्छ । बच्चा जन्मदा औषत तौल ५० देखि ७० केजी हुने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्बाहाम्फे बताउँछन् । गैँडाको आयु ४० देखि ५० वर्षसम्म हुने गरेको छ । निकुञ्ज घुम्न आउने मानिसले टाँसिएर फोटो खिच्ने, जिस्काउने, गरेर यसलाई सताउने गरेकाले आक्रमण गर्ने वानीको विकास भएको उनले जनाए ।

निकुञ्जमा गैँडा हेर्न नपाएका पर्यटकका लागि विक्रम आकर्षणको केन्द्र बनेको छ । गैँडा संरक्षित वन्यजन्तु भएकोले यसलाई मारेमा वा घाइते बनाएमा वा यसको शरिरका कुनै अंगहरु साथमा राखेमा र खरिदबिक्री गरी ओसारपसार गरे ५ लाखदेखि १० लाख जरिवाना वा ५ देखि १५ वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था रहेको निकुञ्जले जनाएको छ ।

सन् १९८६ मा पहिलो पटक चितवन निकुन्जबाट बर्दियाको कर्णाली नदी तटिय क्षेत्रमा ५ भाले र ८ पोथीसहित १३ वटा गैँडा स्थान्तरण प्रक्रिया शुरु भएको थियो । त्यस पछि त्यसपछि ७० वटा गैँडा बबई उपत्याकामा छाडिएको थियो । २० वर्ष अघिसम्म बर्दिया राष्ट्रिय निकुन्ज गैँडा चोरी सिकारका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सर्वत्र आलोचना खेप्दै आएको थियो । द्वन्द्वकालमा त्यहाँ सुरक्षका लागि तैनाथ सेना अन्यत्र स्थान्तरण भएका थिए । त्यस वेला बर्दिया निकुन्जमा गैँडा चोरी सिकारका कारण लोप हुने स्थितिमा पुगेको थियो । चितवनबाट बर्दिया निकुन्जमा स्थान्तरण गरिएका ८३ गैडा मध्ये द्वन्द्वकालमा चोरी सिकारीबाट ३६ र प्राकृतिक कारणले २४ वटा मारिएका थिए ।

हाल बर्दिया निकुन्जको कर्णाली नदी तटिय क्षेत्रमा २ बच्चासहित ३० र बबई उपत्याकामा १ बच्चासहित ७ वटा गरि ३८ वटा गैँडा रहेको अनुमान छ । ७ वर्ष अघि चितवन निकुञ्जबाट आठ वटा गैँडा स्थान्तरण गरिएको थियो । १६ वर्ष यता बर्दिया निकुन्जमा गैँडाको चोरीसिकार शुन्य भएको सहायक प्रमुख संरक्षण अधिकृत दाहालले बताए । मध्यवर्ती क्षेत्रका बासिन्दा, चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानका युवा दस्ता, संरक्षणकर्मी लगायत निकुन्जका कर्मचारी र सुरक्षाका लागि तैनाथ नेपाली सेनाको सहयोगले चोरी सिकार शुन्य बनेको उनले जनाए । गैँडाको उचित वासस्थान बबई उपत्याका मानिन्छ । गैँडाका लागि बबई नदी पानीको उचित आहाल भएको स्थान र उपत्याका हो ।