तीन गुणाले बढे भीम अस्पतालमा बिरामीः उपकरण, पूर्वाधार र जनशक्ति थप्न सरकार उदासिन



भैरहवा– उपचारका लागि भैरहवास्थित भीम अस्पतालमा आउने बिरामीको संख्या विगत तीन बर्षको अवधिमा तीन गुणा भन्दा धेरैले बढेको छ । तथापी विरामीको चापको तुलनामा आवश्यकता अनुरुपको जनशक्ति, उपकरण र भौतिक पूर्वाधार तयार पार्नेतर्फ संघ र प्रदेश सरकारले चासो दिएको पाइँदैन । लुम्बिनी प्रदेश सरकारले यस पटकको बजेट बिनियोजनमा भीम अस्पताललाई उपेक्षा नै गरेको देखिन्छ ।
अस्पताल प्रशासन र विकास समितिको आफ्नै वलबुता र दाताको सहयोगमा अस्पतालमा बिशेषज्ञ उपचार सेवा उपलब्ध गराउन थालिए पछि विरामीको चाप बर्षेनि बढ्दै जान थालेको हो । भीम अस्पतालको तथ्यांक अनुसार आर्थिक वर्ष ०७७–०७८ मा उपचार गराउन बहिरंग (ओपीडी) मा आउने बिरामीको संख्या नयाँ र पुराना गरेर २८ हजार ७ सय १३ थियो । आव ०७८–०७९ मा ६३ हजार २ पुग्यो । आव ०७९–०८० मा ९० हजार ३ सय १० पुगेको छ ।
यही अवधिमा आकस्मिक (इमर्जेन्सी) तर्फ आएका विरामीको चाप क्रमशः ६ हजार ६ सय ५९, ३ हजार ८ सय ७४ र १२ हजार ६२ जना छन् । उपचारमा आएका बिरामीमध्ये सवैभन्दा धेरै रक्तचापसँग सम्बन्धित बिरामी ५ प्रतिशत छन् । त्यसपछि क्रमशः मधुमेहका ४ दशमलव ५ प्रतिशत, कुकुरको टोकाइका ४ दशमलव ४, पेटका बिरामी २ दशमलव ३ प्रतिशत छन् । आकस्मिकतर्फ आउने बिरामीमा सबैभन्दा धेरै १६ प्रतिशत चोटपटक, पेटसँग सम्बन्धित १३ दशमलव ५६ प्रतिशत, टाउकोको चोटपटक ७ दशमलव ५ प्रतिशत, सर्पले टोकेको ७ प्रतिशत र अन्य जनावरले टोकेको विरामीकोको संख्या ४ दशमलव ३ प्रतिशत छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मेहम्मद नुरुल होदाले पछिल्ला दिनमा अस्पतालमा बिशेषज्ञ चिकित्सकको सेवा उपलब्ध बढ्दै जान थालेपछि विरामीको चाप बढ्न थालेको बताउँछन् । ‘कोभिडको वेलामा यो अस्पताल कोरोना बिशेष अस्पतालको रुपमा संचालन हुँदा आइसीयु र एचडीयु सेवा समेत संचालनमा आए । अन्य अस्पतालमा सेवा नपाइए पनि भीममा पाइन्छ भन्ने बिश्वास जनमानसमा पर्यो’, होदाले भने, ‘एक किसिमले भन्नु पर्दा कोभिडका कारण भीम अस्पताललाई बिरामीको बिश्वास जित्न पाएको अवसर पनि हो ।’
उनका अनुसार, पछिल्ला वर्षमा भीम अस्पतालमा विभिन्न विशेषज्ञ सेवासहितको चिकित्सकीय उपचार सेवा बढ्दै जान थालेको छ । यतिबेला अस्पतालमा जनरल फिजिसियन, बालरोग, स्त्रीरोग, रेडियोलोजिष्ट, एनेस्थेसिया, छाला तथा यौन, नाक, कान, घाँटी सर्जनसहितको बिशेषज्ञ सेवा उपलब्ध छन् । स्त्री तथा महिला बिरामी र रेडियोलोजिष्टतर्फका बिरामीको अत्याधिक चापका कारण एक–एक जना चिकित्सक थपिएको छ ।
‘यति हुँदाहुँदै पनि अस्पतालमा बिरामीको चाप हेर्दा हाडजोर्नी तथा नशारोग बिशेषज्ञ, जनरल सर्जन, स्त्री तथा प्रसुति रोगका २ जना चिकित्सक थप गर्न अति जरुरी देखिएको छ’, होदा भन्छन् । तथ्यांक अनुसार ०७७–०७८ मा उपचारका लागि आएका कुल बिरामीमध्ये ५ हजार ९ सय ५४ स्त्री तथा प्रशुती रोग सम्बन्धिका विरामी संख्या थिए । यो संख्या क्रमशः आव ०७८–०७९ मा ११ हजार ९ सय ५९ र आव ०७९–०८० मा १७ हजार ७ सय १५ रहेको अस्पतालका मेडिकल रेकर्डर खिम थापाले बताए ।

हाल अस्पतालमा सरदर प्रतिदिन एक्सरे ५५ जनाको, ल्याव टेष्ट ७ सय ३ जना र अल्ट्रासाउण्ड ५५ जनाको हुने गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारी अस्पतालमा दिन प्रतिदिन बढ्दो बिरामीको चापलाई पुरानै जनशक्ति र श्रोत साधनले धान्न परिरहेको बताउँछन् । ‘अस्पतालमा पछिल्लो समयमा विरामीको चाप अत्याधिक छ तर बिरामीको चाप अनुरुपको जनशक्ति र श्रोत साधन उपलब्ध गराउनेतर्फ सरकारको चासो छैन’, भण्डारीले भने, ‘दाता र सहयोगी गुहारेर अस्पताल संचालन गर्नु परेको छ । सरकारबाट पक्षपातपूर्ण व्यहार भएको छ ।’
बिगतमा करिब ३ सय जना बिरामीको चाप हुँदा ५० वेडको स्वीकृत दरबन्दी अनुरुपको जनशक्तिले नै अहिले दैनिक ८ सय भन्दा धेरै बिरामीको चापलाई सेवा दिनु परिरहेको भनाइ उनको छ । उनको भनाइमा यतिवेला भीम अस्पतालमा १ सय बेड अनुरुपको जनशक्ति आवश्यक छ । भीम अस्पताल सरकारी स्तरबाट ५० बेडको स्वीकृत दरबन्दीको अस्पताल हो ।
लुम्बिनी प्रदेश सरकारमा भैरहवा क्षेत्रकै शक्तिशाली मन्त्री भएर पनि यस पटक भीम अस्पतालको पूर्वाधार तथा उपकरणका लागि बजेट नपरेको उनले आरोप छ । बिरामीको चाप थेग्न गाह्रो भएपछि अस्पताल व्यवस्थापन समितिले आफ्नै श्रोत र सहयोग जुटाएर १ सय २० बेड क्षमतामा संचालन गर्दै आएको छ । स्विकृत ५० बेडका लागि विभिन्न बिषयका बिशेषज्ञ चिकित्सकसहित ७१ जना जनशक्ति उपलब्ध गराइने भनेर प्रदेश मन्त्रालयबाट अस्पतालमा पत्र पठाइएको भए पनि ९ जना उपलब्ध हुन सकेको छैन ।
अस्पतालमा उपचारका लागि भैरहवा र रुपन्देहीका मात्र नभएर पाल्पा, कपिलबस्तु, नवलपरासी र छिमेकी राष्ट्र भारतका सिमावर्ती क्षेत्रका विरामी समेत आउने गर्छन् । बजेट बिनियोजन गरिएको प्रदेश सरकारको रातो कितावमा उल्लेख गरिए अनुसार अस्पतालको प्रशासनिक खर्च बाहेक बुटवलको लुम्बिनी प्रदेश अस्पताललाई २३ करोड देखि अन्य अस्पताललाई न्युनतम १ करोड भन्दा धेरै रुपैयाँ उपलब्ध गराइएको छ । भीम अस्पताललाई भने नवजात शिशु सघन उपचार, लास राख्ने फ्रिज, प्रशुती गृहमा उपकरण र मरम्मतका लागि ३२ लाख रुपैयाँमात्र बिनियोजन भएको छ ।








प्रतिकृया दिनुहोस्