November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

आगलागी पीडितको अश्रुधारा

कपिलवस्तु– भारतको महाराष्ट्र जिल्लाको मुम्वईस्थित काठ गोदाममा ९ वर्ष अघि भएको आगलागीमा आफन्त गुमाएका कपिलवस्तुको सीमावर्ती महाराजगन्ज गाउँपालिका–७, सतभराका पीडितको विचल्ली भएको छ । अधिकांशले घरमा कमाई गर्ने मुली गुमाएले मृतकका परिवार पीडामा छन् । मजदुरी गर्ने कोही नभएपछि आफन्त आर्थिक अभाव झेल्न बाध्य छन् । आफन्त र गाउँले गर्ने सहयोगले पीडितको जीवन निर्वाह भइरहेको छ ।

Advertisement

साविक कुशहवा गाबिसका उपाध्यक्ष तथा स्थानीय बुद्धिसागर शुक्लाका अनुसार २०७१ पुस ११ गते महाराष्ट्रको ठाणे जिल्लाको मण्डी महानगरपालिकास्थित काठ गोदाममा आगलागी हुँदा महाराजगन्ज–७, सतभराका पाँच र महाराजगन्ज–४, वरइपुरका दुई जनाको मृत्यु भएको थियो । राती खाना खाएर सुतेका उनीहरु आगलागीमा परेका थिए । उक्त घटनामा सतभराका लौटु मुराउ, भुइधर अहिर, गौरीपुजन लोनिया, गणेश लोनिया र विक्रम चमारको मृत्यु भएको थियो । यस्तै, वरईपुरका निरज चौधरी र रामदयाल भरको मृत्यु भएको थियो ।

Advertisement

शुक्लाका अनुसार पीडितले अहिलेसम्म राहत पाएका छैनन् । जिल्ला प्रशासनले २०७४ चैत २८ गते गृह मन्त्रालयको राहत शाखालाई पठाएको सिफारिस पत्रमा परराष्ट्र मन्त्रालय मार्फत राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको छ । उक्त पत्रमा पीडितले त्यसबेलासम्म कतैबाट राहत र क्षतिपूर्ति प्राप्त नगरेको उल्लेख गरिएको छ । सन २०१९ अप्रिल २३ गते कुरियर र इमेल मार्फत परराष्ट्र मन्त्रालय अन्तर्गत काउन्सिलर शाखालाई राहत र क्षतिपूर्तिका लागि निवेदन पठाएको उनले बताए ।

राहत र क्षतिपूर्तिका लागि पठाएका कागजातका फोटोकपी शुक्लाले राखेका छन् । विपन्न परिवार भएकाले पीडितलाई खान लाउन समस्या भइरहेको उनले बताए । ‘शिक्षाबाट बञ्चित छन्,’ उनले भने, ‘बिरामी परेपछि उपचार गराउन सक्दैनन् । ऋण लिएपछि तिर्न नसकेर तनावमा छन् ।’ महाराजगन्ज गाउँपालिका–७, सतभराकी ३७ वर्षीया शान्ति मुराउको ९ वर्षअघि श्रीमान लौटुको महाराष्ट्रमा आगलागीमा परेर मृत्यु भएदेखि मन अशान्त छ । गाउँमा इँटा भट्टामा काम गर्ने लौटु पहिलोपटक कमाउन महाराष्ट्र गएको १५ दिन मा पुगेको थियो ।

यहाँको मजदुरीले गुजारा मात्र भएपछि एक हल गोरु खरिद गर्न पुग्ने आम्दानी गर्छु भन्दैं पति भारत गएको शान्तीले बताइन् । ‘कमाएर आएपछि गोरु किनेर अधियाँ खेती गरेर घर चलाउँछु भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘त्यो सपना उहाँसितै खरानी भयो ।’ उनका तीन छोरी र एक छोरा छन् । कान्छी छोरी मामाघरमा बसेर कक्षा १ मा पढ्छिन् । कान्छी छोरी ९ महिनाको हुँदा लौटुको मृत्यु भएको थियो । शिवराज–८, लक्ष्मणपुरस्थित मामा घरमा बसेर छोरा जयशंकर ५ कक्षामा पढिरहेका थिए । बाबुको मृत्युपछि पढाई छाडेर मजदुरी गर्छन् । जेठी र माइली छोरीले विद्यालय टेकेनन् । दुबै कृष्णनगरमा घरेलु कामदार छन् ।

‘छोरीहरु आउँदैनन्,’ शान्तिले भनिन्, ‘बेला–बेलामा म नै भेट्न जान्छु ।’ समस्या परेका बेला छोरीले आर्थिक सहयोग गर्छन् । दुबै छोरीको मासिक पारिश्रमिक तोकिएको छैन । घरधनीले कहिलेकाही खर्च दिन्छन् । छोरा बहादुरगन्जस्थित प्लाइउड फ्याक्ट्रीमा काम गर्छन् । उनका अनुसार समस्याले पिरोल्न थालेको छ । ‘छोराछोरीको पढाइ छुटयो,’ उनले भनिन्, ‘दाल चामल जुटाउन धौं छ । छोरी अर्काको घरमा कामदार छन्, उनीहरुको भविष्य डुब्यो ।’ छोरीको बिहेवारी कसरी गर्ने भन्ने चिन्ताले सताउन थालेको उनले बताइन् ।

छोराछोरीले मिठो खान खोज्दा चुप लागेर बस्नु पर्ने अवस्था रहेको बताइन् । चार कट्ठा जमिनको उब्जनीले एक महिना नधान्ने उनले बताइन् । कहिलेकाही गाउँका घरमा खाना पकाउन जाने, खेत रोप्ने, धान काट्ने गरेर अलिकति आम्दानी गरिरहेका बताइन् । गुजारा गर्न भनेर सिलाई मेशिन खरिद गरिन् । गाउँमा नगद तिरेर लुगा सिलाउने ग्राहक नभएपछि त्यो मेशिन साथीलाई दिएकी छन् । ‘एउटा लुगा सिलाएको ५० रुपैयाँ पनि पाइँदैन,’ उनले भनिन्, ‘त्यसैले काम छाडिदिए ।’ एकल महिला भएकाले स्थानीय सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइरहेको छ । त्यसबाट नुन तेल जोहो गर्ने उनले घटनापछि कतैबाट राहत र क्षतिपूर्ति प्राप्त नगरेको गुनासो गरिन् ।

महाराजगन्ज–७, सतभराका ७१ वर्षीय पटेश्वरी चौहान (लोनिया)ले महाराष्ट्र आगलागीमा दुई छोरा गुमाए । जेठा गौरीपुजन २५ र कान्छा गणेश २२ वर्षको आगलागीमा परेर मृत्यु भएको थियो । परिवारसित बिदा भएर गएको एक महिनामा उनीहरु घटनामा परेका थिए । पटेश्वरी बाँया आँखाले देख्दैनन् । बाँसको लौरो उनको सहारा बनेको छ । परिवारमा उनी, श्रीमती, गणेशकी पत्नी र छोरा छन् । उनीहरुको माटोको घर थियो । दुबै छोरा पहिलो पटक महाराष्ट्रस्थित उक्त काठ फ्याक्ट्रीमा गएर एक वर्ष काम गरे ।

‘त्यहाँबाट फर्किएर इँटाको पर्खाल चिने,’ बाबु पटेश्वरीले भने, ‘घरको बाँकी निर्माण पूरा गर्ने भन्दैं फेरि गएका थिए ।’ तर, भारतबाट छोराको लाश पनि फर्केन । जलेर पहिचान गर्न समस्या भएपछि त्यही अन्तिम संस्कार गरियो । छोराको अन्तिम संस्कार पूरा गरेर एक सातापछि फर्किए । भारतीय नागरिकले चन्दा संकलन गरेर दुर्घटनामा मृत्यु भएकाको दाहसंस्कारमा सघाएकोे उनले बताए । छोराको सम्झना इँटाले चिनेको घरको पर्खाल बाँकी रहेको उनी सुनाउँछन् । परिवारको रेखदेख जिम्मेवारी उनीमाथि छ ।

गणेशका छोरा अमन गाउँकै रत्नराज्य लक्ष्मी आधारभूत विद्यालयमा तीन कक्षामा अध्ययन गर्छन् । अमन हजुर बुवालाई डोर्याउँछन् । पाँच कट्ठा जमिनको उब्जनीले दुई महिना पुग्दैन । ‘म मजदुरी गर्न सक्दिन,’ उनले भने, ‘कहिलेकाँही सहयोग मिल्छ, नत्र सापटी मागेर चलाउछु ।’ दुई गाइको रेखलेख बुहारीले गर्छिन् । एक्लै बस्दा बैराग लाग्ने भएकाले पटेश्वरी घाँस काट्न खेतमा पुग्छन् । घाँस बोकेर ल्याउन सक्दैनन् । त्यसैले नातीलाई बोलाएर घरसम्म घाँस ल्याउने गरेको उनले बताए ।

‘छोराहरु हुन्थे भने हाम्रो जीवन स्वर्ग भइसक्थ्यो,’ उनले भने, ‘अहिले त नर्क जस्तै छ ।’ छोराहरु राती सपनीमा आउने उनले बताए । छोराको यादले पिरोल्दा सहन नसकेर भूइँमा पल्टिने गरेको उनी बताउँछन् । दिउँसो छोराको याद आएका बेला धेरै कष्ट हुने उनले सुनाए । ‘खेतमा काम गर्दागर्दै याद आउँदा त्यहीँ ढल्छु,’ उनले भने, ‘उठाउने कोही हुँदैन ।’

तीन छोरी बिहेवारी भएर गइसके । चाडबाडका बेला छोरीले खर्च पठाइदिन्छन् । आफू बिरामी छन् । एक वर्षदेखि ढाड दुख्ने समस्या छ । ऋण खोजेर उपचार गरेको उनले बताए । घर र उपचार खर्च गरेर अहिलेसम्म दुई लाख रुपैयाँ ऋण पुगिसकेको उनले बताए । दवाई खाइरहेका छन् । क्षतिपूर्ति र राहतका लागि चारपटक सदरमुकाम तौलिहवा पुगेर प्रमुख जिल्ला अधिकारी भेटिसकेको उनले बताए । अहिलेसम्म सहयोग नमिलेको उनको भनाई छ ।

मजदुरको मृत्युपछि राहत माग गर्दै आफन्तले ५ दिनसम्म दिन सम्म शव बुझेका थिएनन् । भारत सरकार, महाराष्ट्र राज्य सरकार र काठ उद्योगले राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने आश्वासन दिएपछि पीडित परिवारले शव बुझेर दाहसंस्कार गरेका थिए । तत्कालीन समयमा नेपाली दुतावासले राहतका लागि पहल गरेको थियो । तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाले राहत उपलब्ध गराउने आश्वासन दिएको पूर्व राज्यमन्त्री ईश्वरदयाल मिश्रले बताए । अहिलेसम्म कहीकतैबाट पनि उनीहरुले राहत पाउन नसकेको उनले बताए ।

यस क्षेत्रमा मन्त्री, सासदले प्रधानमन्त्रीलाई राहतका लागि दबाब दिएका थिए । महाराजगन्ज नगरपालिका प्रमुख अब्दुल कलामले मृतकको काजक्रियामा ब्यक्तिगत रुपमा सहयोग गरेको बताए । दुई मुलुकबीचको कुरा भएकाले परराष्ट्र मन्त्रालयले अग्रसरता लिएर पीडितलाई सहयोग गर्नु पर्ने उनले बताए ।