पहाडका बारीमा बाँदरको राज



भैरहवा– बाँदर धपाउने क्रममा चिप्लिएर लड्दा एक वर्षअघि अर्घाखाँचीको छत्रदेव–४, केरुंगाका टंक खनालको ज्यान गयो । बाँदरले मकैको घोगा भाँचेको देखेपछि उनी धपाउन दौडिएका थिए । चिप्लिएर गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको थियो । छत्रदेवमा तीन वर्षयता बाँदर धपाउन खोज्दा लडेर एक दर्जन घाइते भइसके । एक दशकदेखि छत्रदेवमा बाँदर आतंक छ । बाँदरबाट बाली जोगाएर भित्र्याउन पाइरहेका छैनन् ।
‘विहानै उठेर साँझसम्म बारीमा चौकीदारी गर्नुपर्छ, नत्र छिनभरमै सखाप पारिदिन्छ,’ बल्कोटका बासिन्दा पिताम्बर खनालले भने, ‘हातमा गुलेली, ढुंगा लिएर बस्छौं । बारीमा आउन लाग्दा हान्छौं, ताउला, गाग्री, थाल बजाएर धपाउँछौं ।’ बारी छेउमा अस्थायी टहरा छन् । घरपरिवार आलोपालो गरेर टहरा र बारी छेउमा चौकीदारी गर्छन् । खाना, खाजा, पानी झोलामा लगेर जान्छन् ।
‘चौकीदारी गर्दा पनि दिनमा दुई–चारवटा घोगा त भाँचिहाल्छ,’ उनले भने, ‘बाँदरको ठूलो हुल छ, लेखट्दा लखेट्दै पनि छक्काएर बारीमा छिरिहाल्छ ।’ गाउँका सबै घरको ढोका लगाएर मकै जोगाउन बारीमा पहरा दिन्छन् । स्कुले विद्यार्थी पनि पढाई छाडेर बारीमै चौकीदारी गर्छन् । जिल्लाको केरुंगामा मानबहादुर विकले ६ रोपनीमा मकै खेती गर्छन् । बाँदर नलाग्ने बेलासम्म प्रत्येक वर्ष १० मुरी मकै भित्र्याउँथे । ‘हातमा लौरो, ढुंगा र टिन बोकेर बारीमा वरपर दौडिन्छु,’ उनले भने, ‘बाँदर देखे होहल्ला गर्दै ढुंगा फाल्ने, टिन ठटाएर लखेट्ने गर्छु । तर पनि खाइहाल्छ, अहिले आधा मकै पनि भित्र्याउन पाइँदैन ।’
बाँदर रुखमा बस्छ । गुलेलीले हान्दा लुक्छ । एक हाँगाबाट अर्कोमा हाम फालेर जोगिन्छ । लखेटेर अलि टाढै पुर्याए पनि फर्किंदा पछिपछि आइपुग्ने उनले बताए । मकै बाँदरले खाइदिँदा चामल धेरै किन्नुपरो । बोटबाट मकै जनतन त भित्राइन्छ । हिउँदमा घरभित्र पसेर मकैको बोरा च्याथेर नोक्सान गरिदिने र अगेनामा कशौंडीमा पकाएको भात, आटो, दालतरकारी कोही नभएको बेला भित्र पसेर खाइदिने गर्ने उनले बताए ।
‘मेरो माइलो दाई बाँदरकै कारण बसाइँसराई गरेर तराई गए, मसँग तराइमा जग्गा किन्ने पैसा छैन,’ उनले भने, ‘यहाँ बस्नु बाध्यता हो । मकैसहित हिउँदमा गहुँ, तोरी, तरकारी सबै नोक्सान गरिदिन्छ ।’ हिउँदमा अन्नबाली र तरकारी सबै नोक्सान गरिदिने उनले बताए । ‘अन्नबाली जोगाउनै कठिन भो, मकै नजोगाउने हो भने के खाएर बाँच्ने ? गरिब परिवारलाई छाक टार्न मुस्किल छ,’ केरुंगाकी विमला विकले भनिन्, ‘उब्जनी भएको आधा अन्न बाँदरलाई हुन्छ, आधा मात्रै भित्राउने हो । घर छाडेर अन्यत्र बसाइसराई गरौं भने जग्गा किन्ने पैसा छैन, विहान बेलुका छाकको गर्जाे टार्नै मुस्किल छ । यतै बसेर खेतीपाती गरेर जीवन निर्वाह गरौं भने बाँदरले केही रहन दिन्न ।’
कक्षा १० मा पढने वसन्ता पन्थीको दैनिकी साउनयता बारीमै बितिरहेको छ । स्कुल हापेकी छन् । पढाइसँगै मकै जोगाउने चिन्ता छ । ‘मकै नजोगाउँदा के खाएर पढ्न जाने ? बारीमा चौकीदारी गर्दा पढाई छुट्छ,’ उनले भनिन्, ‘मकै नभित्राउँदासम्म स्कुल जान्न । बारीमा टिन, थाल र गाग्री राखेकी छु, बाँदर आउन थाल्यो भने बजाउने, ढुंगा बर्साउने र होहल्ला गरेर लखेटेर मकैको घोघा जोगाउने हो ।’ बारीको टहरामा किताब ल्याएर पढ्न पनि पाइँदैन । किताब हेर्दा बाँदर बारीमा पसेर मकै भाँचिसक्ने उनले बताइन् ।
छत्रदेव गाउँपालिकाको आठ वटै वडामा ठूलो संख्यामा बाँदरको हुल बस्छ । सन्धिखर्क नगरपालिका–४ र ५ वाङला, मालारानी–१, २ र ३, पाणिनि गाउँपालिकाको खिदिम, पोखराथोकमा बाँदरको बिगबिगी छ । अन्य पालिकाको बस्तीमा पनि छिटफुट बाँदर लाग्छ । पहिलो स्थानीय तहको चुनावमा उम्मेदवारले बाँदर नियन्त्रण गर्ने भनेरै भोट मागेका थिए । गुल्मीको मुसिकोट–६ चिदीपानीकी ३० बर्षीया गोमा पौडेल प्रत्येक विहान बाँदर लेखेट्न बारीमा पुग्छिन् । एक्लै देखेपछि बाँदर उनीतिरै आए । बाँदरको समूह आक्रमण गर्न आएपछि आत्तिएको बताइन् ।
‘मकै सखापै बनाए, धपाउन जाँदा बाँदरको समूह नै झम्टिन आयो, आज ठुलो कालबाट बाँचेँ’, उनले भनिन् । आफू जता गयो, त्यतै आएर लखेट्न थालेपछि आत्तिएरकेही सोच्नै नसक्ने अवस्थामा पुगेको बताइन् । श्रीमान रोजगारीको शिलशिलामा भारतमा छन् । घरमा उनी दुइ छोरी छन् । अहिले बाँदर धपाउँदा घरको काम बिथोलिएको छ । बारीमा मकै सखाप भइसक्यो । स्थानीय देउकला विकले झिसमिसेमै बाँदर थपाउन बारीमा पुग्ने गरेको सुनाइन् । बारीमा पुग्न नपाउँदै बाँदरको समूहले मकै सत्यानास पारिसकेको हुन्छ । वर्षभरी खानाका लागि भनेर मकै खेती गरेको उनले सुनाइन् ।
‘बाँदरले एकैछिनमा स्वाह बनाइ दिए,’ उनले भनिन्, ‘रुनु न हाँस्नु भएकि छु ।’ स्थानीय पवित्रा पौडेलको बाँदर लेखेट्न बारीमै बास भइरहेको छ । बच्चाबच्चीलाई खाना खुवाएर विद्यालय पठाउने समयमा मकै जोगाउनका लागि बारीमै बाँस बस्नुपर्ने बाध्यता सुनाउँदा उनका आँखा रसाए । यी त उदाहरण मात्रै हुन् । अहिले लुम्बिनी प्रदेशका पहाडी जिल्ला प्यूठान, रोल्पा, रुकुम, पाल्पा सबैतिर बाँदर आतंक छ । बाली खाएर बाँदरले हैरानी बनाउने गरेको छ ।
पाल्पाको बगनासकाली–८, बराङदीकी देवका बस्याल बारीमा लगाएको मकै स्याहार्न नपाएपछि एक वर्ष बारी नै बाँझो राखिन् । लगाएको मकै सुरुमा टुसा जोगाउन डर भयो । उम्रेर घोगा हाल्ने क्रममा बाँदरलाई जोगाउनै मुश्किल परेको हो । ‘बिहान उज्यालो भएपछि बेलुकी अध्याँरो हुँदासम्म बाँदर कुरेर बस्नुपर्ने अवस्था आयो,’ बस्यालले भनिन्, ‘अहिले पनि लगाएको खेती स्याहार्न नदिने भएपछि बैकल्पिक उपाय अपनाउन थालिएको छ ।’ तानसेन नगरपालिका–१, नारनडाँडाका सन्तोष बस्याल पनि बाँदरबाट हैरान छन् । बाँदरले लगाएको कुनै पनि खेती स्याहार्न नदिने समस्या छ । जसले गर्दा उनल दुईवर्ष यता खेती नै लगाएका छैनन् । खेती लगाएर सबै बाँदरको हुलले सत्यानास पार्ने उनले बताए ।
‘बाँदरको हुल लखेट्नसमेत मुश्किल परिसकेको छ,’ उनले भने, ‘बाँदर लाग्ने समस्या समाधानका लागि कसलाई भन्ने हो भन्ने हामी नै बुझेका छैनौं ।’ यी केही उदाहरण मात्र हुन् । जिल्लाका १० वटै स्थानीय तहमा बाँदरबाट किसानले हैरानी खेप्नु परेको छ । केही वर्षयता बाँदरको हुलका हुल आएर किसानको खेतीबाली खाइदिने, बिगार्ने गरेको छ । किसानले खेतबारीमा लगाएका अन्नबालीे जोगाउनै मुश्किल परेको गुनासो नगर र गाउँपालिकासम्म पुगेर गुनासो गर्न थालेका छन् । कतिपय किसानले टोलमा योजना संकलन गर्न जाने वडाध्यक्ष, वडासदस्य, कर्मचारीलाई बाँदर नियन्त्रणका लागि मागसमेत गरेका छन् । पालिकाले भने बाँदर नियन्त्रणको योजना ल्याउन सकेका छैनन् ।








प्रतिकृया दिनुहोस्