November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

राजमार्गभरि छाडा चौपायाले सास्ती

भैरहवा– रुपन्देही र कपिलवस्तु अन्तर्गतका राजमार्गभरि छाडा चौपायाका कारण सवारी चालक र यात्रुले सास्ती खेप्नु परिरहेको छ । उत्तरमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्ग र दक्षिणमा हुलाकी मार्ग गोठमा परिणत भएका छन् । यी मार्ग अन्तर्गतका बजारमा अहिले गाइगोरु मात्र देखिन्छन् । यी मार्ग भएर यात्रा गर्नेलाई बस्तुभाउ धपाउनु पर्ने बाध्यता छ । साँझ परेपछि चर्न गएका बस्तुभाउ फर्किर राजमार्ग बस्छन् । जसले गर्दा लामो दूरीको राजमार्ग नै जाम जस्तो हुन्छ ।

Advertisement

रुपन्देहीको लुम्बिनी क्षेत्र र कपिलवस्तु जिल्लाभरि छाडा चौपाया छन् । कपिलवस्तु सदरमुकाम तौलिहवा यस्ता बस्तुभाउको ‘राजधानी’ बनेको छ । सदरमुकामका बजारमा किनमेल गर्ने ग्राहक भन्दा गाइगोरु धेरै देखिन्छन्् । जसले गर्दा सदरमुकामका सडक छिचोल्न सकस हुने गरेको छ । महेन्द्र राजमार्ग अन्तर्गतका चार नम्बर, पिपरा, गोरुसिंगे, चन्द्रौटा बजारमा पनि खुला चौपाया छयापछ्याप्ती पाइन्छन् ।

Advertisement

रुपन्देहीको सबैभन्दा ठूलो बुटवल उपमहानगरमा पनि यस्ता चौपायाको बिगबिगी छ । नेपालगन्जमा पनि छाडा चौपायाको समस्या विकराल छ । यस्ता बस्तुभाउको व्यवस्थापनबारे चर्चा हुन्छ । तर, समाधान निकाल्न सकिएको छैन । जसले गर्दा यात्रा कठिन र दुर्घटना बृद्धि भएका छन् । वर्षौदेखिको समस्या समाधान नभएपछि स्थानीयले आक्रोश व्यक्त गरिरहेका छन् ।

स्थानीय सरकारले नियन्त्रणमा लिएर कहाँ राख्ने भन्ने समस्या छ । समाधानका लागि स्थानीय सरकारबीच कार्यगत एकता समेत देखिँदैन । जसले गर्दा समस्या बढ्ने मात्र भइरहेको छ । समाधानको पाटोमा अन्योल देखिन्छ । यस्ता बस्तुभाउका कारण भएका गाडी दुर्घटनाका कारण पछिल्ला तीन वर्षमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ८९ चौपायाको मृत्यु भएको छ ।

बुटवलस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले ३२ घाइते भएको जनाएको छ । कार्यालयका डीएसपी होमबहादुर थापाले पशु चौपायाका कारण दुर्घटनाको जोखिम निकै बढेको बताए । तर, चौपायाका कारणले कति सवारी दुर्घटना परे भन्ने यकिन नभएको उनको भनाइ छ । बजार क्षेत्रका सडकमा देखिने चौपाया आफूहरूले बेलाबेला धपाउने मात्रै गरेको उनले बताए ।

वर्षौंदेखि समस्या भएकाले केही ठाउँमा छापा चौपाया व्यवस्थापनको लागि पहल पनि भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ र ८ को बिचमा कहरिया सामुदायिक वनमा गौशाला बनाएर छाडा गाईबस्तु राखिएको छ । यस्तै, घोराहीमा पनि सामुदायिक वनको सहयोगमा छाडा पशु चौपाया नियन्त्रण गरिएको छ । घोराही उपमहानगरले स्थानीय सामुदायिक वनसँग समन्वय गरेर २ जना हेरालुको व्यवस्थासहित छाडा चौपाया नियन्त्रण गरेको नगर प्रमुख नरुलाल चौधरीले बताए ।

नगरपालिकाका तर्फबाट २ जना हेरालुको व्यवस्थापन गरिएको र सामुदायिक वनलाई पराल, भुस किन्न बजेट पनि छुट्याएर व्यवस्थापन गर्दा यहाँ छाडा पशु चौपाया समस्या नरहेको उनले बताए । छाडा चौपायाको समस्या दीर्घकालीन समाधान गर्न बुटवलले छिमेकी पालिकाहरूसँग समन्वय गरी प्रदेशस्तरको गौ संरक्षण केन्द्र बनाउने योजना बनाएको छ ।

पन्थीले भने, ‘त्यसका लागि नगरपालिका रकम दिन तयार छ तर प्रदेश सरकारले नेतृत्व गर्नु पर्यो, अरु स्थानीय तह पनि तयार हुन्छन् ।’ बुटवल उपमहानगरले प्रदेशस्तरको गौसंरक्षण केन्द्र स्थापनाका लागि आर्थिक वर्ष २०८०–८१ मा २५ लाख बजेट छुट्याएको छ । बुटवल जस्तै सिद्धार्थ नगरपालिकाले पनि बेलाबेलामा बजार आएका छाडा चौपाया धपाएर जङ्गल पुर्याउने गरेको छ ।

छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको छ नै सवारीसाधनलाई आफ्नो गति तय गर्नसमेत कठिनाइ हुने गरेको छ । कानुनले छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । नेपालको संविधानको स्थानीय सरकार संचालन ऐनको परिच्छेद–३ अन्तर्गत दफा–११ को उपदफा २ मा छाडा पशु चौपायाको नियन्त्रण गर्ने अधिकार सुनिश्चत गरेको छ । तर, यहाँको स्थानीय सरकार भने व्यवस्थापनमा अग्रसर छैन ।

सडक नै ढाकेर छाडा चौपाया ओहोरदोहोर गर्छन् । जथाभावी दिसा पिसाव गर्छन् । यसले सडकको सौन्दर्यतामा कुरुपता ल्याएको मात्रै छैन आयुसमेत घटाउँदै लगेको छ । चौपायाको दिसा सफा गर्नेतर्फ पनि पालिकाहरुको ध्यान छैन । अर्कोतर्फ छाडा चौपाया बढ्दै जाँदा स्थानीयले करेसाबारीमा लगाएको तरकारी बाली, बजार क्षेत्रमा लगाइएको विरुवा खाने गरेका छन् । होटल तथा रेष्टुरेन्टु, तरकारी पसल अगाडि गाईगोरुको भीड लाग्ने गरेको छ ।