November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

दाजुभाइ र दिदीबहिनीको प्रेमको प्रतीक ‘राखी पर्व

भैरहवा– पहाडमा पण्डित, भान्जा, ज्वाइँ लगायतबाट डोरो बाँध्ने चलन छ । तराई–मधेसका जिल्लाहरुमा भने दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने प्रचलन छ । दाजुभाई र दिदीबहिनीको प्रेमको प्रतीक मानिने राखी पर्व यसपटक पनि धुमधामका साथ मनाइएको छ । आज बिहीबार तराई–मधेशमा राखी पर्व मनाइँदै छ ।

Advertisement

श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वले दिदीबहिनी र दाजुभाइबीचको आत्मीयतालाई प्रगाढ बनाउने विश्वास गरिन्छ । पवित्रता, प्रेम, शक्ति र एकताको प्रतीककारुपमा राखी पर्वलाई लिइएको छ । दिदीबहिनीले दाजुभाइको रक्षाका लागि राखी बाँधेर यो पर्व मनाउने गर्दछन् ।

Advertisement

तराईका जिल्लाहरुमा यो पर्व विशेष उल्लासपूर्वक मनाइने परम्परा छ । हुन त दाजुभाइ र दिदीबहिनीबीच सधैंभरि आत्मीय सम्बन्ध हुन्छ नै । त्यसमा पनि बेलाबखत आउने यस्ता सांस्कृतिक पर्वले त्यसलाई थप प्रगाढता बनाउने धेरैको विश्वास छ ।

यसमा दिदीबहिनीहरुले दाजुभाइको सुख, समृद्धि, लामो आयु तथा सफलताको कामना गर्दछन् भने दाजुभाइले पनि दिदीबहिनीहरुलाई दक्षिणा तथा उपहार दिने चलन छ ।

राखी पर्वले दाजुभाइ तथा दिदीबहिनीहरुबीचको अटुट सम्बन्ध दर्शाउँछ । पौराणिक कथनअनुसार रक्षाबन्धनको सुरुआत महाभारतकालीन समयबाट भएको देखिन्छ । महाभारतमा भगवान् श्रीकृष्णले आफ्नो चक्रबाट शिशुपालको शीर काटेर बध गरेका थिए । चक्र फिर्ता भएर भगवान्को औंला काटिएपछि रगत बगिरहेको देखेर बहिनी द्रौपदीले आफूले लगाएको साडी च्यातेर औंलामा बाँधिदिएको प्रसंग छ ।

त्यसबेला श्रीकृष्णले बहिनीलाई जीवनभर रक्षा गर्ने वाचा गरेका थिए । जुन श्रावण शुक्ल पूर्णिमाको दिन थियो । यही घटनाबाट यो पर्वको सुरुआत भएको शास्त्रीय मान्यता छ ।

दिदीबहिनी नहुनेले भने पुरोहितबाट राखी बाँधेर यसलाई मनाउने गरेका छन् । तराईका जिल्लामा राखीलाई भाइटीकापछिको विशेष पर्वको विशेष लिने गरिन्छ । पछिल्ला दिनहरुमा भने पहाडी समुदायमा पनि यसको महत्व बढ्न थालेको छ ।

यस अवसरमा संघीय सरकारले सार्वजनिक विदा दिएको छ । राखीसँगै विभिन्न प्रकारका मिठाइ तथा फलफूलले बजारको रौनकता बढाएको छ । मानिसको भिडभाडले बजारमा अरुबेला भन्दा बढी चहलपहल देखिएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि बजारमा राखी किन्ने र बेच्नेको उपस्थिति बढेको देखिन्छ ।

ग्राहकको रोजाइँ अनुसार राखी उपलब्ध गराउन व्यस्त रहेको राखी पसल सञ्चालक बताउँछन् । दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसीसम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यस पर्वलाई यस क्षेत्रको महान् सांस्कृतिक पर्व मानिन्छ । विवाह भएर गएका चेलीले आफ्ना दाजुभाइलाई राखी बन्धनमा राखी बाध्न निम्तो दिने गर्दछन् भने अविवाहित चेलीले पर्वको अवसरमा दाजुभाइलाई मन पर्ने परिकार बनाएर खुवाउने प्रचलन रहेको छ ।

सत्य युगमा तीनै लोक (स्वर्ग, मत्यु र पाताल) को अधिपति दानवराज बलिलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन बाँधिदिएकाले युद्धमा बलिको जीत भएको सम्झनामा प्रत्येक वर्ष साउन शुक्लपूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधीदिने परम्परा छ ।

यस पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित गरिएको डोरा यजमानलाई बाँधिदिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको छ । मधेसी समुदायले मनाउने यस रक्षाबन्धन पर्व पछिल्ला दिनमा पहाडी समुदायमा पनि मनाउन थालिएको छ ।