October 1, 2023, Sunday
१४ आश्विन २०८०, आईतवार

छोराछोरीसँगै पढाई पूरा गर्दै

दाङ– कलिलैमा बिहेपछि टुटेको पढाई अहिले उनी छोराछोरीसँगै पूरा गर्दै छिन् । पाको उमेरमा आएर भए पनि पढ्ने धोको पूरा गर्न पाएकोमा खुसी छन् । सात कक्षा पढिरहेकी थिइन् । १५ वर्षको त्यही चञ्चले उमेरमा विहे भयो । त्यसपछि उनको पढ्ने सपना टुट्यो । रहर हुँदाहुँदै घोराही–४, गोग्लीकि कमला सुवेदीले बुहारी बनेर घरका काम धान्नु पर्यो । अपुरो पढाइलाई निरन्तरता दिन सात कक्षा भर्ना भइन् । पहिलो त्रैमासिक परीक्षा दिनसम्म भ्याइन् । परीक्षा पास पनि गरिन् तर बाँकी दिन स्कुल जान पाइनन् ।

Advertisement

घर गृहस्थीको कामकोे भारले कमलालाई नराम्ररी थिच्यो । उनले स्कुलको आँगनमा पाइला टेक्न पाइनन् । तुलसीपुरस्थित मावि कालाखोलामा सात कक्षा पढ्दै गर्दा उनले जीवनका धेरै सपनाहरु बुनेकी थिइन् । धेरै पढ्ने र भबिष्य राम्रो बनाउने । विवाहका नाममा पढाइ छुटेपछि उनलाई साह्रै पिर पर्यो । घोराही उपमहानगरपालिका–४, गोग्लीस्थित कर्म घर नै सारा संसार भयो । तुलसीपुरस्थित माइतीघर र स्कुल पराई बन्यो ।

Advertisement

विवाह गरेको दुई बर्षपछि २०५७ सालमा छोरी मनिषाको जन्म भयो । त्यसपछि उनले घर व्यवहारका कामसँगै छोरीको स्याहारमा समय बिताइन् । तीन वर्षपछि २०६० मा छोरा मिलनको जन्म भयो । अब छोराछोरी पढाउने समय आयो । छोरा पाँच बर्षको भएपछि उनले घोराहीस्थित नेपाल महिला सामुदायिक सेवा केन्द्रमा काम गर्न थालिन् । बचत संकलन गर्ने काम थियो । उनी विहानभर घरको काम सकी छोराछोरीलाई स्कुल पठाएर घरघर रकम संकलन गर्दै कार्यालय पुग्थिन् । बेलुका फर्केर फेरी घरका काम धान्थिन् ।

कार्यालयमा काम गर्ने क्रममा सबै पढेलेखेका थिए । कमलालाई शिक्षा नभएका कारण कत्ति पनि आत्मबिश्वास आउँदैनथ्यो । ‘पढाई नहुँदा काम गर्ने जोश जाँगर हुँदाहुँदै पनि खुम्चिनुपथ्र्यो । नपढेको मान्छे अपूर्ण भए जस्तो लाग्यो,’ उनले भनिन्, ‘बचत उठाउन जाँदा पनि नपढेको मान्छे हिसाव बिगार्छेकी जस्तो गर्थे । मलाई पढेर पूर्ण मान्छे बन्न मन लाग्यो ।’

उनले पढ्ने उपाय खोजिरहेकी थिइन् तर यो उमेरमा बिद्यालय जान सम्भव थिएन । कसरी पढ्ने भन्ने सोचिरहेको बेला घोराहीमा चेतना महिला बिद्यालय खुल्यो । जसमा उनीजस्तै पढाई छुटेर ठूलो उमेरमा पढ्न चाहनेहरु पढ्थे । यो कुरा थाहा पाएपछि उनी २०६८ मा विद्यालय भर्ना भइन् । साह्रै मेहनत गरेर उनी दुई बर्षमा आठ कक्षा पुगिन् । केही महिनाको अन्तरमा परीक्षा हुन्थ्यो र पढाइको स्तर हेरेर कक्षा बृद्धि गरिन्थ्यो । उनले २०७० मा आठ कक्षा पास गरिन् ।

उक्त बिद्यालयमा आठ कक्षाभन्दा माथि पढाइ थिएन । त्यसपछि उनी माइती गाउँबाट नजिक पर्ने तुलसीपुरको महेन्द्र माविमा ९ कक्षा भर्ना भइन् । उनले २०७२ मा एसएलसी उत्तीर्ण गरिन् । ‘मैले अघिल्लो बर्ष र छोरीले पछिल्लो बर्ष एसएलसी दिएका थियौं । घरमा छोरीले पढ्न सिकाउँथी,’ उनले भनिन्, ‘छोराले पनि सिकाउँथ्यो । छोराछोरीबाट अंग्रेजी सिक्थें, मैले उनीहरुलाई नेपाली सिकाउँथें ।’

घरमा विहान र साँझको खाना पकाउँदै गर्दा उनी पढिरहेकी हुन्थिन् । प्रायःजसो राती अवेर र विहान सबेरै उठेर पढ्थिन् । अन्य समय कामले भ्याइदैनथ्यो । ‘कहिलेकाहीं पढ्दापढ्दै कोही मान्छे आइपुग्थे । त्यसपछि झट्टपट्ट कापीकिताव लुकाएर कामतिर लाग्थें,’ उनले भनिन्, ‘बाल्यकालको पढाई भए बाध्यताको हुन्थ्यो, पढ्नैपर्ने हुन्थ्यो, कसैले केही भन्दैनथे । अहिले मेरो पढाइ रहरको थियो, देखे भने के भन्लान् भन्ने चिन्ता भैरहन्थ्यो ।’

उनले महेन्द्र माविमै शिक्षा संकाय अन्तर्गत ११ र १२ कक्षा पढिन् । सातामा एक दिन माइती घर पुगेर कक्षामा सहभागी हुन्थिन् । त्यसपछि फेरी कार्यालयको काम गर्न घोराही फर्कन्थिन् । घरमै पढीपढी उनले १२ कक्षा पनि उत्तीर्ण गरिन् । ‘परीक्षा दिन जाँदा छोराछोरी जस्ता साथीहरु वरीपरी हुन्थे । अण्टी भनेर बोलाउँथे,’ उनले भनिन्, ‘रमाइलो नै लाग्यो । पढ्न रहर भएकाले लाज पचाएर भए पनि पढियो ।’

उनका दुई दाजु, एक भाइ र एक बहिनी सबैले पढेका थिए । उनी मात्रै पढाई नसकेर विवाह गर्नेमा परेकी थिइन् । यसले आमाबुवालाई पनि पिरोलिरहेको थियो । ‘मैले पढ्न पाइन भन्ने बुवा आमालाई पनि लागेको थियो,’ उनले भनिन्, ‘अहिले पढेको देखेर उहाँहरुले पनि सन्तोष मान्नुभएको छ ।’