November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

हात्ती आक्रमणमा आफन्त गुमाए पनि परिवारै संरक्षणमा

बर्दिया– घर वरीपरि बाँझै छ । अन्नबाली छैन । रुख बिरुवा हुर्केका छन् । बीचमा काठको घर छ । भित्ता छैनन् । घर भित्रबाट दक्षिण–पश्चिमतर्फ खौराहा नदी र निकुञ्ज जंगल प्रष्ट देखिन्छ । आसपास रोपाइँ भइसकेको छ । ‘हात्ती दुश्मन जस्तो लाग्दैन,’ ठाकुरबाबा–९, हात्तीसारकी ५८ वर्षीया अमृता जैसीले भनिन्, ‘हात्तीसित रिसइबी पनि छैन ।’ यति भनेपछि उनी भक्कानिइन् । ‘त्यो दुर्घटना थियो,’ उनले भनिन्, ‘भवितब्य थियो ।’

Advertisement

उनका पति तत्कालीन मध्यवर्ती क्षेत्र परिषद अध्यक्ष ओमप्रकाश जैसीको ०६६ असोज २६ गते हात्ती आक्रमणबाट मृत्यु भएको थियो । ‘रातीको दुई बजेको थियो,’ उनले घटना सम्झिइन्, ‘गाउँमा हात्ती पस्यो, हाम्रो पनि खेत थियो ।’ हल्ला भएपछि ओमप्रकाश जुरुक्क उठेर हात्ती धपाउन खेतमा गएको उनले बताइन् । ‘म बाहिर सुतिराखे,’ उनले भनिन्, ‘बत्ती बालेर कान्छा बुवा (छिमेकी) हात्तीले मार्ला भन्दै जानुभयो, आफनो भन्दा कान्छा बुवाको पिरमा हुनुहुन्थ्यो ।’

Advertisement

त्यसको केही बेरमा हात्तीले ‘च्वाँ’ आवाज निकाल्यो । ‘गोठको खर तानेर राँको बनायौं,’ उनले भनिन्, ‘खेतमा जाँदा त मारिसकेको रहेछ ।’ पतिको अवस्था देख्ने वित्तिकै बेहोस भएको उनले सुनाइन् । ‘टाउकोमा ढुंगामुढाले हिर्काए,’ उनले भनिन्, ‘दुबै छोरा काठमाडौंमा पढ्थे, कोही थिएन ।’ छोराहरु फर्केपछि दोस्रो दिन दाहासंस्कार गरेको उनले बताइन् । ओमप्रकाश संरक्षणसँगै राजनीतिमा अग्रसर थिए । कांग्रेसका वडा सभापति थिए ।

‘उहाँको मृत्युपछि आर्थिक अभाव भयो,’ उनले भनिन्, ‘जेनतेन छोरा पढाएँ, आफूले जंगल छेउ एक्लै दुख काटें ।’ गुजारा समस्या भएपछि जेठा छोरा इन्द्र बैदेशिक रोजगारीका लागि दुबई गएका थिए । उनले १० वर्ष त्यहाँ बिताए । फर्किएर इन्द्रले पशल सञ्चालन गरेका छन् । इन्द्रले १० वर्ष दुबईमा बिताए । अध्ययन छाडेर फर्किएका कान्छा छोरा हेमन्त गाउँमै संरक्षणमा सक्रिय छन् । ‘बुवाको साथीहरुको सल्लाहमा चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानमा आवद्ध भए, ‘हेमन्तले भने, ‘दुइवर्ष सदस्य भएर चोरी शिकार बिरुद्ध सक्रिय भए ।’

२०६८ सालमा चोरी शिकार नियन्त्रण युवा परिचालन उपसमिति ठाकुरद्वाराको अध्यक्ष भएको हेमन्तले बताए । उपसमिति मार्फत चोरी शिकार नियन्त्रण, संरक्षण चेतना, समुदायमा मानव–वन्यजन्तु सह अस्तित्व कायम गर्न लागिपरेको उनले बताए । २०७२ सालमा चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान सञ्जाल जिल्ला अध्यक्ष चुनिए । यसैक्रममा २०७४ को स्थानीय तह चुनावमा वडा नम्बर ९ सदस्य निर्वाचित भए ।

अहिले हेमन्त मध्यवर्ती अन्तर्गत ठाकुरबाबा उपभोक्ता समितिका अध्यक्ष छन् । ‘युवा परिचालनले १० वर्षदेखि चोरी शिकार शून्य छ,’ उनले भने, ‘ अभियान मार्फत प्रकृति पथ प्रदर्शक, सवारी चालक, विद्युतीय मर्मत, पशुपालन र आय आर्जनका तालिम भइरहेका छन् ।’ युवालाई पर्यटनमा आकर्षित गर्न आठ वर्षदेखि टाइगर ट्रयाक होटल सञ्चालन गरिहेको उनले बताए । हेमन्तकी आमा अमृता १० वर्षदेखि वन्यजन्तु पीडित एकल महिला सञ्जालकी अध्यक्ष छन् । सञ्जाल गठन भएपछि एकआपसमा पीडा साट्न र समस्या समाधानका लागि दबाब दिन सजिलो भएको उनले बताइन् ।

अमृताका अनुसार पीडित एकजुट भए पनि वन्यजन्तुको डर हटेको छैन । अहिले साँझ पर्यो की डर लाग्ने उनले बताइन् । ‘अहिले त जनावरको काखमा मान्छेको बस्ती बस्दै गयो,’ उनले भनिन्, ‘हात्तीले मेरा श्रीमान मार्यो भन्दैमा दुश्मन ठानेकी छैन, त्यो त दुर्घटना थियो ।’ वन्यजन्तुबाट जोखिम भएकाले अरुलाई सजग हुन र निकुञ्ज प्रवेश नगर्न सम्झाउने गरेको उनले बताइन् ।