वन्यजन्तु पीडित निर्मलाः एउटा किड्नी, त्यसमै पत्थरी



बर्दिया– बर्दिया निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रमा वन्यजन्तु पीडितको संख्या बृद्धि भइरहेको छ । प्रत्येक वर्ष निकुञ्जसित जोडिएका बस्तीमा यस्ता पीडितको संख्या बढिरहेको छ । एकातिर वन्यजन्तुको आक्रमणबाट आफन्त गुमाइरहेका छन् । अर्कोेतर्फ उनीहरुलाई दैनिक जीवन गुजार्न सकस भइरहेको छ । पीडित परिवारमा अनेक समस्या छन् । साँझ–बिहान छाक जोहोदेखि बालबालिकाको पठनपाठन धौं भइरहेको छ ।
यस्तै पीडित मध्ये कि जिल्लाको बारबर्दिया नगरपालिका–९, ढकेला कि ३५ वर्षीया निर्मला खड्काका दुःखको बयान गरि साध्य छैन । उनका पति दलबहादुरलाई गुमाएको ११ वर्ष भइसक्यो । ०६८ असोज १७ गते हात्तीको आक्रमणबाट उनका पतिको मृत्यु भएको थियो । ‘हाम्रो खेत घरबाट टाढै छ,’ उनले भनिन्, ‘गाउँमा हात्ती पसेपछि धपाउन जाँदा राती १० बजे आक्रमण गर्यो ।’
त्यसबेला दुई जनामाथि आक्रमण गरेको थियो । त्यसबेला हात्ती धपाउने दैनिकी थियो । ‘एक जना भागेर जोगिए,’ उनले भनिन्, ‘मेरो श्रीमान भाग्न सक्नु भएन, त्यही मार्यो ।’ त्यसबेला जेठा छोरा आठ र कान्छा तीन वर्षका थिए । ‘उहाँ भइदिए छोराछोरी पढाउनु हुन्थ्यो,’ उनले भनिन्, ‘घर बन्थ्यो ।’ अहिले काठको घर छ । वाछिटा हान्दा पानी भित्रै पस्छ । ‘प्लाष्टिक बेरेर बसिराछौं,’ उनले भनिन्, ‘त्यसमाथि बिरामी छु ।’ श्रीमान बितेको एक वर्षपछि बिरामी परेको बताइन् ।
‘बिरामी परेपछि नेपालगन्ज, लखनउ धाए,’ उनले भनिन्, ‘केही पत्ता नलागेपछि काठमाडौं गए, बीर अस्पतालमा जचाएपछि एउटा किड्नीले काम गरेको छैन भने ।’ काम नलाग्ने किड्नी फ्याँकेको उनले बताइन् । ‘अहिले एउटा मात्र किड्नी छ,’ उनले भनिन्, ‘त्यसमा पनि डाक्टरले आठ एमएमको पत्थरी छ भनेका छन् ।’ एक पटक अस्पताल आउजाउ गर्दा १० हजार रुपैयाँ खर्च भइरहेको उनले बताइन् । उनका जेठा छोरा १० कक्षामा अध्ययन गर्छन् । कान्छा ७ मा पुगेका छन् ।
‘जेठा छोराले आर्मीमा भर्ति हुन प्रयास गर्यो,’ उनले भनिन्, ‘सफल भएन ।’ दिदी–बहिनीसित मागेर उपचार खर्च जोहो गरिरहेको उनले बताइन् । ‘उहाँ बाँचेको भए इन्डिया जानुन्थ्यो, कमाउनु हुन्थ्यो,’ उनले भनिन्, ‘बुरा (बुढा) पनि हात्तीले मारेल्यो ।’ जहाँ दुखेसो पोखे पनि कसैले मर्म नबुझने उनले बताइन् । ‘कसैले मर्म बुझ्दैनन्,’ उनले भनिन्, ‘जसलाई पर्यो, उसैलाई टर्यो भन्छन् ।’
उनकाअनुसार किड्नी जचाउन ६–६ महिनामा नेपालगन्ज–काठमाडौंका अस्पताल जानुपर्छ । ‘कोखो, ढाड दुख्ने, पिसाव पोल्ने, खान नपच्ने समस्या छ,’ उनले भनिन्, ‘पच्दैन भनेर पेटभरि खाँदैन ।’ पीडा सुनाउन निकुञ्ज विभागसम्म पुगेको उनले बताइन् । ‘निकुञ्जको मुख्यालय धेरै धाएँ,’ उनले भनिन्, ‘महिनाको १ हजार ५ सय भत्ता मिल्छ, त्यही हो ।’ चारकट्ठा खेतको उब्जनीले खान पुग्दैन । ‘दाल, आलु, प्याज किनेर खानुपर्छ,’ उनले भनिन्, ‘एक कट्ठा चामल किनेको सकियो, पैसा छैन, अब कहिले किन्ने ठेगान छैन ।’








प्रतिकृया दिनुहोस्