March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

गणतन्त्र दिवसः अपेक्षा धेरै तर निरासा पनि बढ्दै

भैरहवा– मुलुक संघीय लोकतान्त्रि गणतन्त्रात्मक मुलुक भएको १६ वर्ष पूरा भएको छ । निरंकुश राजतन्त्रको अन्त्यसँगै मुलुकमा गणतन्त्र आएको थियो । यसैको सम्झनामा मुलुकभर विदा दिएर गणतन्त्र दिवस मनाइन्छ । आज मुलुकभर दिवस मनाइएको छ । तर, जनतामा जति अपेक्षा थियो, त्योअनुसारको विकास र समृद्धि मुलुकले हासिल गर्न नसक्दा यदाकदा नैराश्यता छाएको छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । मुलुकमा गणतन्त्र आएपछि जनतामा ब्यापक अपेक्षा थिए । ती अपेक्षा पूरा गर्न दल र तिनका नेता चुक्दै आएका छन् ।

Advertisement

एकथरिले राजतन्त्रको नारा लगाउन सुरु गरिसकेका छन् । यसको मूल जड दलहरु र तिनका नेता नै हुन् । विकास र समृद्धिका नारा तुहिए, बरु दल र तिनका नेताले अकुत सम्पत्ति कमाएको आरोप छ । पछिल्लो पटक राज्यकै उच्च तहमा पुगेकाहरु नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर रकम असुल गरेको आरोपमा धमाधम पक्राउपछि राज्यले नै विश्वमाझ लज्जाबोध गरेको छ । भ्रष्टाचार, कुशासन र नेताहरुको गैरक्रियाकलापले गर्दा जनतामा ब्यापक वितृष्ण पैदा भइरहेको छ । कलिलैमा कतै गणतन्त्रमाथि खतरा उत्पन्न हुने त होइन् भनेर आम चिन्ता छ । गणतन्त्रप्रति जनताका जति अपेक्षा छ, ठीक विपरीत क्रियाकलाप भइरहँदा जनआक्रोश बढेको हो ।

Advertisement

विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीबीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो । विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । अन्ततः तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गर्न बाध्य हुँदै बैठकसमेत आह्वान गरे ।

विसं २०६३ जेठ ४ गते बसेको पुनःस्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो । विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।

संविधान सभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गरेको थियो । विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एवं देशमा नयाँ संविधान जारी भएपछिको पहिलो राष्ट्राध्यक्ष बनिन् । हाल तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल छन् । त्यसभन्दा अगाडि देशमा राजतन्त्र थियो र राजा नै राष्ट्र प्रमुख हुन्थे । राजाको शासन कालमा जनता जति प्रताण्डित थिए, अहिले गणतन्त्रमा पनि उत्तिकै छन् । नेताकै कारण चरम असन्तुष्टि छ । हुनतः गणतन्त्र आएपछि विकासनिर्माणले गति नलिएको भने होइन्, तर सुस्त विकास भइरहेको छ । भएका विकासका काम पनि टिकाउ छैनन् । ठूला दलहरुप्रतिको वितृष्णाले पछिल्लो पटक मुलुकमा नयाँ शक्ति उदय भइरहेका छन् ।

गणतन्त्रप्रति जनताका औधी अपेक्षा छ, तर शासकले काम नगर्दा निरासा पनि उत्तिकै छ । अझ भन्ने हो भने जनतामा अपेक्षाभित्र निरासा पैदा भइरहेको छ । झट्टै जनताले वयवस्था परिवर्तन गर्न चाहेका छैनन् । तर, व्यवस्थाप्रति पूर्ण सन्तुष्टि पनि छैनन् । त्यसैले जनअपेक्षा अनुसार काम गर्न शासकहरुले ध्यान दिनुपर्छ । अहिलेकै जस्तै गणतन्त्रप्रति विस्तारै वितृष्ण बढ्दै जाने हो भने भोलिका दिनमा व्यवस्थाकै विरुद्ध कडा रुपमा जनता सडकमा नआउलान् भन्न सकिँदैन । त्यसैले भएको व्यवस्था जोगाउँदै जनअपेक्षाअनुसाकार काम गर्न राज्यका शासकले ध्यान दिनुपर्छ । जनतालाई एकरत्ति गणतन्त्रप्रति वितृष्ण आउने काम गर्नुहुँदैन । गणतन्त्र दिवसले नेताहरु र शासकमा यो सदुबुद्धि पलाओस् । गणतन्त्र दिवसको सबैमा शुभकामना ।