‘वैभव’को प्रतीक्षामा पाल्पा



पाल्पा– ‘केन्द्रको सन्देश बोकेर आउने नेता मात्रै भए,’ यहाँस्थित इतिहास अध्ययता निर्मल श्रेष्ठले भने, ‘नेतृत्वमा हस्तक्षेप गर्ने कोही भएन ।’ यहाँ आयोजना गरिने भेला र छलफलमा वीपी कोइराला र पुष्पलालसित भेटघाट गरेको र उनीहरुको सिद्धान्त पछ्याएको उल्लेख गरे पनि लामो समयदेखि जिल्लामा नयाँ बिचार बोकेका व्यक्ति नभएको उनले बताए । ‘इतिहासमा यहाँबाट कन्त्युरी, खस, सेन साम्राज्य सञ्चालन भएका थिए,’ उनले भने, ‘राणाकालमा कुल ३५ मध्ये ९ जिल्लाको शासन यहीबाट हुन्थ्यो ।’
उनका अनुसार पाल्पा गौंडाबाट पश्चिम डोटी र उत्तरमा मुस्ताङसम्म रेखदेख हुन्थ्यो । सदरमुकाम तानसेनसँगै जिल्लाभर इतिहास झल्काउने पुरातात्विक सम्पदा रहेका छन् । ‘हिमालपार व्यापार यहीँबाटो हुन्थ्यो,’ श्रेष्ठले भने, ‘अहिलेको कालीगण्डकी कोरीडोर त्यही नुन बाटो हो ।’ चीनको ल्हासाबाट सामानहरु पाल्पा–बुटवल हुँदै भारत पुग्थे । भारतबाट बुटवल–पाल्पा हुँदैं ल्हासा व्यापार हुने गरेको उनले बताए ।
‘बहुदलको सुरुवाती कालसम्मै पाल्पा शिक्षा, इतिहास, संस्कृतिको केन्द्र थियो,’ उनले भने, ‘पोखरा, भैरहवा र बुटवलबाट समेत विद्यालय र क्याम्पस पढ्न यहाँ आउँथे ।’ आसपासका गुल्मी, स्याङ्जा र बागलुङबाट पढ्न आउने विद्यार्थी धेरै हुन्थे । उनका अनुसार यहाँबाट भारतको बलरामपुर र वनारस पढ्न जाने गरेका थिए । ‘त्यसको कारण राणाको भारतीयसितको सम्बन्ध हो,’ उनले भने, ‘त्यही सम्बन्धका कारण भारत पढ्न जाने धेरै हुन्थे ।’
जिल्ला शैक्षिक केन्द्र बनेपछि सदरमुकामका टोलटोलमा पुस्तकालय रहेको उनले बताए । ‘यहाँ नेपाल–भारत सांस्कृतिक, रसियन र पिसकोरको पुस्ताकालय खुलेका थिए,’ उनले सुनाए, ‘हरेक टोलमा पुस्तकालय रहेकाले पढाईको केन्द्र थियो ।’ उनका अनुसार यहाँ सेन वंशले करिब ६ सय वर्ष राज्य चलाएका थिए । ‘पाल्पाली सभ्यता भनेकै सेन परम्परा हो,’ उनले भने, ‘त्यसबेला पाल्पाको बैभव विशाल थियो । दक्षिणमा गंगा तिर, पूर्वमा मकवानपुर, गोरखा, लमजुङ सेन राज्यकै मातहत थिए ।’
उनका अनुसार जिल्लामा २००७ सालपछि राष्ट्रिय स्तरका व्यक्तित्व रहेका थिए । ‘केशरजंग रायमाझी र कमलराज रेग्मी वामपन्थी पृष्ठभूमिका हुनुहुन्थ्यो,’ उनले भने, ‘टंकनाथ काफ्ले लगायत कांग्रेस हुनुहुन्थ्यो ।’ बहुदलपछि राष्ट्रिय स्तरको नेताको कमी खड्केको उनले बताए । २०५१ सालमा साविक पाल्पा क्षेत्र नम्बर ३ बाट चुनाव जितेका बिष्णु पौडेल एमालेको राजनीतिमा स्थापित छन् । त्यसबेला यहाँबाट चुनाव जितेर पौडेल युवा तथा खेलकुद मन्त्री भएका थिए । त्यसपछिका निर्वाचनमा पौडेल रुपन्देही झरे ।
एकिकृत समाजबादीका नेता सोमप्रसाद पाण्डे यहीबाट राजनीति गरिरहेका छन् । यसपाली पाण्डे छैठौं पटक चुनावी प्रतिष्पर्धामा पराजित भए । पाण्डे २०७२ सालमा उद्योगमन्त्री भएका थिए । जिल्लाबाट खिलराज रेग्मी प्रधानन्यायाधीश र मन्त्रिपरिषद अध्यक्ष बने । रामप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश बनेका थिए । पृथ्वीराज लिगल र मोहनमान सैंजु योजना आयोगका उपाध्यक्ष बनेको पाइन्छ । स्वर्गीय माधव घिमिरे मुख्य सचिव बनेका थिए । जिल्लाबाट प्रशासनिक नेतृत्वको उच्च तहमा पुग्नेको संख्या धेरै छ ।
यहाँस्थित त्रिभुवन बहुमुखी क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई बहुदलपछि ‘यही बस्छु, यही गर्छु’ भन्ने नेतृत्व पैदा नभएको बताउँछन् । उनका अनुसार यहाँ राजनीति गरेर स्थापित भएपछि जिल्ला छाडने परम्परा छ । जसले गर्दा लामो समय प्रशासनिक, शैक्षिक र व्यापारिक केन्द्र रहेको जिल्ला सुनसान जस्तै हुन्छ । ‘राजनीतिक परिवर्तनसँगै आशा, अपेक्षा धेरै थिए,’ उनले भने, ‘राजनीतिमा पुस्तान्तरण भएन । अहिले ठाकुर गैरेजीले जित्नु भएको । यसले थोरै पुस्तान्तरण भएको देखाए पनि सुरुदेखि अहिलेसम्म एउटै अनुहार छन् । यी नेताबाट के होला र भन्ने अवस्था आयो ।’
उनका अनुसार यहाँ २०११ सालमा क्याम्पस स्थापना भएको हो । ‘पहिले पाल्पा र आसपासबाट विद्यार्थी यही केन्द्रित हुन्थे,’ उनले भने, ‘अहिले घटेका छन् ।’ बसाइँ सर्नेक्रमले जन्मठाउँप्रति अविश्वास बढाएको उनले बताए । ‘यहाँ पैतृक सम्पति बेचेरपनि अपेक्षा पूरा हुँदैनन,’ उनले भने, ‘त्यसैले स्नाकोत्तर तहसम्म पढेका युवा पनि विदेश पलायन भइरहेका छन् ।’ जनशक्ति पलायन नरोकेसम्म राजनीतिमा पुस्तान्तरणको सम्भावना नरहेको उनले बताए । ‘युवा किन टिक्दैनन, कसैले खोज्दैन,’ उनले भने, ‘यस्तो अवस्थामा पटकपटक भएका चुनावले मात्र उपलब्धि हुँदैन । राजनीतिक शुद्धिकरण जरुरी छ ।’
त्रिभुवन बहुमुखी क्याम्पसका उप–प्रध्यापक सन्तोष खनाल ०४८ सालयता लामो समय निर्वाचनमा सहभागी भएर पनि उम्मेदवारका एजेण्डा कुलो, धारा र करेसाभन्दा माथि नउठेको सुनाउँछन् । ‘पाल्पाको वैभव धान्नकालागि आवश्यक योजना छैनन्,’ उनले भने, ‘जिल्लाको अवस्था परिवर्तन गर्ने ठूला विकास आयोजनाको कुरै हुँदैन ।’ घोषणापत्रमा कार्यक्रम समेटिएपनि कार्यान्वयन नहुने गरेको उनले बताए ।
‘सिद्धबाबा खण्डले जिल्लाको ‘लाइफ लाइन’ ठप्प छ,’ उनले भने, ‘पछिल्ला पाँचवटा बजेटमा सिद्धबाबामा सुरुङमार्ग निर्माण छुटेको छैन । सुरुका तीन वटामा प्राथमिता दिइएको थियो । पछिल्ला दुईवटामा निर्माणलाई प्राथमिकता दिइएको छ ।’ तर, सुरुङमार्ग पूरा हुन कम्तिमा १० वर्ष लाग्ने देखिएकाले वैकल्पिक मार्ग निर्माण गरिनु पर्नेमा उनले जोड दिए । तराईका जिल्लाबाट छोटो दूरीमा रहेको तानसेनलाई पर्यटकीय ‘हिल स्टेशन’का रुपमा बिकास गर्नेबारे बहस सुनिन्छ । ‘तर, सडकको अवस्थाले गर्दा हिलस्टेशनको योजना अधुरै छ,’ उनले भने, ‘सिद्धबाबाका कारण पर्यटन विकास ठप्प छ ।’








प्रतिकृया दिनुहोस्